PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

जब आफ्ना विरोधीलाई ‘ब्ल्याक लाइभ्स् म्याटर’ प्रदर्शनकारीले काँध हाले...



जब आफ्ना विरोधीलाई ‘ब्ल्याक लाइभ्स् म्याटर’ प्रदर्शनकारीले काँध हाले...
फोटो : Getty Images

अमेरिकामा अफ्रिकी अमेरिकी समुदायका जर्ज फ्लोयडको प्रहरीले नियन्त्रणमा लिने क्रममा मृत्यु भएपछि अमेरिकालगायत विश्वका विभिन्न स्थानमा रंगभेदविरुद्ध ‘ब्ल्याक लाइभ्स म्याटर’ प्रदर्शन चर्किएको छ। सो क्रममा एक ‘ब्ल्याक लाइभ्स म्याटर’ प्रदर्शनकारीले घाइते भएका प्रदर्शन विरोधी श्वेत व्यक्तिलाई काँधमा राखेर सुरक्षित स्थानतिर लगेको भिडियो भाइरल भयो। लण्डनमा भएको प्रदर्शनमा सो दृश्य देखिएको हो।

‘मेरो ध्यान सम्भावित भयानक अवस्था टार्नेतर्फ थियो। अचानक ‘ब्ल्याक लाइभ्स् म्याटर’ प्रदर्शन हिंसामा परिणत हुनेवाला थियो, त्यस्तो नहोस् भन्ने मैले चाहेको थिएँ,’ प्याट्रिक हचिनसनले सीएनएनलाई बताए।

पर्सनल ट्रेनर तथा मुई थाई फाइटरसमेत रहेका हचिनसनले आक्रोशित प्रदर्शनकारीहरुका बीच घाइते विरोधीलाई बोकेको भिडियो भाइरल भएको थियो। सेन्ट्रल लण्डनस्थित पर्यटक केन्द्रमा भएको झडपमा उक्त व्यक्ति घाइते भएका थिए।

भिडको बीचबाट घाइतेलाई हचिनसनले बोकीरहँदा अन्य केही ‘ब्ल्याक लाइभ्स म्याटर’ प्रदर्शनकारीहरुले सुरक्षा दिइरहेका थिए।

ती व्यक्ति जर्ज फ्लोयड प्रदर्शनको विरोधमा उत्रिएका सयौँ व्यक्तिमध्येका एक भएको एक प्रत्यक्षदर्शीले रोयटर्सलाई बताएका छन्।

आफूले प्रदर्शनकारीहरुले घेरिएका एक व्यक्ति जोखिमपूर्ण अवस्थामा देखेपछि उनलाई आफ्ना साथीहरुको सहयोगमा प्रहरीको पुर्‍याएको हचिनसनले सीएनएनलाई बताए।

‘मैले उनलाई बोकेँ, मेरा साथीहरुले मलाई र उक्त व्यक्तिलाई सुरक्षा दिई रहेका थिए। उसमाथि मुक्का बज्रिरहेको थियो। उसलाई मानिसहरु अझै कुटपिट गर्न चाहन्थे,’ हचिनसनले भने।

उनले थपे, ‘उक्त व्यक्तिलाई बचाउन चाहने मानिसहरु पनि थिए। मैले उनलाई बोकेर प्रहरी भएको स्थानसम्म पुर्‍याएँ। त्यहाँ रहेका एक प्रहरीले राम्रो काम गरेको भन्दै धन्यवादसमेत दिए।’

हचिनसनलाई झडपका क्रममा सहयोग गर्नेहरुमध्येका एक पियर नोवा पनि हुन्।

‘मैले त्यतिबेला दुई पक्षको जीवन बचाइरहेको थिएँ। झडपमा कुटाइ खाने व्यक्तिलाई त बचाएँ नै तर संभावित रुपमा आजीवन कारावासको सजायको भागिदार हुन सक्ने युवाको पनि जीवन बचाएँ,’ बडीगार्डको रुपमा कार्यरत नोवाले बीबीसीलाई बताए।

एउटा इतिहास बन्ने क्रममा रहेकाले आफू ‘ब्ल्याक लाइभ्स् म्याटर’ प्रदर्शनमा सहभागी भएका हचिनसनले बताएका छन्। सो अभियानको पक्षमा लाग्नु बुद्धिमतापूर्ण रहेको उनी बताउँछन्।

‘म सबैको लागि समानता भएको हेर्न चाहन्छु। म बुवा र हजुरबुवा हुँ, म मेरा छोरा नाति तथा भाइ बहिनीहरुको लागि मैले भोगेकोभन्दा सहज परिस्थिति होस् भन्ने चाहन्छु,’ हचिनसनले भने।

उनले थपे, ‘मैले भोगेको संसार मेरा बुवा र हजुरबुवाको समयभन्दा राम्रो छ र सबैको लागि समानताको परिस्थिति कायम नहुन्जेलसम्म अवस्था सुधार हुँदै जानेछ भन्ने आशा छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell