PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

कोरोना नियन्त्रणमा तीनै तहका सरकार असफल भएको कांग्रेसको आरोप, ‘क्वारेन्टाइनहरु महामारी फैलाउने थलो बने’



सुमित मिश्र

कोरोना नियन्त्रणमा तीनै तहका सरकार असफल भएको कांग्रेसको आरोप, ‘क्वारेन्टाइनहरु महामारी फैलाउने थलो बने’

जनकपुरधाम : नेपालमा तीन वटै तहका सरकारले कोरोनाको उपचार, रोकथाम तथा नियन्त्रणका साथै गरिब एवं विपन्न परिवारलाई उचित राहत पुर्‍याउन असफल रहेको नेपाली कांग्रेसले आरोप लगाएको छ। मापदण्ड विपरितका अव्यवस्थित क्वारेन्टाइनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएको भन्दै क्वारेन्टाइनभित्र देखिएका बेथितिहरु तत्काल सुधार गर्न उसले सरकारसँग माग गरेको हो।

८३ औं दिनपछि लकडाउन केही खुकुलो भएपनि स्वास्थ्य सामग्रीको अपर्याप्तताका कारण पीसीआर परीक्षण सुस्त गतिमा भइरहेको कांग्रेसले आरोप लगाएको छ। सरकारको उदासीनता र असंवेदनशीलताका कारण भारतलगायत विश्वका अन्य देशहरुमा अलपत्र परेका नेपाली नागरिकहरु स्वदेश फर्किने वातावरण बन्न नसकेको भन्दै तत्काल उनीहरुलाई उद्धार गरी स्वदेश ल्याउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

नेपाली कांग्रेस प्रदेश २ संसदीय दलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउँदै कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै तत्काल आइसोलेसन र क्वारेन्टाइनको संख्या वृद्धि गर्न ध्यानाकर्षण गराएको छ। संसदीय दलका नेता रामसरोज यादवले बुझाएको ज्ञापनपत्रमा ‘क्वारेन्टाइनहरुमा खानेपानी, शौचालय, स्वास्थ्यकर्मीका साथै खानेकुराको अभावले क्वारेन्टाइनहरु कोरोना नियन्त्रणको स्थानमा महामारी फैलाउने थलो बनेको’ भनिएको छ।

कोरोनाविरुद्धको लडाइमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी र पत्रकारहरुका लागि सरकारले कुनै योजना बनाउन नसकेको भन्दै कांग्रेसले तत्काल ठोस योजना बनाउन माग गरेको छ।

त्यस्तै, प्रहरी हिरासतमा मृत्यु भएका शम्भु सदा घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्न समेत कांग्रेस धनुषाले माग गरेको छ। मंगलवार धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेसले यस्तो माग गरेको हो। २८ जेठमा धनुषाको सबैला नगरपालिकास्थित ईलाका प्रहरी कार्यालयको हिरासतमा शम्भु मृत अवस्थामा भेटिएका थिए।

यसका साथै कांग्रेसले धनुषाको जटही नाकामा मृत्यु भएका वीरेन्द्र गुरमैता यादवको परिवारलाई पनि उचित क्षतिपूर्ति उपलब्ध गराउन पार्टीका जिल्ला सभापति महेश शंकर गिरीले बुझाएको ज्ञापनपत्रमा सरकारसँग माग गरिएको छ। यसका साथै कोरोना महामारीको नियन्त्रण, राहत वितरण, विदेशबाट आएका नेपाली नगरिकहरुको व्यवस्थापन, क्वारेन्टाइनहरुको व्यवस्थापन र सुरक्षा, पीसीआर परीक्षण तथा आइसोलेसनको व्यवस्थापन गर्न सरकार अहिलेसम्म असफल रहेको भन्दै कांग्रेसले विभिन्न १२ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

गिरीको नेतृत्वमा कांग्रेसका नेता कार्यकर्ताहरु ज्ञापनपत्र बुझाउनुअघि जनकपुरधामको विभिन्न चोकहरुको परिक्रमा गर्दै प्रदर्शन समेत गरेका थिए। पार्टी कार्यालयबाट ज्ञापनपत्र बुझाउन पुगेको टोलीमा पार्टीका नेता कार्यकर्ता लगायत प्रदेश सभा सदस्यहरुको समेत सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell