PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

स्याङ्जामा भेटिएको अनौठो जन्तु : मान्छेसँग ४ घण्टा बसेपछि वनतिर जान मानेको थिएन!



स्याङ्जामा भेटिएको अनौठो जन्तु : मान्छेसँग ४ घण्टा बसेपछि वनतिर जान मानेको थिएन!

  • राजु आचार्य-

स्याङ्जा, वालिङ-१० का  बद्रीबहादुर खवास  मकै गोड्दै  थिए। श्रीमती देवीकला नजिकै कान्लामा घाँस काट्दै थिइन्। बिहानको ११ बजेतिर श्रीमतीले भारी पुर्‍याइन्। बद्री अझै पनि मकै गोड्न  व्यस्त थिए। उनले बुढातिर फर्किएर भनिन्, ‘जाने हैन घर, मलाई त भोक लाग्यो।’

उनको घरदेखि केही परमात्र  बारी छ। सोही  बारीको केही पर निजी वन र त्यही निजी वनसँग जोडिएको सामुदायिक वन छ। जसलाई स्थानीयहरू पेखु सामुदायिक वन भन्छन्। चिलाउने, कटुस, टुनीको यो वनमा  हावा नचल्दा निकै गर्मी हुन्छ। समुन्द्र सतहदेखि करिब ११०० मिटरमाथि थियो यो ठाउँ। वनमा खोल्साहरू पनि छैनन्। त्यसैले पनि यो वनमा सधैं  सुक्खा अनुभव हुन्छ।

केही परको मकै हल्लियो। मन मनै देवीकला बरबराइन्, ‘यी जेमराजले यसपाली पनि मकै नछोड्ने भए।’

हल्लेको ठाउँ तिर देखाइन् श्रीमानलाई। बद्री  कराए। मकैको पातहरू झन् हल्लिन थाल्यो। उनले हेरे र आश्चर्य माने। तलको घाँस पनि हल्ली रहेको थियो।उनी नजिक पुगे, त्यहाँ अनौठो जन्तु  देखे। बँदेल जस्तो लाग्यो। तर रङ फरक थियो। सानो थियो, तर समाउन डर लाग्यो। यस्तो अनौठो जन्तु त समाएर गाउँ लैजानु पर्छजस्तो लग्यो  उनलाई। उनले आफूसङ्ग भएको पुरानो छाता खोले र एउटा मोटो लट्ठीको सहायताले त्यो जन्तुलाई छातामा राखे र छाताको पोको पारे। समाउने बेला सुँगुर जसरी  कराएको थियो।

उनी जन्तु र बाउसो बोकेर हिँडे, पछिपछि श्रीमती। घर पुगेपछि छिमेकी लाहुरे दाइलाई बोलाए। उनले पनि उक्त जन्तुलाई  चिनेनन्। उनले सानो त्यो जन्तुलाई डोकोले थुने। खाना खाए। श्रीमतीलाई ख्याल गर्नु भन्दै बाख्रा चराउन वनतिर लागे।

उनका घरमा लाहुरेबाहेक अरू छिमेकी पनि भेला हुन थाले।

एकजनाले भन्यो, ‘ओहो यो त वन बिरालो हो।’ 

‘मलाई नि त्यस्तै लागेको थियो । यसले त मुसा निकै खा,न्छ’ अर्कोले थप्यो।

‘होइन यसले त फलफूलमात्र खान्छ,’ उसले त्यो जन्तुतिर हेर्दै थप्यो ‘ला ला खा।’

स्थानीयले  आरु दिए, खाएन उसले। अर्कोले मसिनो घाँस दियो, त्यो पनि खाएन। गाउँमा यतिखेर फलेका सबै फलफूल दिइसकेका थिए। त्यो अजीवको जन्तुले केही पनि खाएन। मोबाइलले फोटो खिच्नेहरूको भिड बढ्दै गयो। रोशनी थापाले पनि खिचिन्।

त्यो जन्तुले भैँसीको दूध भने पियो। एउटाले हुलबाट भन्यो ‘दूध खान पल्केको रैछ र पो अरू केही नखाएको।’

यतिखेर सो जन्तु आँगनमा खेली रहेको थियो। सबै कुरा खाने सर्वभछी हो भन्ने कुरा कसैलाई पनि थाहा भएन। सबैले अनुमानमात्र  गर्नुको पछाडिको मुख्य कारण भनेको अहिलेसम्म यसलाई कसैले पनि नदेख्नु नै हो।

स्थानीय शिक्षा प्रेमी सुरेश अर्यालले डिभिजन वन कार्यालयमा फोन गरेर जानकारी गराए। उनले फोटो खिचे र पठाए पनि। आफ्नो फेसबुकमा समेत पोस्टाएl सुरुमा डिभिजन वन कार्यालयबाट पनि नीर बिरालो नै हो कि भनेर अनुमान गरिदियो। सुरेश अर्याललाई भने यसको नाम देखि चित्त बुझेको थिएन। वास्तवमा यस्तो जन्तु उनले जीवनमा पहिला देखेका थिएनन्। नीर बिरालो होइन जस्तो लागिरहेको थियो उनलाई।

त्यो दिन बद्री छिट्टै फर्के। बाख्रा चराउँदा पनि उनको मनमा त्यो अनौठो जन्तुबारे मात्र कुरा खेलिरह्यो। दिउँसोको २ बजिसकेको थियो। उक्त अनौठो जन्तु कसले पाल्ने, कानुनी झन्झट पो हुने हो कि, पाल्ने खर्च कसले बेहोर्ने आदि आदि बारेमा निकै छलफल भयो। यस्तै जीवहरुको कारणले कोरोना फैलिएको पनि सुनेका थिए। सबैले वनमै छाडिदिने बारे सामुहिक निर्णय भयो। फेरि बद्री सकृय भए।

‘ल हिँड् तेरै घर, हाम्रो घर बसेर नि हुन्छl तेरी आमाले कति खोज्दी हो।’ बद्रीले सानो डोकोमा हाल्ने बेला सबैले सुन्ने गरी बोले।

बद्रीले करिब तिन बजेतिर सुरुमा समातेको  ठाउँभन्दा १० मिटर पर छोडे।

‘जा जा,’ भने। तर त्यो जान मानेन। उनी कराए, उ तर्स्यो। बद्री घरतिर फर्कन लागे तर त्यो जन्तु त उनकै पछि पो लाग्यो। उनी माथिल्लो गह्रा उक्लिए। उनी लुक्न खोजे। त्यो जन्तु निकै समय सम्म यता र उता गरी रह्यो। त्यसै छोड्न पनि मन लागेन। फेरि कराए। त्यो जन्तु नजिकैको बाँस घारीतिर लाग्यो। एकपटक फर्क्यो, हेर्‍यो र वनतिर लाग्यो। उसले धन्यवाद भनेको बद्रीले बुझे।

भोलिपल्ट गाउँमा हल्ला चल्यो ’त्यो प्रजाति नर भालु हो भनेर।’  बद्रीले  केही दिनपछि थाहा पाए त्यो अनौठो भनिएको जन्तु ‘सानो सुँगुरे भालु’ रहेछ। यो घटनापछि अन्नपूर्ण पोस्टमा समाचार बन्यो इलाम र झापामा मात्र पाइने यो वन्यजन्तु स्याङ्जामा पहिलो पटक भेटिएको भनेर। प्रजातिको नाम पनि फरक परेको थियोl समाचारले गलत तरिकाले भालुको बारेमा मात्र बयान गरेको थियो। अर्को दिन कान्तिपुरले समाचार बनायो नेपालमा दोस्रो पटक भेटेको भनेर।

यो भालु हो त?

मिडियाले भालु नै भनेर समाचार प्रकाशित गरेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रका युवा 'वन्यजन्तु अनुसन्धान अधिकृत' बाबुराम लामिछानेले यो प्रजातिको नाम सानो सुँगुरे भालु भए पनि यसको भालुसँग कुनै सम्बन्ध नभएको बताएका छन्। उनले उक्त अनलाइन लेखको पुछारमा कमेन्ट गरेका  छन्, ‘भालुका बेग्लै तीन प्रजाति नेपालमा पाइन्छन्।’  

प्राध्यापक एवम् वरिष्ठ वन्यजन्तु विज्ञ करनबहादुर शाह भन्छन्, ‘यो प्रजातिबारे स्थानीयहरू अनविज्ञ छन्। त्यसैले यिनको नेपाली नाम थिएन। म र डाक्टर हेमसागर बरालले नामको बारेमा सल्लाह गर्‍यौँ। यो सल्लाह ‘नेपालका स्तनधारी वन्यजन्तुहरू’ पुस्तक लेख्ने क्रममा भएको थियो।’ उनले थपे, ‘यो प्रजातिको सुँगुरको जस्तो थुतुनो थियो। भालुको जस्तै तर साना पन्जाहरू थिए। शरीरमा रौँ पनि थियोl त्यसैले 'सानो सुँगुरे भालु' नाम दिएको हो।’ मिडियामा आए जस्तो भालु भने हैन।’

यो प्रजाति मुस्टेलीड परिवारमा पर्छन्। जुन मलसाप्रो, ओत, पोलक्याटसङ्ग नजिक हुन्छन्। यसको अर्थ यिनीहरू जमिन र पानी दुवैमा बस्न सक्ने भन्ने पनि हुन्छ। तर लमजुङमा भेटिएको एउटा सानो सुँगुरे भालु खोलामा डुबेर मरेको भेटिएको थियो। प्राध्यापक शाह पनि यो प्रजाति पौडी खेल्छ भन्ने कुरामा शङ्का रहेको बताउँछन्। उनी भन्छन्, ‘वास्तवमा यो प्रजातिको बारेमा नेपालमा मात्रै होइन विश्वभर नै जानकारी कम छ।

कसरी पहिचान भयो त?

सुरेश अर्यालले पहिलो पटक डिभिजनल  वन अधिकृत कोमल राज काफ्लेलाई फोटो पठाएपछि निर बिरालो हो कि भन्ने अनुमान गरियो। इन्टरनेटमा हेर्दा निर बिरालो सङ्ग मिल्दो थिएन। काफ्लेले फोटो डिभिजन वन अधिकृतहरूको देशव्यापी सञ्जालमा पठाए। पहिचान हुन् ढिलो भयो। मकवानपुरका डिभिजनल  वन अधिकृत इमनाथ पौडेलले प्राध्यापक शाहलाई पहिचानको लागि अनुरोध गरे। सो प्रजातिको पहिचान सहजै भयो। सो बेलासम्म डिभिजनल वन कार्यालयको टिम  पनि ‘सानो सुँगुरे भालु’ हो भन्नेमा पुगी सकेको थियो।

के स्याङ्जामा पहिलो पटक र नेपालमा दोस्रो पटक  भेटिएको हो?

सन् १८२० देखि १८४३ सम्म विभिन्न पटक गरी नेपालमा बसेका  ब्रिटिस वैज्ञानिक ब्राइन होग्सनले नेपालबाट सुँगुरे भालुहरु  सङ्कलन गरेका थिए। सोमध्ये एक राप्तीखोला आसपासबाट सङ्कलन गरिएको उल्लेख छ। सो समयमा सानो सुँगुरे भालु बेग्लै प्रजाति भनेर निर्क्योल भैसकेको थिएन। यसपछिका सबै प्रकाशनहरुमा सो प्रजातिबारे उल्लेख भए पनि होग्सनको प्रकाशन नै मुख्य रुपमा आधार मानेको देखिन्छ।

सन् १९९५ मा राजेन्द्र सुवाल र डब्लुजेयम भेरेउटद्वारा तयार पारिएको नेपालका स्तनधारीहरूको अनुसूचीमा सो प्रजातिको बारेमा उल्लेख छ।

यो प्रजाति झापा र इलाममा पाइन्छ भनेर सन्तराज ज्ञवाली सहितको समूहले सन् २०१२ मा लेखेको ‘नेपालका स्तनधारीहरूको अवस्था’ पुस्तकमा उल्लेख छ।

त्यसै गरी डा. हेमसागर बराल र प्राध्यापक करनबहादुर शाहद्वारा सन् २००८ लिखित ‘नेपालका स्तनधारी वन्यजन्तुहरू’ नामक पुस्तकमा पनि जानकारी उल्लेख छ।

युवा अनुसन्धानकर्मी ऋषि बरालसहितको समूहले तयार गरेको प्रकाशोन्मुख वैज्ञानिक लेखमा अन्नपूर्ण क्षेत्रको लमजुङ जिल्लामा २ वटा सुँगुरे भालु अभिलेख उल्लेख गरेका छन्। यो सन् २०१७ मा भेटिएको थियो जसमध्ये एक जीवित थियो भने अर्को मरेको भेटिएको थियो। बरालले सो प्रजाति केहि वर्षअघि गोरखाबाट समेत अभिलेख गरेको बताए।

अर्को एक अनुसन्धानमा, सो प्रजाति ९ बर्ष अघि (सन् २०११) अनुसन्धानकर्मी तथा संरक्षणकर्मी राजेन्द्र सुवाल र आशिस श्रेष्ठले गोरखा जिल्लाको जगतमा अभिलेख गरेका छन्l यो समेत गरी गोरखा जिल्लामा यो दोस्रो अभिलेख हो।

स्याङ्जा जिल्लामा पहिलो पटक अभिलेख गरे पनि मिडियाले भने जसो इलाम र झापामा मात्रै यो प्रजाति भेटिएको भने होइन ।नत यसको अभिलेख नेपालमा दोस्रो पटक नै हो।

नेपालबाहेक यो प्रजाति बङ्गलादेश, कम्बोडिया, भारत, लाओस, म्यानमार, थाइल्यान्ड, भियतनाममा समेतमा  अभिलेख छ।

कुखुरा फारममा छिरेपछि लमजुङमा स्थानीयले  ‘सानो सुँगुरे भालु’ लाई यसरी बाँधेर राखेका थिए

यसको अवस्था कस्तो छ?

अन्तर्राष्ट्रिय संरक्षण सङ्घले यसलाई ‘कम चासो भएको प्रजाति’ भनेर उल्लेख गरेको छ। यो प्रजातिको अवस्थाबारे विश्वव्यापी रूपमा जानकारी उपलब्ध छैन। नेपालमा यसलाई विशेष संरक्षण प्रदान गरिएको छैन। संसारभर चोरी सिकारी र अवैध व्यापार यिनका लागि चुनौतीको रूपमा देखिएका छन्। नेपालमा भने कृषकहरू सङ्गको द्वन्द्व यिनलाई चुनौती थपिएको छ। लमजुङमा कुखुराको खोरमा भेटिनु र स्याङ्जामा बारीमा भेटिनुले यिनको मानिससँगको द्वन्द्व स्पष्ट हुन्छ।

बङ्गलादेशमा समेत सिराजनगर चिया बगानमा भेट्नुले यो बस्ती आसपास बस्न रुचाउने त होइन? भन्ने शंका लाग्छ।   

तर अनुसन्धानकर्मी यादव घिमिरे भन्छन्, ‘यो सानो हुन्छ। बस्तीमा आकल झुक्कल आए होलान् तर बस्ती नजिकै बस्दैनन्। यदि बसेको भए मानिसहरूले देख्नुपर्ने। यो वनमै रमाउने जन्तु हो।’ उनले थपे, ‘नेपालको पूर्वतिर मात्र पाउँछजस्तो लाग्थ्यो। तर स्याङ्जासम्म पाउनुले निकै खुसी लागेको छ।’

यिनीहरू कस्ता हुन्छन् ?

यिनीहरू आकारमा साना हुन्छन्। यिनको शरीरको लम्बाई ३५ देखि ४५ सेमी हुन्छ। १ देखि ३ केजी सम्मका यिनको पन्जामा पाँच वटा औँलाहरू हुन्छन्। वन र घाँसे मैदान यिनका रुचिका वासस्थान हुन् तर नेपालमा भने कृषि क्षेत्र र खोला किनारमा समेत भेटिएका छन्। यिनीहरू समुन्द्री सतहदेखि १५२० मिटरसम्मको उचाइमा भेटिएका छन्। यिनीहरु निशाचर हुन्l

अनुसन्धानकर्मी घिमिरे भन्छन्, ‘यो प्रजाति साना मांसाहारी अन्तर्गत पर्दछन्। यिनीहरू असाध्यै साना हुने र मानिसको बस्तीतिर प्राय नआउने भएकोले यसलाई देख्ने मानिसहरू असाध्यै कम छन्।‘

प्राध्यापक शाहले यिनले फलफूल, कीरा फट्याङ्ग्रा , मुसाहरू  खाने र दुलोमा बस्ने बताए। उनका अनुसार यी जन्तु तर रुख चढ्न पनि सिपालु हुन्छन्।

अन्तमा

यतिखेर यिनको वासस्थानको सुरक्षा र यिनको अध्ययन अपरिहार्य भएको छ। स्याङ्जाका   डिभिजनल  वन अधिकृत कोमलराज काफ्ले भन्छन्, ‘हामीले यो वर्ष यो प्रजाति जस्तै थुप्रै वन्यजन्तुहरूको  उद्धार गरेका छौँ,’ उनले थपे, ‘यो प्रजाति स्याङ्जामा भेटिनु खुसीको कुरा हो। यिनको वासस्थान संरक्षणको लागि पहल हुनेछ। आगामी आर्थिक वर्षदेखि अनुसन्धानमा पनि जोड दिने छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell