PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आफैँलाई चिन्दिनन् उनी, न ठाउँ थाहा छ न परिवार नै : कोरोनामुक्त हुँदाको खुशी साटुन् कोसँग?



स्वेच्छा राउत

आफैँलाई चिन्दिनन् उनी, न ठाउँ थाहा छ न परिवार नै : कोरोनामुक्त हुँदाको खुशी साटुन् कोसँग?

जेठ २३ गते। रातको ९ बजेको थियो। साँझदेखि परेको झरी रोकिने छाँट थिएन। सुर्खेत, वीरेन्द्रनगर चोकमा एक महिला निदाइरहेकी थिइन्। लकडाउनले ठप्प बजारमा भेटिएकी उनलाई त्यहाँ देखेपछि प्रहरीले प्रश्न गरे, ‘कहाँ हिँड्नु भयो?’

तर, उनी बोलिनन्। निकै बेरसम्म नाम, ठेगाना सोध्दा पनि चुप। आत्तिएकी जस्तो देखिएकी उनले केहीबेरमा आवाज त निकालिन् तर बोली निकै अस्पष्ट। बुझ्नै नसकिने।

गुलावी र कालो रङ मिसिएको कुर्ता, नीलो सुरुवाल। हातमा कपडाको पोको अनि टाउकोमा ढाकाको खादा बाँधेको। उनी एक्लै बर्बराइ रहिन्, प्रहरीको प्रश्नको वास्ता नगरी। त्यतिन्जेल उनी बोल्न सक्दिनन् भन्ने प्रष्ट भयो प्रहरीलाई। ती महिला बाटो भुलेर वा आफ्नाबाट कतै छुटेर अलपत्र परेको हुनसक्ने प्रहरीको अनुमान थियो।

वीरेन्द्रनगर ६ मा खटिएका प्रहरीले तत्काल फोन गरे, मानव सेवा आश्रममा।

+++

साढे ९ बजे राती प्रहरीको खबर आयो – एक अधवैंशे महिला बेवारिसे अवस्थामा भेटिएकी छिन्। आश्रय दिनुपर्‍यो।

मानव सेवा आश्रम, सुर्खेतको जिम्मेवारी सम्हालेर बसेकी सिर्जना ओली अन्यौलमा परिन्। कारण उही – कोरोना भाइरसले निम्त्याएको डर। जसबाट जोगिन र आश्रममा रहेका आश्रितहरुलाई जोगाउन हर प्रयत्न गरिरहेकी छिन् उनी। किनकि कर्णाली प्रदेश संक्रमणको उदाउँदो हट स्पट हो। सुर्खेतमै अवस्था डरलाग्दो भइसक्यो। त्यस्तोमा बाटोमा भेटिएकी महिलालाई ल्याएर राख्ने निर्णय एक्लैले गर्न सकिनन्। राख्दिन भन्न उनको मन मानेन।

'उहाँहरुको लागि नै त हौं हामी। राख्ने प्रस्ताव अस्वीकार गर्न सकिँन। तर, कोरोना भाइरस परीक्षण त आवश्यक थियो,' सिर्जनाले सुनाइन्, 'आश्रममा प्राय अस्वस्थ बुबाआमा हुनुन्छ। उहाँहरुको सुरक्षाका लागि पनि नयाँ मानिस भित्र्याउनु अघि ढुक्क हुनुपर्ने थियो।'

सिर्जनाले आश्रम भएको वीरेन्द्रनगर नगरपालिका १२ का वडाध्यक्ष लोकप्रसाद चालिसेलाई फोन डायल गरिन्। उनले रातभरका लागि बस्ने व्यवस्था गरिदिन आग्रह गरे, भोलिपल्ट बिहानै उनलाई परीक्षणका लागि पुर्‍याउने आश्वासनसहित।

+++

आश्रममा ५२ जना आश्रित छन्। वृद्धवृद्धादेखि बालकालिकासम्म। उनीहरुको दुनियाँ नै आश्रम परिसर। सीमित कोठामा अटाएका छन् सबै। त्यहीँ बस्छन्, सुत्छन्, खेल्छन्। फेरि प्राय: नियमित औषधी सेवन गर्नेहरु छन् यहाँ। यी सबैलाई कोरोना भाइरस संक्रमणबाट जोगाउनु आश्रममा खटिएका सेवकहरुको मुख्य चुनौती। त्यसैले प्रहरीले सडकबाट आश्रमसम्म पुर्‍याएका महिलालाई अन्य आश्रितहरुबाट सामाजिक र भौतिक रुपमा अलग राख्न आवश्यक थियो। अलग कोठा नभएकाले उनलाई त्यसदिन पिंढीमा नै ओच्छ्यान हालेर सुताइयो।

दिनभरको थकान र रातमा थपिएको जिम्मेवारी। सिर्जना थकित थिइन्। सबै काम सकेर सामाजिक सञ्जालमा भुल्दै गर्दा उनको आँखा पर्‍यो एक समाचारमा – 'कर्णाली प्रादेशिक अस्पतालबाट एकसाथ ७ जना संक्रमण मुक्त।'

अस्पताल बसाइपछि संक्रमण मुक्त हुने सबैलाई विशेष कार्यक्रम आयोजना गरी बिदाइ गरिएको रहेछ। उक्त खुशीको खबरले सिर्जनालाई खुशी नदिने कुरै भएन।

खबरसँगैका तस्विरहरुले उनको ध्यान खिच्यो। जसमा संक्रमण मुक्त भएकाहरुलाई उभ्याइएको थियो, गलामा खादा लगाएर। उभिएकामध्ये एक अनुहार परिचित लाग्यो। केही बेरअघि आश्रममा भित्रिएकी नयाँ महिला तिनै त होइनन्? ती महिलाले टाउकोमा बाँधेको खादा सम्झिइन्। निश्चित भयो, तिनी उनै हुन्। 

त्यसपछि उनले बोकेको झोला हेरियो। त्यहाँ केही कागज पट्याएर राखिएको थियो। परिचय खुल्ने केही हुनसक्ने आशा थियो। तर, त्यसो भएन। कागज त कोभिड-१९ परीक्षणको रिपोर्ट पो रहेछ।

रिपोर्टमा…

नाम : थाहा छैन

उमेर : थाहा छैन

ठेगाना : थाहा छैन

जेठ १४ गते अस्पताल भर्ना भएकी रहेछिन् उनी। रिपोर्टका अनुसार पहिलो पटक जेठ २ गते उनको स्वाब परीक्षण भएको थियो। स्वाब लिइएको १२ दिन अर्थात् जेठ १४ गते बल्ल उनी भर्ना भइन्। उनमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण भने देखिएको थिएन।

जेठ २३ गते दोस्रो परीक्षणको नतिजा आयो, नेगेटिभ। अनि उनी डिस्चार्ज भइन्। अन्य ६ जनासहित संक्रमण मुक्त भइन्। खादा र बधाईसहित उनी कर्णाली प्रदेशले सञ्चालन गरेको कोरोना विशेष अस्पतालबाट निस्किइन्।

जुन दिन रोगबाट मुक्त भएर निस्किइन् त्यसै रात नै सडकमा बेवारिसे भेटिएकी हुन् उनी।

बोल्न सक्दिनन्। प्राय हाँसिरहन्छिन्। कसैले केही सोधे, अस्पष्ट बोल्छिन् – नेपाल। नेपाल।

उनलाई आफू कुन देशको भन्ने थाहा छ। तर, कुन जिल्ला वा गाउँको भन्ने थाहा छैन। वा थाहा भएर पनि बुझाउन सक्दिनन्।

जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतका प्रमुख चेतननिधि वाग्लेका अनुसार भारतबाट फर्किएकी हुन् ती महिला। अन्य मानिससँगै उनलाई पनि उद्दार गरेर प्रदेश सरकारको समन्वयनमा नेपाली सेनाले बनाएको क्वारेन्टाइनमा राखिएको थियो। त्यहीँबाट उनको स्वाब परीक्षणका लागि लगियो र नतिजा पोजेटिभ देखियो।

प्रदेश अस्पताल, कर्णालीमा उपचार भयो। रिपोर्ट नेगेटिभ आएपछि अस्पतालको जिम्मेवारी सकियो। अनि प्रदेश सरकारको नि?

'आइसोलेसनमा रहँदासम्म बिरामीको उपचारको जिम्मेवारी प्रदेश सरकारले नै व्यहोर्ने हो। व्यहोरेका पनि हौं। संक्रमण मुक्त भएपछि आफ्नो ठाउँका जनता सम्बन्धित स्थानीय सरकारले लिनुपर्छ,' कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत् स्वास्थ्य महाशाखाका प्रमुख लक्ष्मी नारायण तिवारीले पहिलोपोस्टसँग भने। उनले बिरामी अलपत्र परेको खण्डमा भने सम्बन्धित व्यक्तिलाई गाउँ वा घरसम्म पुर्‍याउन प्रदेश सरकारको सहयोग रहने समेत बताए।

तिवारीले ती महिलाको परिचय र ठेगाना पहिचानका लागि पहल गरिरहेको समेत बताए। भने, 'मुगुको भन्ने संकेत पाएका छौं। थप जानकारी आउन बाँकी छ। सकेसम्म परिवारसँग पुनर्मिलन गराउँछौं।'

यता मानव सेवा आश्रममा उनलाई अन्य मानिसबाट अलग्गै राखिएको छ। पर्याप्त कोठा नभएकै कारण औषधी राख्ने कोठामा छिन् उनी। सांकेतिक भाषा बोल्ने उनी आफ्नै सुरमा बर्बराइ रहन्छिन्। संकेत दिइरहन्छिन्। उनलाई वरपर बसेर सुन्ने धेरै छन् तर बुझ्ने कोही छैन।

'भिडियो कलमार्फत् दोभाषेको सहयोगमा उहाँलाई बुझ्ने कोसिस गरिरहेका छौं। तर, लकडाउनले गर्दा तत्काल सहयोग पाइहाल्न सकिएको छैन,' सिर्जनाले भनिन्। ती महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको भए पनि ढुक्क हुन सकेकी छैनन् सिर्जना। 

उनले केही समयलाई स्थानीय सरकार वा प्रदेश सरकारले नै बनाएको क्वारेन्टाइनमा लगेर राख्ने प्रस्ताव नगरेकी होइनन्। तर, जवाफ उही आयो – संक्रमण मुक्त भएकालाई राख्न सक्दैनौं। जोखिम हुन्छ।

त्यसैले, अब प्रदेश सरकारले गर्ने पहलले निर्धारण गर्नेछ अलपत्र परेकी ती महिलाको आगामी गन्तव्य। जोसँग कोरोनामुक्त हुनुको खुशी छैन वा कोरोनामुक्त हुनुको खुशी अभिव्यक्त गर्न आवाज छैन। उनले बोल्ने भाषा र संकेत बुझ्ने मानिस छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell