जनकपुरधाम : प्रदेश नम्बर २ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट प्रस्तुत गरेको छ। प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट सदनमा प्रस्तुत गरेका छन्।
प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको अघिल्लो वर्षभन्दा ५ अर्ब कमको बजेट ल्याएको हो। चालु आर्थिक वर्षका लागि प्रदेश सरकाले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो।
आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको कुल बजेट ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारमध्ये चालुतर्फ ४५.९५ प्रतिशत अर्थात १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार, पुँजीगत तर्फ ५३.६७ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार र वित्तीय व्यवस्था तर्फ ०.४८ प्रतिशत अर्थात १६ करोडको बजेट छुट्याइएको छ। प्रदेश सरकारले बजेटको व्यवस्थापन आन्तरिक राजश्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार, नेपाल सरकारको तर्फबाट अनुदान १३ अर्ब ४० करोड ५९ लाख र चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब ९१ करोड २२ लाख २९ हजार रकमको व्यवस्थापन गरिने छ।
बजेटमा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत २ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ। त्यस्तै, स्थानीय तहहरुको सशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदानका लागि २ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेको हो।
आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा कोरोनाका कारण स्वास्थ्य क्षेत्रमा परेको प्रतिकुल असरलाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकताका साथ समावेश गरिएको छ। यसका साथै कोरोना महामारीका कारण अर्थतन्त्र खस्केको, बेरोजगारी दर बढेकोले यसपालीको बजेटमा स्वास्थ्य, कृषि, शिक्षा, रोजगारी सिर्जना तथा पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ।
यसैगरी, आगामी बजेटमा केही पुरानै कार्यक्रमहरुलाई समेत विशेष प्राथमिताका साथ समावेश गरिएको छ। बजेटमा कोरोना महामारीको पहिचान, रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्न र प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई सुदृढ बनाउनका लागि ७० करोड २७ लाख रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै, प्रदेश क्यान्सर अस्पताल निर्माणका लागि २ करोड, ट्रमा सेन्टरका लागि २ करोड र सरुवा रोग तथा महामारी रोग नियन्त्रणका लागि १ करोड रकम विनियोजन गरिएको छ।
जनकपुरधामको प्रादेशिक अस्पतालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्नका लागि ४५ करोड ५३ लाख, सप्तरीको भारदह अस्पतालको स्तरोन्नतिका लागि ६ करोड ७९ लाख र पर्साको पोखरिया अस्पतालको विकासका लागि ४ करोड ४ लाख रकम विनियोजन गरिएको हो। प्रदेशमा स्थानीय निकायको सहकार्यमा सर्पदंश उपचारका लागि एन्टी भेनम उत्पादन गर्न अध्ययन अनुसन्धान केन्द्रको स्थापना र संचालन गर्नका लागि ५ करोड ५४ लाख बजेट विनियोजन गरिएको छ।
प्रदेश सरकारले केही आफ्ना पुरानै कार्यक्रमहरुलाई निरन्तरता दिँदै बजेट विनियोजन गरेको छ। बेटी पढाउ बेटी बचाउ अभियानका लागि ३० करोड, सोही कार्यक्रमको अन्य खर्चको व्यवस्थापनका लागि २४ करोड ८६ लाख, मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत विभिन्न पोखरीहरुको सौन्दर्यीकरणका लागि ५३ करोड ४० लाख रकम बजेट विनियोजन गरिएको हो।
त्यस्तै, चुरे क्षेत्रको संरक्षण गर्न चुरे क्षेत्रको बालुवा तथा गीटी उत्खनन रोक्नका लागि २१ करोड, चुरे क्षेत्रमा जलाशय निर्माण तथा मनोरञ्जनात्मक स्थलको डिजाइन निर्माणका लागि ३ करोड बजेट विनियोजन गरिएको छ। सीमसार क्षेर संरक्षणका लागि ३ करोड, साझेदारी बन, सामुदायिक बन, चक्ला बन, साविजर्नक बनको दिगो व्यवस्थापन र बनजन्य उद्यम विकास कार्यक्रमका लागि ४१ करोड बजेट विनियोजन गरिएको छ।
प्रदेश २ को अर्थतन्त्रको मुख्य मेरुदण्ड कृषि रहेकोले कृषि उत्पादनमा वृद्धिका लागि सिचाईको व्यवस्था उपलब्ध गराउनका लागि समेत बजेट उपलब्ध गराइएको छ। यसका लागि ठूला र मझौला सिचाई आयोजना सञ्चालनका लागि ७६ करोड ७७ लाख, भूमिगत सिँचाई आयोजनाका लागि ५६ करोड ५५ लाख, सतह सिँचाई आयोजनाहरुको मर्मत सम्भारका लागि १ करोड ६० लाख र पुरानो खानेपानी आयोजनाहरुको मर्मत सम्भारको लागि ९ करोड ३५ लाख बजेट विनियोग गरिएको छ।
प्रत्येक निर्वाचन क्षेत्रमा एक नालासहितको २ लेन कालोपत्रे ५ किलोमिटर सडक निर्माण गर्न कुल ६४ सडकका लागि ६७ करोड २० लाख बजेट विनियोजन गरिएको छ। प्रदेशको सप्तरीदेखी पर्सासम्मको मधेसी सहीद राजमार्ग निर्माणका लागि डीपीआर निर्माण गर्न ३ रकम विनियोजन गरिएको छ।