PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अस्ट्रेलियामा आफ्नैलाई ठग्दै नेपाली (ब्लग)



अस्ट्रेलियामा आफ्नैलाई ठग्दै नेपाली (ब्लग)
Photo :Cnbc/Collage

  • उत्सव प्रताप थपलिया

आमाले आफूले लगाएको गहना बन्धकी राख्दै हिँड्नुअघि आँखा भरि आँसु पार्दै भन्नुभयो, ‘बाबु उता पुगेपछि सबैभन्दा अगाडि माहिला काकासंग लिएको ऋण चाहिँ तिर्नु है, काकी अलि लोभी छिन।’

घरबाट निस्कँदा आमाको यो वचनसँगै ठूलो सुटकेसमा लुगा भन्दा धेरै सपनाका मझेरिहरु बोकेर अस्ट्रेलिया छिरें। विदेशिने धेरै जस्तो हामी नेपालीहरु सक्नेले वर्ष दिनको नसक्नेले ६ महिनाको कलेज फि तिरेर गोजीमा नेपालबाट ल्याएको हजार डलरबाट सुरु गर्छौं अस्ट्रेलियाको यात्रा।

अस्ट्रेलिया आएपछि महिना दिनमै काम पाउने नेपाली स्वत: रुपमा सबैभन्दा भाग्यमानी ठहरिन्छ, नभए अधिकांश नेपालीलाई काम पाउन हम्मेहम्मे नै पर्छ।

केहि समयको रस्साकस्सी पछि सुरुमा पाउने काम भन्या क्लिनिङ कि त रेस्टुरेण्टमा किचेन ह्यान्डलिङ। अनि यहि कामबाट हप्तै पिच्छे आएको तलब जम्मा गर्दै कलेज फि, घरको भाडा, खानामा खर्च। बाँकी बचेको थोरै पैसा माहिला काकाको किस्ताबन्दीमा ऋण तिर्न र आमाको गहना उकास्न सानो एउटा थैलोमा जम्मा गर्ने।

दिन रात नभनी आफ्नो सुनौलो भविष्यका लागि अरुले खाएको जुठा भाँडा माझ्दै अलिअलि गर्दै भरिन्छ त्यो थैलो।

अनि पैसा घर त पठाउन अस्ट्रेलियामा रहेका विश्वासिला दाइको हातमा ढुक्कसंगले दिन्छौँ पैसा। दाइ विश्वासिला छन् किनभने उनी धेरै वर्षदेखि अस्ट्रेलियामा डेरा जमाएर कम्पनी खोलेका दाइ नेपालीलाई अप्ठ्यारोमा सहयोग गरिरहन्छन्।

अनि घरमा निकै एक्साइट्मेन्टका साथमा फोन गर्छौ ‘मैले पैसा पठाइदिसके। भोलिपर्सिमा पाउनु हुन्छ है’।

छोराले विदेशबाट कमाएको पैसा पाउने आशामा बाआमा निकै खुशी हुन्छन, तर त्यो खुशी तब टुट्छ जब छोराले दुईतीन दिनमा आउँछ भनेको रकम दुइ हप्ता सम्मपनि घरका परिवारले पाउदैनन्।

अनि रहस्य खुल्दै जान्छ, थाहा हुन्छ छोराले पसिना बगाएर पठाएको पैसा त विश्वासिला दाईले खाइदिएछन्।

++

अस्ट्रेलिया नेपालीहरुका लागि सपनाको शहर बनेको छ। तर यहाँ नेपाली बाहुल्य प्राय सबै राज्यहरुमा नेपालीले नेपालीलाई नै ‘टार्गेट’ बनाएर ठग्दै आएका छन्। सिड्नी शहरलाई मुख्य केन्द्रबिन्दु बनाउदै आएका हुण्डी कारोबारीहरुले आफ्नो संजाल बिस्तारै मेलबोर्न, क्यानबेरा, ब्रिज्बेन, पर्थ राज्यहरुमा फैलाउँदै आएको देखिन्छ।

केहि दिनदेखि अस्ट्रेलियाबाट संचालनमा आएका नेपाली फेसबुक ग्रुप र पेजहरुमा मेलबर्नबाट आफुहरु हुण्डीबाट ठगिएको छु भनेर गुहार लाउने नेपाली विद्यार्थीहरुको लर्को नै लागेको छ। कतिको समस्या सुल्झेको छ। तर, कतिपय भने आत्महत्या गर्नेसम्मको मानसिकतामा पुगिसकेका छन्।

अस्ट्रेलियाको ठूलो शहरको रुपमा चिनिन्छ मेलबर्न सिटी, जहाँ नेपाली समाजको बाक्लै उपस्थिति रहेको छ। नेपालीहरुको उपस्थिति जति बढ्दै छ नेपाली हुण्डी कारोबारीहरु पनि सक्रिय भइरहेका छन्।

नेपालमा पैसा पठाउने र नेपालबाट चाहे अनुसारको पैसा झिकिदिन्छु भन्दै नेपाली विद्यार्थी र नेपाली समुदायलाई ठग्दै हिँड्ने क्रम बढेको देखिन्छ। 

यसअघि पनि दुईवटा ठूला हुण्डी काण्ड सार्बजनिक भएका थिए। तर, नेपालीलाई ठग्ने नेपाली ठगहरुलाई कुनै पनि कारबाही नभएको कारण उनीहरुलाई आत्मबल बढेको देखिन्छ। त्यसैले त यस्ता घटना बारम्बार घट्ने गरेका छन्।

पछिल्लो समय मेलबर्नको केगीबर्नमा २००७ सालदेखि ट्राभल र क्राफ्टको व्यवसाय गर्दै आएका क्राफ्ट एभरेस्टका भरत बहादुर केसी नाम गरेका एक नेपाली व्यवसायीले नेपाली विद्यार्थीलाई लक्षित गर्दै हुण्डीको नाममा हजारौं अस्ट्रेलियन डलर ठगी गरिएको पाइएको छ। 

उनले आफूले संचालनमा ल्याएको ट्राभलबाट सामाजिक संजालमा उपयुक्त रेटमा नेपालमा पैसा पठाइदिने र चाहेको अनुसार नेपालबाट पैसा झीकिदिने भन्दै प्रचार गरेको देखिएको छ। यहि ठगीको शिकार भएका विद्यार्थीका साथीहरुले सामाजिक संजाल फेसबुकमा पीडित साथीलाई बचाउन र ठगिएको रकम फिर्ता गर्न दबाब दिइरहेका छन् ।

धेरै वर्षदेखि उनले यो ठगी धन्दा अस्ट्रेलियाका प्राय सबै राज्य जहाँ नेपालीहरुको उपस्थिति छ त्यहि गर्दै आएको पनि खुलेको छ।  प्रमाण सहित स्थानीय प्रहरी, नेपाली दूतावासमा उजुरी दिँदा पनि खासै चासो नदेखाएको र केहि नेपाली संघ संस्थाहरु उनकै पक्षमा लागेको पीडितहरुको आरोप छ।

उनले कोहि नेपाली विद्यार्थी नेपालबाट आउने थाहा पाउन साथ उनीहरुलाई फसाउनका लागि एयरपोर्टसम्म गएर पिकअप गर्ने र त्यहि समय पासपोर्टको कपि र भिसा कपि लिएर आफू अनुकुल महँगोमा उनीहरुलाई फोन दिएर पनि विद्यार्थी ठग्ने गरेको पाईएको छ।

अहिले उनीबाट ठगिएका एक नेपाली विद्यार्थी यो कोरोनाको महामारीमा कलेजबाट फि तिरेर लिने सीओई (कन्फरमेसन अफ इण्ट्रोल्मेण्ट)को लागि नेपाली समुदायलाई गुहारिरहेका छन्।

यहि घटनालाई नजिकबाट नियालिरहेका र मध्यस्थताको भूमिका खेलिरखेका प्रवासी नेपाली एकता मञ्चका केन्द्रीय सदस्य प्रकाश सेढाई भन्छन, ‘हामीले पीडकलाई ल्याएर तीन घण्टा सम्म छलफल गर्‍यौं। जसमा तत्कालै हुण्डी र रेमिट्यान्स गरेको ५० प्रतिशत रकम फिर्ता गर्ने, बांकी ५० प्रतिशत हरेक महिना ३ हजार डलरको दरले किस्ता तिर्दै जाने सहमति भएको छ। हाम्रो प्रस्तावलाई उनले घर सल्लाह गरेर आफ्नो आफन्तसंग मागेर, सम्पत्ति बेचेर तिर्छु भनेका छन्, हामीले त्यसको लागि १ हप्ताको समय दिएका छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell