PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

प्रदेश २ मा चार वटा पीसीआर मेसिन थप्ने निर्देशक समितिको निर्णय



सुमित मिश्र

प्रदेश २ मा चार वटा पीसीआर मेसिन थप्ने निर्देशक समितिको निर्णय

जनकपुरधाम : कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार वटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ।

निर्देशक समितिको सोमवार सम्पन्न बैठकले पीसीआर मेसिन सञ्चालनमा रहेको जनकपुर, वीरगंज र राजविराजको ल्याबमा एउटा/एउटा र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब सेटअप गर्ने गरी चार वटा पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको मुख्य मन्त्रीको सञ्चार सचिवालयले जानकारी दिएको छ। समितिले परीक्षण तथा उपचारको लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय समेत गरेको हो।

यसैगरी समितिले प्रदेशमा कोरोना परीक्षणलाई तीव्रता दिन थप ५० हजार भीटीएम खरिद गर्ने निर्णय गरेको छ। यसको साथै परीक्षणमा प्रयोग हुने रिएजेन्ट लगायतका सामग्री समेत खरिद गर्न समितिले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको सचिवालयले जानकारी दियो।

निर्देशक समितिले तेस्रो मुलुकबाट आउने नागरिकलाई प्रदेश प्रवेश विन्दुमा नेपाली सेनाले होल्डिङ एरिया बनाई व्यवस्थापन गर्ने र काठमाडौंदेखि तोकिएको क्वारेन्टाइनसम्म जाँदाको खाना, खाजालगायतको खर्च समेत प्रदेश सरकारले बेहोर्ने निर्णय गरेको छ।

प्रदेश सरकारले स्वदेश आउन चाहने नागरिकहरुको समन्वय र सहयोग गर्ने जिम्मेवारी आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई दिएको छ। लकडाउनको कार्यान्वयन तथा व्यवस्थापनका लागि स्थानीय तह, स्थानीय प्रशासन र निजी क्षेत्रका संघ संस्थाहरुको सहकार्य आवश्यक रणनीति लागू गर्ने निर्णय समेत गरिएको सचिवालयले जानकारी दियो।

यसअघि, सोमवार बिहान सम्पन्न पीसीएमसीको बैठकले दिएको सुझावको आधारमा निर्देशन समितिले यस्तो निर्णयहरु गरेको मुख्य मन्त्रीको सञ्चार सचिवालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell