PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

सरकारविरुद्ध प्रदेश २ को राजधानीसहित विभिन्न स्थानमा प्रदर्शन

सरकारविरुद्ध प्रदेश २ को राजधानीसहित विभिन्न स्थानमा प्रदर्शन

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : सरकार कोरोना महामारीका बीच पनि भ्रष्टाचारमा लिप्त रहेको भन्दै प्रदेश नम्बर २ को राजधानी जनकपुरसहित विभिन्न स्थानमा सरकारविरुद्ध युवाले प्रदर्शन गरेका छन्।

सरकारले लकडाउनमा पनि कर बुझाउन भनेको, स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार तथा कमिशन उठाउन व्यस्त रहेको, नेताहरु अहिले पनि विलासी जीवनमै मस्त रहेको लगायतका आरोप लगाउँदै प्रदेश २ का विभिन्न स्थानमा सरकारविरुद्ध प्रदर्शन गरिएको हो। प्ले कार्डमा विभिन्न नारा लेखेर सरकारविरुद्ध प्रदर्शन गरिएको छ।

जनकपुरधाममा प्रदर्शनकारीहरु जनक चोकमा जम्मा भएर तीनै तहका सरकाविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरुले ‘जनतालाई छैन सरकारको आशा सरकारलाई चाहियो जनताको लाश’, ‘कार्पेट हैन सोच बदलौँ’, ‘पैसा छैन गोजीमा सरकार करको खोजी’मा लगायतका नाराहरु लेखिएको प्ले कार्ड बोकेका थिए।

सरकारले लकडाउन लगाएको ८० दिनपछि पनि क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापन, गरिब मजदुर वर्गका लागि राहतको व्यवस्थापन लगायतमा सरकार असफल सावित भएपनि भ्रष्टाचारमै लिप्त रहेकोले आफूहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको प्रदर्शनमा सहभागी राकेश विक्रम साहले बताए।

उनले भने, ‘महामारीको बेला पनि सरकार कमिशन असुल्ने तथा भ्रष्टाचारमै लिप्त रहनु दुःखद रहेको छ।’

प्रदर्शनका अर्का सहभागी सरोज कुमार मिश्रले भने, ‘सरकारलाई सही बाटोमा ल्याउनका लागि हामी जनकपुरधामका युवा तथा युवा व्यवसायीहरु प्रदर्शनमा उतरेका हौँ, सरकार नसच्चिएसम्म हाम्रो विरोधका कार्यक्रमहरु जारी रह्ने।’

यता नेपाली कांग्रेसका कार्यकर्ताहरु महोत्तरीको जलेश्वरमा आधा घण्टा सरकारविरुद्ध मौन धर्नामा बसेका छन्। देशमा रहेका तीनै तहका सरकारले कोरोनाबाट नागरिकलाई जोगाउनका लागि ठोस नीति अवलम्वन नगरेको भन्दै बिहीवार बिहान उनीहरु जलेश्वरमा धर्ना दिएका हुन्।

भिट्ठामोड जनकपुर सडकखण्ड अन्तर्गत पर्ने जलेश्वरको शंकर चोकमा स्थानीय वजरंग नेपालीको नेतृत्वमा धर्नामा बसेकाहरुले हातहातमा प्ले कार्ड लिएका थिए। कोरोना महामारीको समयमा सरकार व्यवस्थापनमा चुकेको भन्दै सरकारको विरोधमा मौन धर्नामा युवाहरु बसेका थिए।

बारामा समेत सरकारविरुद्ध प्रदर्शन गरेका छन्। कम्तीमा एक घर एक पीसीआर टेस्टको माग गर्दै युवाहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। युवाहरुले बाराको फेटागाँउपालिका–१ मा भलुही चोकमा विभिन्न नारासहितको प्लेकार्ड लिएर प्रदर्शन गरेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell