PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

अवैध उत्खनन् गर्ने क्रसर माफिया कमला नदीको अस्तित्वसँग खेल्दै छन् : मेयर बरबरिया



सुमित मिश्र

अवैध उत्खनन् गर्ने क्रसर माफिया कमला नदीको अस्तित्वसँग खेल्दै छन् : मेयर बरबरिया

जनकपुरधाम : धनुषाको शहीदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव)ले कमला नदीमा अवैध उत्खनन् गर्ने क्रसर डनहरु कमला नदीको अस्तित्वसँग खेलवाड गरिरहेको बताएका छन्।

शनिवार कमला नदी निरीक्षण गर्न पुगेका मेयर बरबरियाले निरीक्षणको क्रममा कमला नदीबाट चोरी निकासी गरी अवैध रुपमा ग्राभेल उत्खनन् गरेको भन्दै माफियाहरुलाई कानुनमार्फत तह लगाउनु पर्ने जिकिर गरेका छन्। कमला नदीमा रातारात अवैध रुपमा उत्खनन् भएको खबर अएको भन्दै कमला बचाउ अभियानका अभियानकर्ता समेत रहेका मेयर बरबरियाले अभियानकर्मी टोलीसँग शनिवार निरीक्षण गर्न कमला पुगेको बताए।

उनले भने, ‘नदीमा अवैध रुपमा उत्खनन् भइरहेको खबर आएसँगै कमला बचाउन अभियानकर्ताहरुलाई लिएर निरीक्षण गर्न कमला नदी पुग्यौँ, नदीमा पुग्दा अवैध रुपमा उत्खनन् भएको पायौँ।’

निरीक्षणको क्रममा उनले कमला र विमला नदीको इतिहास तथा धार्मिक अस्तित्वबारे बोल्दै धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा रहेको कमला नदीको अवैध उत्खनन् रोक्न आफूहरु हरसम्भव प्रयासरत गरेको बताए। उनले केही महिनाअघि अवैध उत्खनन् रोक्न गएका अभियन्ता दिलीप महतोको हत्यालाई सम्झिदै  पर्यावरण जोगाउनको लागि अब अर्को दिलीप महतोले बलिदानी दिनुपर्ने अवस्था नओस् भन्दै अविलम्ब अवैध उत्खनन् रोक्नु पर्ने प्रतिक्रिया दिए। उनले कमला नदीको आफ्नै इतिहास रहेको भन्दै अवैध उत्खनन् गर्नेहरुले कमलाको अस्तिव्वसँग खेलवाड गरिरहेको बताए।

उनले पर्यावरण, वातावरण र कमला नदीको अस्तित्व जोगाउनको लागि आफू पछाडि नहटेको दावी गर्दै आगामी दिनमा समेत पछाडि नहट्ने प्रतिबद्धता जाहेर गरे। सो क्रममा उनले कमला नदीको अवैध उत्खननविरुद्ध तथा कमलाको संरक्षणको लागि केन्द्र सरकारसम्मको सहयोग लिने बताए।

उनले भने, ‘दिलीप महतोले पर्यावरणको लागि ज्यान दिए, त्यसबाट अब युवा अग्रसर हुनुपर्छ र यस्ता माफिया, क्रसर डन, दलालहरुलाई निरुत्साहित गर्नुपर्छ। अब युवा अगाडि आउनु बाहेक अन्य कुनै विकल्प छैन।’

सो क्रममा कमला बचाउ अभियानका संयोजक विक्रम यादवले कमला नदीको धार्मिक पहिचान र अस्तित्वसहित कमला नदी बचाउन पर्ने आवश्यकताबारे प्रकाश पारेका थिए। कमला छेउमा जंगल लगाउनुका साथै वन्यजन्तुलाई समेत पालनपोषण गर्ने अवधारणा ल्याउन लागेको यादवले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell