PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

प्रदेशकै नमुना क्वारेन्टाइन खाली भएपछि १०० शय्याको आइसोलेसन बनाउन थालियो तयारी



सुमित मिश्र

प्रदेशकै नमुना क्वारेन्टाइन खाली भएपछि १०० शय्याको आइसोलेसन बनाउन थालियो तयारी

जनकपुरधाम : प्रदेश नम्बर २ कै नमुना क्वारेन्टाइनको रुपमा रहेको धनुषाको नगराईन नगरपालिका ५ स्थित गंगुली क्वारेन्टाइनलाई खाली भएपछि आइसोलेसन बनाउने तयारी थालिएको छ। प्रदेश २ सरकारले सञ्चालन गरेको क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गर्ने तयारी थालिएको हो।

क्वारेन्टाइन संयोजक सन्तोष कुमार ठाकुरका अनुसार उक्त क्वारेन्टाइनमा हालसम्म २२ जना महिला तथा १९९ जना पुरुष गरेर कुल २२१ जना मानिस भर्ना भएका थिए। जसमध्ये ३४ जना भारतीय नागरिक रहेकोमा ३० जना पुरुष र ४ जना महिला, १८७ जना नेपाली नागरिक रहेकोमा १६९ जना पुरुष तथा १८ जना महिला रहेका थिए।

क्वारेन्टाइनमा रहेका कुल २२१ जनामध्ये ९ जनामा कोरोना पोजेटिभ देखिएपछि प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालको आइसोलेसन कक्षमा भर्ना गराइएको थियो। नेगेटिभ रिपोर्ट आएका ११२ जनालाई डिस्चार्ज गरेर घर पठाइएको छ।

उक्त क्वारेन्टाइनमा सबैभन्दा पहिले वैशाख ३१ गते महोत्तरीको बलवा नगरपालिका वडा नम्बर १० धमौराका १ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि जेठ ४ गते नगराइन नगरपालिका वडा नम्बर ९ घोरघासका २ जनामा कोरोना संक्रमण पाइएको थियो।

जेठ ५ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ र २१ का २ जनामा पोजेटिभ देखिएको थिय। जेठ १२ गते क्वारेन्टाइनमा ड्युटी गर्ने इलाका प्रहरी कार्यालय फुलगामाका एक जना प्रहरी सहायक निरीक्षक र १ जना प्रहरी जवान तथा फूलगामाका एक युवकमा समेत कोरोना संक्रमण पाइएको थियो।

जेठ ५ गतेसम्ममा कुल ८ जनामा संक्रमण देखिएपछि क्वारेन्टाइनलाई सिल गरिएको थियो। १२० शय्याको क्वारेन्टाइन रहेको भएपनि सिल हुँदा ८६ जना मानिस क्वारेन्टाइनमा थिए।

‘सिल गरेपछि नयाँ कुनै पनि मानिसलाई भर्ना गरेनौं, न कसैलाई भित्र आउन दियौं, न त कसैलाई बाहिर जान दियौं’, क्वारेन्टाइन संयोजक ठाकुरले भने, ‘संक्रमितहरू बसेको कोठालाई स्यानिटाइज गर्नुका साथै कन्ट्याक्ट ट्रेसिङका आधारमा क्वारेन्टाइनभित्रका मानिसहरूको थप एकपटक स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठायौं।’

त्यसपछि फेरि जेठ १७ गते नगराइन नगरपालिका वडा नम्बर १ खड्काटोलका एक युवामा कोरोना पोजेटिभ पाइयो। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइयो। यता, नेगेटिभ रिपोर्ट आएका मानिसहरूलाई क्वारेन्टाइन आएको १४ दिनपछि मात्र डिस्चार्ज गरियो।

सोहीअनुसार जेठ १७ गते ४९ जनालाई, जेठ १८ गते ११ जनालाई र जेठ १९ गते २० जनालाई डिस्चार्ज गरिएको ठाकुरले बताए। मंगलवारदेखि क्वारेन्टाइन पूर्ण रूपमा खाली भएको छ।

‘अब क्वारेन्टाइनलाई स्यानिटाइज गरेर १०० शय्याको आइसोलेसन निर्माण गर्नका लागि पूर्वाधार बनाउने काममा लागेका छौं,’ ठाकुरले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell