PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

लकडाउनले छेकेन क्रसर डनलाई : दुई महिनाको अवधिमा मालटोलको ऐलानी जग्गामा देखिए दर्जन खाल्डो



सुमित मिश्र

लकडाउनले छेकेन क्रसर डनलाई : दुई महिनाको अवधिमा मालटोलको ऐलानी जग्गामा देखिए दर्जन खाल्डो

जनकपुरधाम : लकडाउनका कारण देश ठप्प छ। तर, क्रसर डनहरुको अवैध उत्खननको कार्य भने चालु नै।

लकडाउन अवधिमा क्रसर डनहरुको चकचकीले दुई महिनाभित्र ऐलानी पर्ती जग्गामा ठूल्ठूला खाडलहरु देखा परेका छन्।

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–६ मालटोलको। मालटोलको वनमा जगधर खोला नजिकै रहेको ऐलानी पर्ती जग्गामा क्रसर डनहरुले अवैध रुपमा ग्रेभल उत्खनन गरेका कारण ४०/४५ फिट गहिरोसम्मका दर्जन खाल्डोहरु देखिएका छन्।

अवैध उत्खननविरुद्ध रोक्न मालटोलका स्थानीयवासी कयौंपटक आवाज पनि उठाउँदै आईरहेका छन्। तर पटकपटक क्रसर डनहरुले उनीहरुको आवाजलाई दबाएको स्थानीयको गुनासो छ।

स्थानीयहरुले चर्को आवाज उठाउन थालेपछि केही दिन अगाडि प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रदेश २ का प्रदेशसभा सदस्य रामचन्द्र मण्डललगायतका पदाधिकारीहरु पुगेर उत्खनन् बन्द गराए। यद्यपि अनुगमन गरेर फर्केको करिव आधा घण्टभित्रै फेरि उत्खनन शुरु भएको स्थानीय सुरेश दासले बताए।

उनले भने, ‘विरोध गर्न हामी जाँदा हामीलाई उल्टै लखेटे।’

यता बिहीवार पूर्व उद्योग वाणिज्य तथा आपूर्त मन्त्री मातृका यादवलेसमेत उत्खनन भएको स्थलको अनुगमन गरेका छन्। यावदले स्थानीय प्रशासन तथा जनप्रतिनिधि लगायतकै सेटिङमा अवैध उत्खनन भइरहेको बताए।

स्थानीय प्रशासन तथा जनप्रतिनिधिको संलग्नता बिना यो सम्भव नरहेको उनले बताए। उनले यस विषयमा हाम्रो चासो जान नसक्नु दुःखद रहेको उल्लेख गर्दै भने, ‘यी अवैध कार्य नरोकिए जनताको पक्षमा उभिने छु। त्यसपछिको परिणामको जिम्मा सम्बन्धित पक्षले लिनुपर्ने छ।’

धनुषाको उत्तरीक्षेत्र पुष्वलपुर, गोदार, पोर्ताहा, बेंगाडाबर नक्टाझिझ, विरेन्द्रबजार, लालगढ, तुल्सी राष्ट्रपति चुरे संरक्षण क्षेत्र अन्तर्गत पर्दछ। यी क्षेत्रमा ढुंगै ढुंगा भएको जग्गाबाट ग्राभेल बेचेर मालामाल बन्ने गिरोह यतिबेला सक्रिय छ। चुरे तस्करी रोक्नका लागि केन्द्र र प्रदेश सरकारले  विभिन्न अनुगमन समिति गठन गरे पनि क्रसर माफियाहरुकोसामु कुनै पनि अनुगमनले प्रभाव नपारेको देखिन्छ।

स्थानीयको ज्यान जोखिममा   

केही महिना अगाडी धनुषामै अवैध उत्खननविरुद्ध आवाज उठाउँदै आएका युवा दिलीप महतोको हत्या भएको थियो। उनको हत्यामा संलग्नहरु प्रहरीको फन्दामा परिसकेका छन्। यता धनुषाधाम नगरपालिका वडा नम्बर–६ मालटोलको स्थिति पनि यस्तै भयावह रहेको छ। त्यहाँ पनि अवैध उत्खनन बिरुद्ध आवाज उठाउने स्थानीयहरु भयभीत छन्।

'हामीले शुरुमै यहाँ उत्खनन् गर्न दिनु हुँदैन भनेका थियौँ तर हाम्रो कुरो कसैले सुनेनन्,' स्थानीय राधा लामाले बताइन्। उनले शुरुमा कसैले नबोलेकै कारण क्रसर डनहरुको मनोबल बढेको बताइन्। 'हामीहरुको ज्यान जोखिममा छ, जतिबेला पनि उनीहरु हामीमाथी जाईलाग्न सक्छन्,' उनले भनिन्,‘अवैध उत्खनन् बिरुद्ध आवाज उठाउँदा ठेकेदार आनन्द किशोर साहका लठैतहरु घर घेराउ गर्न पुगी हाल्छन्।’

यता स्थानीय सुरेश दासले आफूहरुको जीउ ज्यानको रक्षा तथा शान्ति सुरक्षाका लागि ढल्केवर ईलाका प्रहरी कार्यालयमा जाहेरी दिँदासमेत लिन नमानेको गुनासो गरे। भने,‘हामी प्रहरीसमक्ष पनि पुग्यौँ, तर माथिदेखि तलसम्म सबै मिलेका छन्।’

स्थानीय मीना मोक्तानले वडाध्यक्षविरुद्ध आक्रोश पोख्दै यदि यो अवैध कार्य हो भने उनले उत्खननका लागि किन सिफारिश गरेको भन्दै प्रश्न गरिन्।

यता वडाध्यक्ष बन्दे मोक्तानले आफू उत्खननका लागि स्वीकृति नदिएपछि नगर प्रमुख बालेश्वर मण्डलको दबावमा सिफारिश गरेको स्वीकार गरे। उनले भने, ‘मेयर साबले पोखरी खन्नमात्रै उत्खनन गर्ने भनेपछि मात्रै सिफारिश गरें।’ 

यता अवैध उत्खननबारे आफूहरुलाई जानकारी रहेको स्वीकार गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले स्थानीयको जीउ ज्यानमा क्षति पुग्न नदिने दाबी गरे। उनले भने,‘सम्पूर्ण जिल्लाको शान्ति सुरक्षाको जिम्मा हाम्रो नै हो, हामी शान्ति सुरक्षा दिन सदैव तत्पर छौँ।’

स्थानीय सरकार बेपरवाह

धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोलमा पोखरी उत्खनन्का लागि दुई वर्ष अगाडि २०७५ साल पुस ८ गते अनुमति दिएको पाइएको छ। सो पत्रमा जीवनराज श्रेष्ठको नाउँमा कित्ता नम्बर ३७ मा रहेको निजी जग्गामा उत्खननका लागि अनुमति दिइएको पाइएको छ। नगरपालिकाबाटै २०७६ फागुन ५ गते नियमभित्र रही सार्वजनिक जग्गामा क्षति नपुग्ने गरी पोखरी खन्न सिफारिश गरिएको पाइएको छ। नगरपालिकाको पत्र अनुसार सो ठेक्का धनुषा बाबा कन्सट्रक्सनलाई दिइएको छ। पोखरी खन्न २०७७ असार मसान्तसम्मको समय दिइएको छ।

निजी जग्गामा पोखरी खन्न सिफारिश गरिएको भएपनि ठेकेदारहरुले जगधर खोलाको नजिकै रहेको ऐलानी जग्गाको १५ बिघाभन्दा बढी जग्गामा अवैध रुपमा उत्खनन गरेका छन्। स्थानीय तहको लापरवाहीकै कारण ठेकेदारहरु सो जग्गामा अवैध उत्खनन् गर्न पछाडि नपरेको स्थानीयहरुको आरोप रहेको छ।

स्थानीयहरुकै दबावका कारण नगरपालिकाले २०७७ जेठ १३ गते तोकिएको जग्गामा उत्खनन नगरिएको तथा मापदण्डभित्र नरही उत्खनन गरिएकोले सो जग्गालाई अबिलम्ब पुर्न पत्रसमेत जारी गरेको थियो। यद्यपि अहिलेसम्म अवैध उत्खनन कार्य भने रोकिएको छैन।

यस विषयमा अनभिज्ञता प्रकट गर्दै धनुषाधाम नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले अवैध काम गरे आफूहरुले कारबाही गर्ने बताए। 

जिल्ला समन्वय समिति धनुषाका उपसभापति दीपक झाले स्थानीय तहका प्रतिनिधिहरु जिम्मेबार हुन नसकेका कारण अवैध उत्खनन् रोक्न कठिनाई भईरहेको बताए। उनले जिससले नगरपालिकाको.प्रतिनिधि मात्रै राखेर उत्खनन् गर्न पत्र काटे पनि सो अनुरुप स्थानीय तहले कार्य गराउन नसकेकाले यस्तो स्थितिको श्रृजना भएको बताए।

मापदण्ड विपरित दर्जनौं क्रसर संचालन

प्रदेश २ को प्रवेशद्वारमा नै रहेको जनकपुरधाम उप–महानगरपालिका स्थित बेङ्गाशिवपुरमा विनोद साहले सञ्चालन गरेको सुभास क्रसर उद्योग वर्षौदेखि नवीकरण बिना नै सञ्चालनमा रहेको छ।

धनुषा जिल्लाको पूर्वी क्षेत्र चुरेको फेदमा रहेको गणेशमान चारनाथ नगरपालिकाको तल्लो गोदारमा सञ्चालित कमला स्टोन क्रसर उद्योग समेत मापदण्ड विपरीत बिना नवीकरण दुई वर्ष भन्दा बढीदेखि सञ्चालनमा रहेको छ। कमला स्टोन क्रसर उद्योगका सञ्चालक महादेव महतो सुडीले सञ्चालन गरेको उद्योगले वन निकुन्ज, खोला, बस्तीबाट हुनुपर्ने दुरीको मापदण्ड पूरा गरेको छैनन्। २०७३ असार मसान्त सम्ममात्र उद्योगको नवीकरण भएको छ। तर पनि हाल सम्म सञ्चालनमा रहेको पाइएको छ।

यस्तै धनुषाकै दक्षिणी सिमावर्ती क्षेत्रसँग जोडिएको नगराईन नगरपालिका वडा नं. ४ मा सञ्चालित कुमारी माँ गिट्टी उद्योग पनि मापदण्ड विपरीत नै सञ्चालनमा रहेको पाइएको छ। जोगमाया देवी झाले सञ्चालन गरेको क्रसर उद्योग नदी भन्दा ५ सय मिटर दूरीमा हुनुपर्ने मापदण्ड उद्योगले पालना गरेको छैन भने २०६९ भदौ ११ गते सम्म मात्र उद्योगको नवीकरण भएको छ। सोही नपाको घोडघासमा अरुणकुमार साहले सञ्चालन गरेको जय माता दी स्टोन क्रसर उद्योग पनि मापदण्ड विपरीत छ भने, २०७३ मंसिर ११ गतेसम्म मात्र उद्योगको नवीकरण भएको पाईएको छ।

यस्तै धनुषाको लबटोलीमा सञ्जय शर्माले सञ्चालन गरेको कमला माई क्रसर उद्योग पनि मापदण्ड विपरीत सञ्चालित छ। २०७३ पुस २८ गते सम्म मात्र उद्योग नवीकरण भएको भएपनि हाल सम्म निर्वाध रुपमा सञ्चालनमा रहेको पाईएको छ।

धनुषाकै मिथिला नगरपालिका अन्तर्गत चूरेको फेदमा रहेको तुलसीमा ज्ञानकुमारी देवीले सञ्चालन गरेको क्षिरेश्वरनाथ महादेव क्रसर उद्योग पनि अवैधानिक छ। सरकारले तोकेको मापदण्ड पुरा गरेको छैन तर पनि निर्वाध रुपमा सञ्चालनमा रहेको पाइएको छ। यसरी घरेलु तथा साना उद्योग कार्यालय जनकपुरधामले क्रसर उद्योग मापदण्ड विपरीत रहेकाले कसैको पनि दर्ता नवीकरण नगरेको प्रमुख सञ्जिवकुमार दुवेले जानकारी दिए। मापदण्डअनुसार खोला, बस्ती, वन, राजमार्गबाट हुनुपर्ने निश्चित दूरीका साथसाथै वातावरणीय परीक्षण प्रतिवेदनसमेत नरहेकाले उद्योगहरु वर्तमान मापदण्डअनुसार नभएकै कारण नवीकरण बन्द गरिएको उनको भनाई छ।

नयाँ मापदण्ड पूरा नगरेका क्रसर उद्योगले ढुंगा, गिट्टी, बालुवा संकलन गरिरहेकाले त्यस्ता कार्य अविलम्ब रोक्न भन्दै पत्राचार गरिएको थियो। २०७५ पुस १५ गते घरेलु कार्यालयले सबै क्रसर उद्योगलाई पत्राचार गरेको थियो। तर कार्यालयको पत्राचारलाई बेवास्ता गर्दै व्यवसायीले कामलाई जारी नै राखेको छ। यता नवीकरण नभए पनि उद्योगले आन्तरिक राजस्व कार्यालयमा राजस्व बुझाउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell