PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

हत्या र आत्महत्याको भूमरीमा शम्भु सदाको शव, रोकियो अन्त्यष्टि



सुमित मिश्र

हत्या र आत्महत्याको भूमरीमा शम्भु सदाको शव, रोकियो अन्त्यष्टि

जनकपुरधाम : जेठ १२ गते। २३ वर्षीय शम्भु सदा मुसहर ट्याक्टरमा माटो लोड गरेर आफ्नो गन्तव्यतिर लागे। धनुषा सवैला नगरपालिका वडा नम्बर १२ स्थित बरकुर्वाका शम्भु सदा मुसहरका लागि यो दिन अन्य दिन झैँ सामान्य भने बनेन।

अकल्पनीय घटना घट्यो। साहुको ट्याक्टर चलाएर सामान्य जीवनयापन गर्दै आएका सदाले चलाएको ट्याक्टरले एक महिलालाई ठक्कर दियो। सवैला वडा नम्बर १३ बस्ने ५५ वर्षीय सुमित्रा देवी साह भुँइमा पछारिन्। चोटको कारण रगत बग्न थाल्यो। सदा आत्तिए।

एक छिनमा गाउँलेको भिड लाग्यो। मानिसले चालक शुम्भुलाई घेरा हाले। उनी त्रसित बने। के गर्ने? कसो गर्नै? उनीसँग भिडबाट भाग्नुको कुनै विकल्प केही देखेनन्। अन्ततः त्यही विकल्प रोजे। ट्याक्टर साहुको थियो। यति ठूलो दुर्घटनाका कारण उनी आत्तिएका थिए। भागेर सुरक्षित भएको अनुभूति गरेपछि उनले साहुलाई फोन गरे।

ट्याक्टर मालिक सञ्जय साहले केही सान्त्वना दिए। सवारीको लाइसेन्स भएकाले नआत्तिन र प्रहरीमा आत्मसमर्पण गर्न सल्लाह दिए। उनी साहको करिब ३ महिनाअघि देखि ट्याक्टर चलाउँदै आएका थिए। यता घाइते सुमित्राको अवस्था गम्भीर बन्दै गएको थियो। स्थानीयले उपचारको लागि अस्पताल दौडाए। तर, अस्पताल नपुग्दै सुमित्राको सास गयो। सदालाई अब सवारी ज्यान मुद्दा चल्ने भयो।

सदासामु कानुनी बाटोमा जानुभन्दा अर्को विकल्प थिएन। इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा थुनिएका थिए सदा। तर, २७ गते फेरि अर्को अकल्पनीय घटना घट्यो। अब त्यो घटनाको पीडा उनले होइन परिवारले भोगिरहेका छन्। उनी त अब यो संसारमा नै छैनन्।

प्रहरी कार्यालय सबैलाईको हिरासत कक्षभित्र सदा मृत अवस्था फेला परे। हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीको दाबी छ। तर, मृतकका आफन्त पत्याउन तयार छैन। उनीहरू प्रहरीले नै हिरासतभित्र सदालाई मारेको आरोप लगाइरहेका छन्। सदाकी आमा सलिया देवीलाई छोराले हिरासतमा हुँदा भनेको कुरा सम्झिँदा अहिले पनि भक्कानो फुटेर आउँछ।

‘आमा मलाई चाँडो छोडाउनुस्, नभए मलाई यहीँ मार्छ,' छोरोको मृत्युले विक्षिप्त बनेकी सलिया देवीले भनिन्। आखिर सदाले आमालाई किन पटकपटक हिरासतबाट ननिकाले मरो ज्यान जान्छ भनेका थिए? हिरासतभित्र नै उनले किन असुरक्षित महसुस गरेका थिए?

त्यतिखेर छोराको कुरा सुनेर आमा सलियादेवी निकै डराएकी थिइन्। त्यसपछि उनले साहु सञ्जयलाई छोरालाई चाँडो छुटाउन हारगुहार गरिनन्। तर, साहु सञ्जयको पहुँचबाट बाहिर गइसकेको थियो, छुटाउने कुरा। सदाले चलाएको ट्याक्टरले एक महिलाको मृत्यु भएको थियो।

तर, सञ्जयले सदाको आमाको मनको कुरा बुझ्दै झुटै आश्वासन दिए - अब छुट्छ। बरु क्षतिपूर्तिको लागि पाँच लाख रुपैयाँ जोहो गर्नसमेत सल्लाह दिए।

आफ्नै हिरासतभित्र भएको घटनाले प्रहरीलाई समेत समस्यामा पारेको छ। आफन्तले हत्या गरेको आरोप लगाएपछि प्रहरीलाई झनै सकस थपिएको हो। राति डेढ बजेतिर शौचालय गएका सदा फर्किएर नआएपछि हेर्न जाँदा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले बताए।

'धारा खुला रहेको हुनाले लामो समयदेखि नै पानीको आवाज सुनिरहेको थियो। त्यसैले पनि शौचालयभित्र के गर्दै छ भनी हेर्न गयो। ढोका ढकढकाएपछि उनले भित्रबाट ढोका खोलेनन्। पछि ढोकाको चुकुल बाहिरबाट खोल्नको लागि प्रहरी निरीक्षक सहित अन्य प्रहरीलाई समेत बोलाएको थियो।'

त्यसपछि प्रहरीले चुकुल खोलेर हेर्दा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। 'चुकुल बाहिरबाट खोलेर हेर्दा उनले लगाएको लुगामा बेरिएको र भेन्टिलेटरमा पासो लगाएर झुन्डिएको देखे। उनले तत्कालै प्रहरी निरीक्षकलाई र उनले मलाई फोन गरे,' डिएसपी कार्कीले भने।

त्यसपछि मृतकको परिवार (आमा)लाई लिएर आएको थियो। तर, आमा शव देख्ने बित्तिकै त्यही अचेत भएर ढलेकी थिइन।

अझै उठेन शव...

मृत्यु भएको यतिका दिन भइसक्दा पनि सदाको अझै अन्त्येष्टि भएको छैन। हत्या कि आत्महत्या भन्ने विवाद बढिरहँदा शव आफन्तले बुझेका छैनन्। परिवार तथा स्थानीयले छानविनको माग सहित पोस्टमार्टममा अवरोध सृजना गरेपछि शव अलपत्र परेको हो। गत बुधवार राती २ बजे शवको मुचुल्का उठाई मृतकका आमा शिपाली सदाको सही छाप लिई राती नै लिई शव जनकपुरस्थित प्रादेशिक अस्पताल पठाएको थियो।

मृतकका आफन्तले प्रहरी हिरासतको शौचालयमा, कमिज र भेस्टले घाँटीमा बाँधी, मुखमा कपडा कोचेर आत्महत्या गर्न नसक्ने भन्दै न्यायिक छानबिनको माग अडान लिएपछि शव अलपत्र परेका छ

दलित अधिकारमर्मी राजाराम मण्डल घटना शङ्कास्पद भएको दाबी गर्छन्। मृतकको मुखमा सर्ट र अन्य कपडा कोचिएकोमा उनले शङ्का छ।

'साहु र प्रहरीले पनि शम्भुलाई धाकधम्की दिन्थ्यो। गाडीबाट मृत्यु भएमा ५ लाख रुपैयाँ दिइन्छ। उनीसँग गाडी चलाउने लाइसेन्स भएकाले डरको कुनै कुरा नै छैन। त्यसैले पनि उनी प्रहरीसमक्ष गएर आत्मसमर्पण गरेको थियो। केही दिनको हिरासत बसाइपछि कानुनी प्रक्रिया अनुसार उनी छुट्थ्यो। तर किन प्रहरीले हिरासतमै मार्‍यो?,' उनले भने।

घटनाको छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने उनले बताए। मुसहर अधिकारर्की चन्देश्वर सदा पनि घटनामा शङ्का व्यक्त गर्छिन्। 'शम्भुको हत्या गरिँदासमेत कोही बोल्न नचाहेकाले छानबिन समिति बनाएर निष्पक्ष छानबिन नगरिए लगातार आन्दोलन गरिरहनेछौँ,' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell