PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

नाकामा मृत्यु भएका वीरेन्द्रकी श्रीमतीलाई रोजगार, बालबच्चालाई नगरपालिकाले निःशुल्क पढाउने



सुमित मिश्र

नाकामा मृत्यु भएका वीरेन्द्रकी श्रीमतीलाई रोजगार, बालबच्चालाई नगरपालिकाले निःशुल्क पढाउने

जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकाले भारतबाट फर्किदै गर्दा नेपाल भारत सीमा जटही नाकामा मृत्यु भएका धनुषाका वीरेन्द्र गुरमैताकी श्रीमतीलाई जागिर दिइएको छ।

शहीदनगर नगरपालिका वडा नम्बर ९ बस्ने गुरमैताको जटही नाकामै मृत्यु भएपछि राहत स्वरुप उनकी श्रीमतीलाई नगरपालिकामै जागिर दिने घोषणा गरिएको हो। नगर प्रमुख उदय कुमार बरबरिया (यादव)ले मृतक गुरमैताका परिवारलाई राहत स्वरुप १ लाख रुपैयाँ घोषणा गरे बमोजिम बिहीवार चेक हस्तान्तरण गरेका छन्।

नगरपालिकाको तर्फबाट मेयर बरबरिया र निवर्तमान प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र लाल कर्णले संयुक्त रुपमा मृतकका परिवारलाई सो चेक हस्तान्तरण गरेका हुन्। नगरपालिकाकै तर्फबाट मृतक गुरमैताको बालबच्चाहरुलाई उच्च शिक्षासम्म निःशूल्क शिक्षासहित उनकी श्रीमतीलाई जागिरको निर्णय गरिएको बताइएको छ।

‘स्वर्गीय गुरमैताले आफ्नो परिवारको लागि ज्यान दिए। हामीले उनको परिवारलाई क्षतिपूर्ति कहिले पनि दिन सक्दैनौं, अपूर्णीय क्षति भएको छ। तर, राहत स्वरुप १ लाख रुपैयाँ र उनको बालबच्चालाई यदुकूहाकै गुरुकुल शिक्षा निकेतन आवासीय विद्यालयमा कक्षा १२ सम्म पूर्ण निःशूल्क पढाउनुको साथै उनकी श्रीमतिलाई आर्थिक कमजोरीका कारण हातमुख जोड्न गाह्रो नहोस् भनी जागिरको व्यवस्था गरिदिएको छु,’ मेयर बरबरियाले भने।

गत जेठ १४ गते बिहान लकडाउनका कारण भारतमा फसेका नेपालीहरुलाई धनुषा प्रशासनले आफ्नो गृह जिल्ला ल्याउने निर्णय गरेको थियो। सोही क्रममा गुरमैताको सीमामा मृत्यू भएको थियो।

उनको दुई छोराछोरी छन्। उनीहरुको लत्ताकपडा, शिक्षा सबै निःशूल्कसहित उनकी श्रीमतीलाई जागिर दिने निर्णय गरिएको हो। मेयर बरबरियाका अनुसार शुक्रवार बस्ने कार्यपालिकाको बैठकबाट उनलाई नियुक्तिको लागि सिफारिस सहित पत्र पठाइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell