PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सामाजिक दुरीको नाममा असामाजिक व्यवहार : जसले आफ्नै विरामी छोरालाई घर छिराउन पाइनन्



स्वेच्छा राउत

सामाजिक दुरीको नाममा असामाजिक व्यवहार : जसले आफ्नै विरामी छोरालाई घर छिराउन पाइनन्

काठमाडौं : 'कसरी आयौ जेठा एक्लै?'

अप्रत्यासित हिसाबले आइपुगेका ज्ञानेन्द्रलाई देखेपछि आमा नानीमायाले सोधिन्। मास्क लगाएका उनी ढोकामा चुपचाप उभिइरहे। सुरुमा त विश्वास गर्न गाह्रो भयो नानीमायालाई। कारण हो, लकडाउन। गाडी चलेको छैन। सँगै ज्ञानेन्द्रका भाइहरु पनि थिएनन्।

आमाको प्रश्नको जवाफमा बस् फिस्स हाँसेमात्र ज्ञानेन्द्र। त्यसपछि उनले माइला छोरा भुवनलाई फोन लगाइन्।

'कतिखेर निस्किनु भयो थाहै पाएनौं। हामी काममा थियौं,' जवाफ चित्त बुझ्दो रहेन। त्यसैले ज्ञानेन्द्रलाई फकाइन् – कसरी आयौं, भन न बाबा?

नानीमायाको करबलपछि बल्ल ज्ञानेन्द्र बोले – 'हिँडेर आ'को हिँडेर। खुट्टा दुखेको छ।'

ज्ञानेन्द्रका खुट्टा सुन्निएका थिए। मास्क झिकेपछि देखियो ओठ पनि सुकेको। पसिनाको दुर्गन्ध पनि उस्तै। हातखुट्टा धुन लगाइन्, फेर्ने लुगा पनि दिइन्। अनि नङ काट्न भनिन्।

लकडाउन सुरु हुनुअघि नै बनेपा गएका छोरोको खुब झल्को लाग्थ्यो नानीमायालाई। कहिले ढोकामा आएर उभिएजस्तो लाग्ने त कहिले कानै छेउ आएर 'आमा' भनेजस्तो भ्रम हुने। अनि कहिले मखन गल्लीको कुनामा लुगा हल्लाउँदै – 'सस्तोमा हजुर सस्तोमा' भने झै हुँने। ज्ञानेन्द्र उस्तैगरी आइपुगेका थिए जसरी नानीमायाको झझल्कोमा आउँथ्यो।

+++

एक महिनाअघिको यो दृष्य नानीमायाका लागि जति प्रीतकर थियो, अरुका लागि हुने कुरै भएन।

तल जे भइरहेको थियो त्यो सबै माथिल्लो तलाबाट हेरिरहेकी थिइन्, घरबेटीले।

'भित्र पस्न दिने होइन है। कताबाट आएको हो, उतै फर्काउने। कोरोना बोकेर आएको होला। सबै सखाप पार्छ,' माथिबाट चिच्याएको सुनियो।

बल्लबल्ल हिँडेर आइपुगेका ज्ञानेन्द्रलाई आफ्नै कोठा विरानो भयो। पस्न दिइएन।

नानीमायाले विलौना गरिन्। खुट्टा सुन्निएको छोरोको हालत उनले सहन सक्ने कुरा पनि थिएन। अनुनयविनय केही बाँकी छाडिनन्।

तर, कोरोना परीक्षणको रिपोर्ट नल्याइ घर छिर्न नदिने अडानबाट डेग चलेनन् घरबेटी। जेठ १ गतेको हो घटना। विकल्प केही नपाएपछि राती ९ बजे ज्ञानेन्द्रलाई लिएर टेकुस्थित सरुवा रोग अस्पतालमा पुगिन् नानीमाया। रातिराति अस्पताल पुगेपछि उनलाई भने - भोलि बिहान आउनु, आज परीक्षण हुँदैन।

घर छिर्न नपाएका ज्ञानेन्द्रलाई रात कटाउन घरबाहिरको सत्तलको विकल्प रहेन। खाना पनि त्यहीँ ल्याइदिइन् नानीमायाले। थाकेका ज्ञानेन्द्र कागजको ओच्छ्यानमा निदाए। भोलिपल्ट बिहानै टेकु तिर लागे आमाछोरा। कोरोना परीक्षणका लागि उनको थ्रोट स्वाब लिइयो। नतिजा मोबाइलमै म्यासेज आउने बताएर पठाइदिए।

जेठ २ गते गरेको परीक्षणको नतिजा जेठ २९ गतेसम्म पनि आएन। त्यसबीचमा घरबेटीले भित्र छिर्न दिएनन्। बनेपाबाट काठमाडौं आउनु उनका लागि 'अपराध' बनिरह्यो। 'डाक्टरले जाँचेको त एकछिनमै थाहा हुनुपर्ने होइन?,' नानीमायाले प्रश्न गरिन्। उत्तर मिलेन।

ज्ञानेन्द्र चोक र गल्लीगल्ली डुल्दै हिँड्न थाले। सत्तल र पाटीहरुमै रात काटे। भोक लाग्दा आमा बस्ने घर बाहिर पुग्थे र चिच्याउँथे। अनि नानीमायाले प्लास्टिकमा ज्ञानेन्द्रलाई मन पर्ने तरकारीसँग भात ल्याएर दिन्थिन्। कति पटक त छिमेकीले पनि खुवाए, दया देखाए। कारण थियो – नानीमायाको आँशु र ज्ञानेन्द्रको मानसिक अवस्था।

+++

९ वर्ष भयो ३३ वर्षीय ज्ञानेन्द्र सुस्त मनस्थिति लिएर वसन्तपुर आसपासका गल्लीहरुमा हिँड्न थालेको।

काभ्रेपलाञ्चोक कोशी पारीकी नानीमाया र उनका श्रीमान् भारी बोक्थे यही शहरमा। चार छोरा र दुई छोरीसहितको परिवार पाल्थे, त्यसैबाट। ज्ञानेन्द्र जेठा छोरा। त्यसैले सानै उमेरमा आमाबुबालाई काममा सघाउन थाले। असन, इन्द्रचोकका गल्लीहरुमा कपडा बेच्नु उनको काम। व्यापारबाट हुने फाइदाको रकमले रासन पानी जोड्थे। भाइ बहिनीलाई कापी कलम किनिदिन्थे। आफ्नो पढाई खर्च पनि जुटाउँथे।

कक्षा १२ को परीक्षा सकिएपछि भने अवस्था उस्तै रहेन। बिस्तारै उनी कम बोल्न थाले। काम गर्न पनि छाड्दै गए। बिस्तारै बेहोसीमा एक्लै बर्बराउन थाले। प्रतिक्रियाविहीन बन्दै गए।

'सहारा बन्छ। भाइ बहिनी हुर्काउँछ भनेको छोरो नै बिरामी भयो,' नानीमायाले सुनाइन्, 'अहिले कोरोना पत्ता नलागेको जस्तै भयो। केले समात्यो समात्यो? मेरो छोरो कहिल्यै पहिलेको जस्तो भएन।'

अस्वभाविक देखिन थालेपछि डाक्टरी उपचार गराए। धामी झाँक्रीकहाँ पनि पुर्‍याए। ठीक भएन। सबैले 'बहुलाएको' संकते गरे। 'त्यसपछि मुटुमा ढुङ्गा राखेर पागलखाना पुर्‍याएँ,' उनले भनिन्, 'त्यहाँ पनि धेरै समय राखेनन्। केही महिनामै ठीक भयो भनेर पठाइ दिए।'

अस्पतालले ठीक भयो त भन्यो। तर, उनीहरुको परिवारको स्थिति बेठीक नै रह्यो। अभावकै कारण छोराछोरीले पठाइ छाडे। ज्याला मजदूरीको बाटो अपनाउनुको विकल्प थिएन उनीहरुसँग। नानीमायाका श्रीमान् ६ वर्षअघि बिते। त्यसपछि त सारा भार उनीमाथि। उमेरसँगै गलेको नानीमायाको शरीरलाई नाम्लो थाम्नै गाह्रो हुन थाल्यो।

त्यसैले थाप्लोलाई आराम दिइन्। वरपरका घरघरहरुमा भाडा माँझ्ने, लुगा धुने, सरसफाईको काम थालिन्। कान्छो छोरा शंकर भर्खर १२ वर्षका भए। उसले पनि दाजु, दिदीहरुजस्तै पढाई छाड्नु नपरोस्, मजदूरी गर्न बाध्य नहोस् भन्ने छ। त्यसैले शंकरलाई पढाउनका लागि पनि रात दिन खट्छिन् अहिले पनि।

तर, लकडाउनले खटनपटनलाई सीमित गर्‍यो। काम ठप्प। कमाई हुने बाटो रोकियो। शंकरका लागि जसोतसो कापी कलममात्र हो। अनलाइन कक्षा, इन्टर्नेट, ट्याब वा ल्यापटप कल्पना बाहिरका पाठ्य सामाग्री। कमाई नभएकै कारण विद्यालयले दिएको सूची अनुरुप कक्षा ६ को किताब समेत किनिदिन सकेकी छैनन् उनले।

यस्तै अभाव र उल्झनहरुबीच ज्ञानेन्द्र आमा खोज्दै आइपुगेका थिए। तर, आमाको नजिक हुन पाएनन्। दिनभर वरपरका सडक अनि सत्तलमा यताउता गरिरहे। आमाले खाना, खाजा दिँदा कुपुकुपु खाए। सुर चल्दा बोले नचल्दा एकोहोरै रहे।

काठमाडौं महानागरपालिका वडा नम्बर १९ स्थित एक घरमा बस्छिन् नानीमाया। घरसँगै जोडिएको सत्तलमा एक्लै रात काट्न बाध्य छन्, उनका छोरा।

‘मान्छेले बौलाह भने पनि सद्दे भने पनि आफ्नो छोरा हो। अस्वस्थ छ तर सास छ। उसलाई जनावरसरह बाहिर राखेर कहाँ ढोकाको चुकुल लगाउन सक्थेँ र?’, छोराले जे भोगे त्यसले आफूलाई दिएको चोट व्यक्त गर्छिन्, 'रातभर पटकपटक उठेर आउँथेँ। हेर्थेँ। कहिले निदाइरहेको हुन्थ्यो अनि कहिले एक्लै बर्बराएको हुन्थ्यो। देखेपछि कहाँ निन्द्रा पर्नु?’

अभावले दिलाएको अपमानलाई स्वीकारी रहन सकिनन् नानीमायाले। छोराका लागि कोठा खोज्दै हिँडिन्।

+++

गएको मङ्गलवार बिहान काठमाडौं वडा नं १९ का वडा अध्यक्ष शशीलाल श्रेष्ठले फोन गरे नानीमायालाई। ‘समस्या के हो?’ भनेर सोधे। नानीमायाले समस्या सुनाइन्।

‘बुझेर फोन गर्छु,’ भनेका थिए वडाध्यक्षले।

उनमा आशा पलायो, छोरालाई आफूसँगै राख्न पाउँछु। आफ्नै हातले पकाएको खुवाउन पाउँछु। तर, वडाध्यक्षको फोन आएन। बरु आयो, मानव सेवा आश्रमको गाडी।

ज्ञानेन्द्र उनको आँखाबाट टाढा हुने भए। सत्तलमा उँघिरहने छोरालाई देख्न पाउने भइनन्, नानीमायाले।

उद्दारका लागि पुगेको गाडीमा बसेर ज्ञानेन्द्रले बोले - 'गाउँ पुगेर आउँछु।'

यी दृश्य घरको माथिल्लो तलाबाट नियालिरहेकी थिइन् घरबेटी। ज्ञानेन्द्रलाई आश्रममा लगिएको साक्षी बस्न बोलाउँदा पनि तल झरिनन्। सायद, भौतिक दूरी कायम राखिन्। असामाजिक बन्दै कायम भयो एउटा सामाजिक दूरी।

घरबेटीको इच्छाअनुरुप ज्ञानेन्द्रलाई उनको घरबाट टाढा लगियो। आमा र आफ्नो कान्छो भाइलाई बिदाइको हात हल्लाए ज्ञानेन्द्रले।

त्यहाँबाट उनलाई फेरि टेकु लगियो, कोरोना भाइरस परीक्षणका लागि। पहिले गरेको रिपोर्ट नआएपछि विकल्प थिएन। त्यहाँबाट मानव सेवा आश्रमको बालाजुस्थित स्क्रिनिङ सेन्टरमा लगियो उनलाई। कोरोनाको नतिजा आएपछि उनको मानसिक एवं शारीरिक स्वास्थ्यको जाँच हुनेछ। जाँच पनि समस्या अनुरुपको उपचार र औषधी।

‘उपचार गरे ठीक हुन्छ। उहाँ चाँडै ठीक हुनुहुनेछ। स्वस्थ भएपछि उहाँहरुको पुनर्मिलन गराउँछौं। उहाँकी आमाको खुशी फर्कनेछ,’ मानव सेवा आश्रमका प्रवक्ता सुमन बर्तौलाले भने।

यता ज्ञानेन्द्र आश्रम गएको पहिलो रात फेरि अनिदो रहिन् नानीमाया। यस पटक तर्कनाहरुमा पनि थोरै खुशी र धेरै आशा मिसिएको थियो।

‘दोस्रो दिन त आरामको निन्द्रा पर्‍यो। छोरा ठीक भएर आएको सपना देखेँ। ढोकामै उभिएर आमा भनेर बोलायो,’ यस पटक नानीमायाको बोलीमा बेग्लै उमङ्ग सुनियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell