PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

प्रदेश २ को चौँथो अधिवेशन शुरु, प्रदेश सरकार ‘भिजनलेस’ रहेको प्रतिपक्षी दलका नेताहरुको आरोप



सुमित मिश्र

प्रदेश २ को चौँथो अधिवेशन शुरु, प्रदेश सरकार ‘भिजनलेस’ रहेको प्रतिपक्षी दलका नेताहरुको आरोप

जनकपुरधाम : बजेट ल्याउनुपर्ने चटारोका कारण प्रदेश नम्बर २ को चौँथो अधिवेशन शुरु भएको छ। बुधवारको पहिलो बैठकको शुरुमा सभामुख सरोज कुमार यादवले प्रदेश प्रमुखबाट चौँथो अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएका थिए। त्यसपछि सभामुखले ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गर्न सभालाई निर्देशन दिएका थिए।

चौँथो अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामा प्रतिनिधत्व गर्ने प्रतिपक्षी दलहरुले प्रदेश सरकार भिजनलेस रहेको आरोप लगाएका छन्। प्रदेश सरकारले कुनै पनि उदाहरणीय काम गर्न नसकेको आरोप लगाउँदैै प्रतिपक्षी दलका नेताहरुले प्रदेश सरकार जनहितका लागि काम गर्न असफल सावित भइसकेको दावी गरे।

अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रतिपक्षी दलका नेताहरुले कोरोनाविरुद्धको लडाइँभन्दा सरकार भाषणमा मात्र केन्द्रित रहेको आरोप लगाए। बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपाका नेता सत्यनारायण मण्डलले कोरोनाविरुद्धको लडाइँमा प्रदेश सरकार एक्लै सवै निर्णय गरेर अघि बढिरहेकोमा खेद प्रकट गरे।

उनले भने, ‘सरकारले समय अनुकूल नीति अवलम्बन गर्न नसक्दा प्रदेशका जनता कोरोनाभन्दा पनि भोकमरीको जोखिममा पर्ने सम्भावना बढिरहेको छ। कोरोनाविरुद्धको लडाइँमा एकताबद्ध भएरमात्र विजय प्राप्त गर्न सकिन्छ। पक्ष प्रतिपक्षको कुनै अर्थ छैन। तर, सरकारले कहिल्यै प्रतिपक्षसँग सल्लाह लिनु आवश्यक ठानेको छैन।’

प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकारलाई काम न काजको संज्ञा दिए।

उनले भने, ‘प्रदेश सरकारले अरुलाई आरोप लगाएर आफू चोखिन खोजेको छ।’

प्रदेशमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढिरहँदा पनि प्रदेश सरकारले ठोस योजना बनाउन नसक्दा क्वारेन्टाइन र आइसोलेसनको कहालीलाग्दो अवस्था रहेको नेता यादवले आरोप लगाए।

उनले भने, ‘कोरोना परीक्षण गर्न विश्वमै किटको अभाव छ, यहाँ पनि समस्या हुनु स्वभाविक मान्न सकिन्छ। यद्यपि, क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापन गर्न प्रदेश सरकारलाई कसले रोकेको छ? प्रदेश सरकारको लापारबाहीका कारण क्वारेन्टाइनबाटै संक्रमण बढिरहेको हामीले महसुस गरेका छौं।’

‘७० जनाभन्दा बढी मानिस रहेको क्वारेन्टाइनमा एउटा शौचालय र एउटा धाराले धान्नुपर्ने अवस्था छ। संक्रमण बढ्दै जाँदा आइसोलेसनको अभाव देखिएको छ, क्वारेन्टाइनहरुमा शौचालय र धारा लगाउन सरकारलाई कसले रोकेका छ?’ यादवले प्रश्न गरे।

बेरोजगार नागरिकको व्यवस्थापन गर्न प्रदेश सरकारसँग कुनै योजना नदेखिएको उनले आरोप लगाए।

‘भारतका साथै रोजगारीका लागि विदेशमा रहेका प्रदेशका नागरिकहरु फर्किइरहेका छन्। कोरोना महामारीका कारण यहाँ रहेका कतिपय बेरोजगार भइसकेका छन’, नेता यादवले भने, ‘बेरोजगार भएका प्रदेशका नागरिकलाई व्यवस्थापन गर्न सरकारसँग कुनै योजना देखिएको छैन।’

बैठकमा सभामुख यादवले आगामी बजेटको उद्देश्य, सिद्धान्त र कारण सम्बन्धमा बनेको प्रस्ताव पेश गर्न अनुमति दिएसँगै आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले प्रस्ताव पेश गरे। मन्त्री यादवले बजेट नतिजामुखी बनाइने बताए। उनले कोरोना महामारी नियन्त्रण, स्वास्थ्य क्षेत्रको सुधार र स्वास्थ्य सम्बन्धी मौलिक हकको परिपूर्ति सहित बजेटको मुख्य अंश रहने समेत बताए।

जनकपुरधाम प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पनि बजेट केन्द्रित हुने उनको प्रस्तावमा समावेश थियो। मन्त्री यादवले राष्ट्रिय प्राकृतिक स्रोत तथा वीत्त आयोगको प्रथम प्रतिवेदन २०७६ समेत पेश गरे। प्रदेश सभाको अर्को बैठक जेठ २२ गते बिहीवार दिउँसो ३ बजे पुनः बस्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell