PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

मध्यान्ह १२ बजेसम्म जनकपुरका बजार खोल्ने सहमति



सुमित मिश्र

मध्यान्ह १२ बजेसम्म जनकपुरका बजार खोल्ने सहमति

जनकपुरधाम : लकडाउनका कारण दुई महिनादेखि बन्द रहेको जनकपुर बजार मध्यान्ह १२ बजेसम्म खुल्ने भएको छ। शुक्रवार बिहान जिल्ला प्रशासन कार्यालय र व्यवसायीबीच भएको छलफलमा निश्चित मापदण्ड निर्धारण गरेर बजार खोल्ने सहमति भएको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जनकपुर उद्योग वाणिज्य संघ र जनकपुर चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग भएको छलफलमा सामाजिक दुरी कायम गरेर मध्यान्ह १२ बजेसम्म सबै पसलहरु सञ्चालन गर्ने सहमति भएको बताए।

मध्यान्ह १२ बजेपछि औषधि पसलबाहेक अन्य सम्पूर्ण पसलहरु बन्द गरी लकडाउन पूर्णरुपले पालना गर्ने सहमति भएको निरौलाले जानकारी दिएका छन्। लकडाउनकै अवधिमा अन्य स्थानहरुमा व्यापार व्यवसाय सञ्चालन भइरहेकाले जनकपुरमा पनि बजार खोल्न दबाब बढेपछि यस्तो सहमति गरिएको उनले बताए।

जिल्ला सुरक्षा समिति र जिल्ला समन्वय समितिसँग भएको बैठकमा औषधि पसलबाहेक अन्य सबै पसलहरु दिनको १२ बजेसम्म खोल्ने निर्णय भएको चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोजकुमार मिश्रले जानकारी दिए। १२ बजेसम्म पसल सञ्चालन गरेर सम्पूर्ण व्यवसायीहरु १ बजेसम्म आ–आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने मिश्रको भनाइ छ। पसल सञ्चालन गर्न सबै व्यवसायीहरुले आफ्नो प्रतिष्ठानमा अनिवार्य रुपमा सेनिटाइजर, साबुन - पानी राख्नुका साथै मास्क र पञ्जा अनिवार्य रुपले प्रयोग गर्नुपर्ने उनको भनाइ छ। दैनिक उपभोग्य, खाद्यान्नलगायत अन्य व्यवसायहरु सञ्चालन भए पनि सैलुन, ब्युटी पार्लर, सिनेमा हल, होटल, रेस्टुरेन्टको हकमा भने कुनै निर्णय नभएको मिश्रले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell