PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

एउटा प्रेरक कथा : ‘जिरो केस’ बाट भाइरसको 'हट स्पट' हुँदासम्मको अनुभूति



स्वेच्छा राउत

एउटा प्रेरक कथा : ‘जिरो केस’ बाट भाइरसको 'हट स्पट' हुँदासम्मको अनुभूति

वैशाख अन्तिमसम्म पनि कर्णाली प्रदेशका कसैमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको थिएन। बनाइएका क्वारेन्टाइनहरु रित्ता थिए। कोरोना संक्रमितकै लागि भनेर बनाइएका आइसोलेसन वार्डहरु शून्य।

तर, कर्णाली कोरोना महामारीको उच्च जोखिममा भने थियो। छिमेकी प्रदेशहरुमा कोरोना संक्रमित बढ्दै थियो। सीमामा अलपत्र परेका नेपालीहरु देश भित्रन थालेका थिए। कर्णाली प्रदेशका स्थानीय सरकारले पनि भारतबाट आएका हजारौं नागरिकको उद्धार थालिसकेको थियो। मानिस भित्रिएसँगै 'ट्रेसिङ र टेस्टिङ' पनि सुरु भइहाल्यो। गत चैतमै संघीय सरकारले कोरोना भाइरस परीक्षणका लागि आरटीपीसीआर विधिबाट परीक्षण हुने मेसिन पठाएको थियो। उक्त मेसिनमा दैनिक १२ देखि १५ वटासम्म नमूना परीक्षण हुन थाल्यो।

परीक्षण पछि नतिजा नेगेटिभ आए त ठीक तर पोजेटिभ देखिएको खण्डमा के?

त्यस समय प्रदेश अस्पताल, कर्णालीले गरेको तयारीले आड दियो।

+++

चीनमा कोरोना भाइरस संक्रमण बढ्दो थियो। विश्व स्वास्थ्य संगठनले कोरोनालाई 'विश्वव्यापी महामारी' घोषणा नगरे पनि सचेत र सावधान रहन भनिरहेको थियो। तत्काल स्वास्थ्य मन्त्रालयले नोवल कोरोना भाइरस संक्रमणविरुद्ध लड्न आवश्यक तयारी गर्न निर्देशन दियो। सबै अस्पतालले दुई वटा आइसोलेसन बेडसहित एउटा कोठा तयार गर्न निर्देशन पाएका थिए। प्रदेश अस्पताल कर्णालीले निर्देशन अनुरुप तयारी गर्‍यो।

आवश्यक फिभर क्लिनकदेखि चिकित्सक एवं स्वास्थ्यकर्मी पनि तयारी अवस्थामा थिए। सबैलाई नयाँ किसिमको भाइरसबारे जानकारी दिइयो। कसरी सुरक्षित रहने? संक्रमित देखिएको अवस्थामा कसरी डिल गर्ने? कसरी उपचारमा खट्ने? तालिमबाट प्रस्ट्याइयो।

चैत दोस्रो साता नेपालमा दोस्रो कोरोना संक्रमित भेटिएसँगै सरकारले लकडाउन घोषणा गर्‍यो। लकडाउनको करिब दुई महिनासम्म सातवटा प्रदेशमध्ये कर्णालीबाहेक सबैतिर संक्रमण देखियो। कर्णाली प्रदेशमा संक्रमण नदेखिएको विषय पटकपटक खबरहरुको शीर्षक बन्यो।

जेठ ५ गते। कोरोना संक्रमणबाट मुक्त रहेको एकमात्रै प्रदेशमा पहिलो संक्रमित पहिचान भयो। दैलेखमा, भारतबाट फर्किएका पुरुष थिए उनी। त्यसपछि, एक पछि अर्को गर्दै संक्रमित थपिन समय लागेन। त्यस अवस्थामा विभिन्न जिल्लाका बिरामीको उपचार 'हब' बनेको प्रदेश अस्पताललाई चुनौती थपियो।

'हाम्रा चिकित्सकदेखि अन्य कर्मचारी तयार थिए। दुई सय जनासम्म विरामीलाई म्याट्रेसमै सुताएर पनि उपचार गर्न तयार थियौं। तर, मुल समस्या परीक्षण र भाइरस संक्रमण पुष्टि हुनु/नहुनुमा थियो,' प्रदेश अस्पताल कर्णालीका निर्देशक डाक्टर डम्बर खड्काले सुनाए।

हरेक दिन कर्णाली प्रदेशमा संक्रमितको संख्या बढ्दै गयो। शून्य संक्रमित रहेको यस प्रदेशमा एकाएक संक्रमणको जालो फैलियो। जेठ अन्तिमसम्म आउँदा यहाँ कोरोना संक्रमितको संख्या ९ सय नाघिसक्यो। तर, डाक्टर खड्काले भनेजस्तै बिरामीलाई म्याट्रेसमै सुताउनु पर्ने अवस्था भने रहेन। किनकि प्रदेश अस्पतालले आफ्नो नयाँ भवनलाई पूर्ण रुपमा कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्‍यो।

अस्पतालको नयाँ भवन निर्माण गत भदौमा नै सकिएको हो। आवश्यक सरसामान आइनसकेकाले अस्पताल पुरानै भवनमा सञ्चालनमा रह्यो। नयाँ भवन खाली रहेकै कारण कोरोनाविरुद्धको लडाईमा बिरामी उपचार अवरोधविना गर्न सक्ने आत्मबल मिलेको डाक्टर खड्काले बताए। त्यहाँ उनीहरुले फिभर क्लिनिक राखे। ५० वटा शय्या राखे। आइसीयू, एनआइसीयू र भेन्टिलेटर तयार पारे। शय्या, मोनिटर लगायत सामाग्री केही अस्पतालकै पुरानो प्रयोग भए, केही भने सहयोगमा आए।

यही असारभित्र अस्पताल नयाँ भवनमा सार्ने योजनामा थियो। तर, योजना अनुरुप चल्ने भएन, कोरोनाको कहरले। त्यसैले यतिखेर नयाँ अस्पताल कोरोना संक्रमितको उपचारमा केन्द्रित छ। अर्कातिर अस्पतालले दिँदै आएको नियमित सेवा पनि अवरुद्ध भएको छैन। पुरानै भवनमा आकस्मिक सेवादेखि, ओपीडी र शल्यक्रिया पनि जारी नै छ।

लकडाउनका कारण टेन्डरमार्फत् मगाइएका सामान रोकिएको थियो। तर, नेपाल-भारत दुवैतिर लकडाउन केही खुकुलो भएको छ। व्यवसायहरु पुन: सञ्चालनमा आइरहेका छन्। निर्देशक खड्काका अनुसार अबको तीन साताभित्र अस्पताललाई आवश्यक सम्पूर्ण सामाग्रीहरु आइपुग्छन्।

'तीन सय शय्यासहित अस्पाताल तयार हुन्छ। तत्काललाई हामी पूरा भवनलाई कोरोना विशेष अस्पतालकै रुपमा प्रयोग गर्छौं,' उनले भने।

उनका अनुसार अस्पतालका कुल ३ सय शय्यामा २५ वटा आइसीयू हुनेछन्, १० वटा भेन्टिलेटर र १५ एनआइसीयू।

प्रदेश अस्पताल, कर्णालीमा हालसम्म लक्षण देखिएका र क्रिटिकल अवस्थाका बिरामी छैनन् जसका कारण उपचार सहज भएको छ। तर, विशेष उपचार आवश्यक पर्ने वा शल्यक्रिया आवश्यक पर्ने संक्रमित देखिएमा के गर्ने?

'हामीले कर्णाली प्रदेशमात्र होइन देशभरका संक्रमितमध्ये शल्यक्रिया आवश्यक पर्ने बिरामीको लागि बेग्लै तयारी गरेका छौं,' खड्काले पहिलोपोस्टसँगको कुराकानीमा सुनाए।

अस्पतालले ५ वर्ष यता फिस्टुला अस्पताल सञ्चालनमा ल्याएको छ। बेलायती गाइनेकोलोजिस्ट सेर्ले वुडद्वारा स्थापित एवं प्रदेश अस्पताललाई हस्तान्तरण गरिएको उक्त अस्पतालमा लामो प्रसव व्यथापछि महिलाले भोग्ने फिस्टुला प्वालको उपचार हुन्छ। महामारी फैलिएयता उक्त अस्पतालमा सेवाग्राही आएका छैनन्। त्यसैले १७ शय्यासहितको उक्त अस्पताल शल्यक्रिया वा विशेष उपचार आवश्यक पर्ने कोरोना संक्रमितका लागि प्रयोग गरिने डाक्टर खड्काले बताए।

+++

सुरुवाती दिनमा कोरोना भाइरसबारे निश्चित जानकारी सार्वजनिक भइसकेका थिएन। भाइरसलाई लिएर आम मानिसमात्र होइन चिकित्सक पनि आतंकित थिए। कर्णालीमा पहिलो पटक संक्रमित देखिएको खबर पुष्टि हुँदा एक किसिमको डर चुलिएको स्वीकार्छन् उनी।

सरकारले त मेडिकल गाउनमात्र दिएको थियो। सुरक्षा उपकरण पर्याप्त थिएन। अनुभव थिएन। बिस्तारै संक्रमित थपिँदै गए। प्रशासनदेखि फ्रन्ट लाइनमा उभिने स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई बानी पर्दै गयो। पीपीई लगायत अन्य सुरक्षा उपकरण सहयोगमा आए। केही अस्पतालले नै किन्यो।

शून्य संक्रमण र संक्रमित ह्वात्तै बढ्नु बीचको समय तयारीको अवसर बन्यो।

'कोरोनाबारे कसैलाई केही थाहा थिएन। विदेशमा यसले पारेको प्रभावबारे खबर पढिन्थ्यो। त्यस्तोमा डर लाग्नु स्वभाविक हो। तर, हामीले सुरक्षा नीति अपनायौं। संयमित बन्यौं। नआत्तिइ तयारी गर्यौं,' उनले भने।

सुरुमा स्वास्थ्य मन्त्रालयको निर्देशन अनुरुप दुईवटा मात्र आइसोलेसन बेड तयार गरेको अस्पताल अब ३ सय संक्रमित राख्न योग्य बन्दैछ। तर, बिरामी राख्न पर्याप्त ठाउँ हुनुबाहेकका चुनौती त प्रदेश अस्पताल, कर्णालीमा पनि छँदैछ।

'सुरक्षा उपकरणको गुणस्तर हो एउटा मुख्य समस्या। ल्याबमा अनि उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु गुनासो गर्नुहुन्छ। हामीले ठेक्कामा मगाएको सामाग्री एकैपटक आउँछन्। कस्तो हुन्छ प्रयोग नगरी थाहा नै हुँदैन,' डाक्टर खड्काले भने, 'चिकित्सक, स्वास्थ्यकर्मीहरु जोखिम मोलेर काम गरिराख्नु भएको छ।'

त्यस्तै, राजनीतिक व्यक्तिहरुले गर्ने निर्णय चुपचाप स्वीकार्नुपर्ने अवस्थालाई अर्को चुनौती मान्छन् उनी। अन्य समस्याका कारण मरेका व्यक्तिको कोरोना परीक्षण, पर्याप्त आइसोलेसन भएका जिल्लाबाट, लक्षण नदेखिएका वा बिरामी नभएका व्यक्तिहरुलाई पनि राजनीतिक शक्तिकै आडमा प्रदेश अस्पतालमा ल्याउनुपर्ने बाध्यता भोगिरहेका छन् चिकित्सकले।

'जुन कुरा आवश्यक नै हुँदैन। तर, राजनीतिक दल वा व्यक्तिहरुका कारण अस्वीकार गर्न मिल्दैन,' उनले भने।

हाल कोरोना विशेष अस्पतालमा ३ चिकित्सक र ३ नर्स खटिएका छन्। १ जना कार्यालय सहयोगी पनि। आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहन्छन् डाक्टर डम्बर खड्का, डाक्टर नवराज केसी र डाक्टर केएन पौडेल।

हालसम्मका लागि खटिएका टोलीको सेवा पर्याप्त छ। संक्रमितहरु संक्रमण मुक्त भएर घर फर्किइरहेका छन्। अवस्था भयावह बनेको खण्डमा भने चिकित्सक अपुग हुनसक्ने डाक्टर डम्बरको अनुमान छ। 'नर्सको अभाव नहोला तर चिकित्सकको अभाव भोग्नुपर्ने हुनसक्छ। किनकि क्रिटिकल केसका संक्रमित आएको अवस्थामा प्रति विरामी एक डाक्टर खट्नै पर्छ। फेरि उपचारमा संलग्न भए पछि आइसोलेसनमा बस्नु पर्‍यो। आलोपालो गर्नुपर्‍यो,' उनले भने।

तयारी जति राम्रो गरे पनि महामारीको समयमा सबै 'अपुग' हुने यथार्थतालाई स्वीकार्छन् उनी। 'तर पनि जोखिम मोलेर खट्ने जनशक्ति तयार थियो र अवस्था सहज छ। बढ्दो संक्रमणसँगै देखिनसक्ने अभाव र समस्याका लागि भने प्रदेशदेखि केन्द्र सरकार तयार रहनु पर्छ,' उनले भने।

उनले कर्णालीमात्र नभइ अन्य प्रदेशमा पनि जनशक्ति थप्नुपर्ने र परीक्षणको दायरा फराकिलो बनाउनु पर्ने सुझाव दिए। 'जनशक्ति अभाव छ भनेर र कर्मचारी माग गरेरमात्र चाहिँ हुँदैन। भत्ता बढाउनु पर्‍यो। अहिले दिइराखिएको त साह्रै कम छ,' उनले संक्रमितको उपचारका लागि खटिएकालाई दिइने भत्ता र बीमा रकम बढाउनु पर्ने विषयमा जोड दिए।

+++

प्रदेश अस्पताल, कर्णालीले पहिलो पटक जेठ २३ गते ७ जना कोरोना संक्रमण मुक्त भएकाहरुलाई कार्यक्रम आयोजना गरी बिदा गर्‍यो। निर्देशक डाक्टर डम्बर खड्काले उनीहरुलाई खादा लगाइदिए। अंकमाल गरे। संक्रमण मुक्त भएकोमा बधाई दिए। कारण – सामाजिक संदेश प्रवाह गर्नु।

'संक्रमित बढेसँगै आम मानिस त्रसित् थिए। आवश्यक स्याहार र सावधानी पछि संक्रमित ठीक हुन्छन् भन्ने संदेश प्रवाहका लागि पनि कार्यक्रम आयोजना गरेका थियौं,' उनले भने। कार्यक्रममा प्रदेशका मुख्यमन्त्री लगायतको पनि उपस्थिति थियो।

हालसम्म कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ। शनिवारसम्म संक्रमितको संख्या ९ सय १२ पुगेको र २५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell