PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

चीनमा कोरोनाको दोस्रो लहर : सपिङ मार्केटबाट भाइरस फैलिएको अनुमान, बेइजिङमा भेटिए ३६ नयाँ संक्रमित



चीनमा कोरोनाको दोस्रो लहर : सपिङ मार्केटबाट भाइरस फैलिएको अनुमान, बेइजिङमा भेटिए ३६ नयाँ संक्रमित
PHOTO: GETTY IMAGES

चीनमा कोरोना भाइरसको दोस्रो लहर देखिन सुरु भएको छ। बीबीसीका अनुसार बेइजिङमा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यी सबै स्थानीय स्तरबाट नै फैलिएको उल्लेख गरिएको छ। गत शनिवारमात्रै बेइजिङमा नै ३६ जनामा नयाँ संक्रमण देखिएको हो।

चीनको वुहानबाट विश्वभर फैलिएको भाइरसको संक्रमण चीनमा पछिल्लो दुई महिनायता घट्दै गएको थियो। बेइजिङमा ५० दिनसम्म कोरोनाको कुनै केस नदेखिएकोमा अहिले फेरि नयाँ संक्रमितहरु देखिएका हुन्। नयाँ संक्रमितहरु पहिचान भएसँगै बेइजिङवासीहरुलाई सतर्क रहन र सुरक्षित उपाय अपनाउन आग्रह गरिएको छ।

बेइजिङमा नयाँ संक्रमण एक सुपरमार्केटबाट फैलिएको अनुमान गरिएको छ। संक्रमण फैलिएपछि उक्त मार्केटका जेनरल मेनेजरसहित अन्य अधिकारीहरुलाई बर्खास्त गरिएको छ।

स्थानीय मिडियाका अनुसार उक्त मार्केटमा बिक्रीमा राखिएको 'चपिङ बोर्ड'मा भाइरस भेटिएको छ। उक्त बोर्ड आयातित माछाहरु काट्न प्रयोग गर्ने गरिएको थियो। नयाँ संक्रमितहरुको ट्रेसिङ गर्दा उनीहरुको सम्बन्ध यही मार्केटसँग देखिएको थियो।  

एसियाकै सबैभन्दा ठूलो होलसेल मार्केट भनिएको बजारबाट कोरोना पुन: फैलिएसँगै अन्य मार्केटहरुमा समेत प्रतिबन्ध लगाइएको छ। उक्त मार्केट नजिकै रहेका विद्यालयहरु समेत बन्द गर्न भनिएको छ।

बेइजिङबाट नै हुबई,सिन्चुवान,लिओनिङमा समेत कोराना भाइरसको नयाँ केसहरु देखिएको जनाइएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार गत बिहिवार दुई महिनामा पहिलोपटक बेइजिङमा कोरोनाको  एक नयाँ केस देखिएको थियो। शुक्रवार भने थप ६ जनामा संक्रमण देखिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell