PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

संक्रमितको संख्या बढेसँगै भारतमा फेरि 'पूर्ण लकडाउन' हुन सक्छ ?



संक्रमितको संख्या बढेसँगै भारतमा फेरि 'पूर्ण लकडाउन' हुन सक्छ ?
PHOTO : ARUN SANKAR/AFP VIA GETTY IMAGES

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख नाघिसकेको छ। मध्ये जेठमा ३० दिनका लागि लकडाउन बढाएको भारतमा केहीदिनयता दैनिक करिब १० हजार जनामा भाइरसको संक्रमण देखिएको छ। ३० दिन लकडाउन बढाएपनि संक्रमित क्षेत्र छुट्याएर भारतभर लकडाउन खुकुलो गरिएको थियो।

लकडाउन खुकुलो भएसँगै जनजीवन सामान्य तर्फ फर्कने प्रयासमा छ। तर, संक्रमितको संख्या ह्वात्तै बढेको छ। यसबीच भारतमा फेरि पूर्ण रुपमा लकडाउन लागू गर्नेबारेमा छलफल भइरहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।  

यद्यपि, भारतको केन्द्र सरकारले फेरि पूर्ण रुपमा लकडाउन लगाउने बारेमा कुनै प्रतिक्रिया दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका मुख्यमन्त्रीहरुसँगको भिडियो टेलिकन्फरेन्स मार्फत गर्ने बैठकमा यस विषयमा छलफल हुन सक्ने जनाइएको छ।

इकोनोमिक टाइम्सका अनुसार उक्त बैठकमा शहरी क्षेत्रमा रहेको 'संक्रमित जोन' हरुमा लकडाउनमा कुनै छुट नदिने बारेमा चर्चा हुन सक्छ। शहरी संक्रमित क्षेत्रमा हरेक घरमा एकजनाको कोरोना परीक्षण गर्ने, भौतिक दुरी कायम गर्ने, फेस मास्क लगाउने लगायतका सावधानी अपनाउने बारेमा मोदीले मुख्यमन्त्रीहरुलाई निर्देशन दिन सक्ने उल्लेख गरिएको छ।

लकडाउन खुकुलो गर्दै केन्द्र सरकारले धेरै जिम्मेवारी राज्य सरकारहरुलाई दिएको थियो। तर. भारतको केन्द्र सरकारलाई लकडाउन खुकुलो भएसँगै केही राज्यहरुको स्थिति बिग्रिएको रिपोर्ट प्राप्त भएको जनाइएको छ।

संक्रमितको संख्या यही गतिमा बढ्दै गए फेरि पूर्ण रुपमा लकडाउन गर्न सरकारलाई विज्ञहरुले सुझाव दिएका छन्। तर मोदी सरकार हाललाई फेरि पूर्ण लकडाउन गर्ने पक्षमा नरहेको जनाइएको छ।

केन्द्र सरकार 'संक्रमित जोन' को पहिचान गर्दै लकडाउन सहज बनाउने पक्षमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell