PahiloPost

Jun 17, 2024 | ४ असार २०८१

नर्सले सुत्केरी गराउँदा नवजात शिशुको मृत्यु भएको आरोप, अस्पतालमा नाराबाजी



सुमित मिश्र

नर्सले सुत्केरी गराउँदा नवजात शिशुको मृत्यु भएको आरोप, अस्पतालमा नाराबाजी

जनकपुरधाम : जनकपुरमा अस्पतालमा सुत्केरी भएको केही बेरमै नवजात शिशुको मृत्यु भएको छ।

जनकपुरधाम उपमाहानगरपालिका वडा ९ बरहमपुरीस्थित रहेको जानकी मेडिकल कलेजको शिक्षण अस्पतालमा महोत्तरी भंगहा नगरपालिका वडा ३ की २६ वर्षीया खुस्बु यादवको नवजात शिशुको मृत्यु भएको हो।

शिशुको मृत्यु अस्पतालको लापरवाहीको कारण भएको खुस्बुका आफन्तको आरोप लगाए।
खुस्बु सुत्केरी गराउन अस्पताल पुगे पनि चिकित्सक समयमै नआउँदा शिशुको मृत्यु भएको खुस्बुका भाइ मुकेशको दाबी रह्यो।

 मुकेशले भने, ‘अस्पतालमा दिदीलाई २ बजे भर्नका लागि ल्याएका थियौं, भर्न गर्न ल्याउँदा सबै सुविधा यहाँ छ भनेर भर्ना लिइयो। तर डेलेभरी हुनु बेलासम्म कुनै डक्टर आएनन्। बच्चाको ज्यान गयो। डक्टरलाइ पटकपटक आउनका लागि फोन गर्दासमेत आउन मानेनन्। अन्तमा नर्सले डिलेभरी गरायो। डिलेभरी सफल भएन।’

मुकेशले अस्पतालकै कमजोरीका कारण शिशुको मृत्यु भएकोले दोषीलाई कारवाहीको माग गरे।

यता बच्चाको मृत्यु भएपछि आक्रोशित भएका परिवारजनसँगै केही युवाले अस्पताल परिसरमा चर्को नाराबाजी गरेका थिए। नाराबाजीमा उत्रेका युवा नेता प्रशान्त झाले भने, ‘जनकपुरमा अस्पतालहरुले पटकपटक लापरवाही गरेका कारण कतिको ज्यान गैसकेको छ। कहिले प्रादेशिक अस्पतालले लापरवाही गर्छ त् कहिले निजी अस्पतालले। त्यस कारण अब अस्पतालको लापरवाहीमा सम्बन्धीत निकायले ध्यान नदिए एक संघर्ष समिति नै गठन गरेर आफुहरु संघर्षमा उत्रिन बाध्य हुन्छौ।’

जानकी मेडिकल अस्पतालका प्रमुख प्रशाशकीय अधिकृत डा. डि.एन झाले अस्पतालको गल्ती भएको स्विकारेका छन्। झाले पिडित परिवारसँग छलफल गर्दै भने, ‘अस्पतालबाट गल्ती भएकै हो। अबदेखि यस्तो गल्ती दोहरिने छैन।’ छलफल निष्कर्षमा नपुगेपछि प्रहरीले अस्पतालका झा र नर्स रिसु झालाई नियन्त्रणमा लिएका थिए। केही बेरपछि उनीहरुलाई छाडी छलफलको लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell