काठमाडौं : पाँच महिना अघि अंकुशको निमोनिया बल्झियो। छोराको स्वास्थ्य उपचारका लागि श्रीमतीलाई भारत बोलाए वीर सुनारले। उनकी श्रीमती सोना ११ महिने छोरा च्यापेर दिल्लीको खान मार्केट पुगिन्।
त्यहीँको होटलमा वीर कार्यरत। मासिक आम्दानी २२ हजार। खान, बस्नको खर्च बेग्लै। ठीकठाक रकम जोगिन्थ्यो। केही रकम जोगाएका थिए। त्यसैले त श्रीमतीलाई उतै डाक्न आँट गरे त्यो पनि छोराको उपचारका लागि।
२१ वर्षीया सोनालाई आशा थियो – भारतमा उपचार गराएपछि त छोरा पूर्ण रुपले ठीक हुनेछ।
तर, उनी भारत पुगेको दुई महिना नबित्दै कोरोना भाइरस महामारी बनेर फैलियो। भारतमा लकडाउन घोषणा भयो। त्यसपछि वीरले काम गर्ने होटल बन्द। आम्दानीको बाटो पनि। छोराको औषधी उपचार स्थगित। किनकि सहजै अस्पताल जाने वातावरण थिएन। छोराकै औषधीका लागि छुट्याएको पैसा वीर र सोनाको खानापानी र घर भाडा तिर्दै सक्किँदै गयो। सय पचास गर्दै जोगाएको पैसाले कतिन्जेल पुग्नु? आखिरमा सक्कियो।
धन्न वीरका दाइ पनि सँगै थिए। उनले राहत दिलाए- लकडाउन सकिन्छ, काम पुन: सुरु हुन्छ। भतिजाको उपचार गराउनुपर्छ भनेर थुम्थुमाए पनि।
तर, तीन महिना बित्नै लाग्दा पनि अवस्था उस्तै। नेपाल फर्किए खानकै लागि त कमसे कम चिन्ता गर्नुपर्दैन भन्ने सोचे। र, नेपाल आउने तयारीमा जुटेका समूहमा मिसिए।
दिल्लीदेखि नेपाली सीमासम्ममा आउनेहरुले गाडी रिजर्भ गरेका थिए। प्रति व्यक्ति २३ सय रुपैयाँ। यात्रा आरामदायी रह्यो। कोरोना भाइरसको त्रासबीच हिँडेका थिए। अस्वस्थ छोरालाई जोगाउनु थियो, जसरी पनि। त्यसैले यात्राभर सक्दो शारीरिक दूरी कायम गरे।
'तर, सीमामा आइपुगेपछि त दूरी राख्ने अवस्था नै रहेन। हामी जस्ता त कति हो कति रहेछन्,' वीरले भने।
सीमाबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ पुर्याइए उनीहरु, उद्धार भयो। आफ्नै गाउँ अम्बरपुरको क्वारेन्टाइनमा लगिँदा घरमै पुगेजस्तो लागेको थियो उनलाई।
'आफ्नो ठाउँको हावा पानी नै प्यारो लाग्ने रहेछ। कोरोना सर्छ कि भन्ने डरैडर बीच फर्कियौं। गाउँको क्वारेन्टाइनमा पुग्दा डर भाग्यो,' उनले सुनाए।
क्वारेन्टाइनको हाल कस्तो उनी गफिन चाहन्नन्।
वीर, उनकी श्रीमती सोना, छोरा अंकुश र दाजु सँगै थिए। १४ दिनपछि घरको दैलोमा टेक्ने, आमाले पकाएको खाना खान पाउने कुराले सबै दङ्ग दिए। क्वारेन्टाइनमा उनीहरुको कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब लिइयो।
'लागेको छ भन्ने त एक रत्ती पनि थिएन। डिस्ट्यान्स राखेका थियौं। मास्क पनि लगाएका थियौं,' वीरले सुनाए।
तर, वीरका दाजुमा संक्रमण पुष्टि भयो। धन्न लक्षण केही देखिएको थिएन र थला परेका थिएनन्। 'हट्टा कट्टा मान्छेलाई केही हुँदैन भन्ने थाहा पाएका थियौं नि त,' वीरले चिन्ताबीच मन बुझाउने बाटो रहेको बताए।
तर, दाजुमा संक्रमण देखिएको भोलिपल्ट अर्थात् जेठ १९ गते अंकुश अर्थात् वीरका छोरामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भयो। निमोनियासँग जुधिरहेका छोरालाई कोरोना? सुरुमा त विश्वास गर्न गाह्रो भयो वीर र सोना दुवैलाई। रिपोर्ट नै हातमा परे पछि भने सतर्क रहे।
अंकुशलाई क्वारेन्टाइनबाट महाकाली अस्पताल पुर्याइयो। अंकुशकी आमा सोना भन्छिन्, 'निन्द्रा भोक सबै हराउँदो रै'छ। निक्कै आत्तियौं।'
छोराको अवस्थाले त अत्याएको थियो नै। संक्रमित बच्चाबाट टाढा रहनुपर्ने, मन लागुन्जेल काखमा राख्न समेत नपाउने, रुँदा थुम्थुमाउँदै खेलाउन नपाउने सत्यले झन् दुखाएछ वीरलाई। 'आमाले त बरु दुध खुवाउँदा भए पनि अंगाल्न पायो नि। हामी बुबालाई पो गाह्रो हुँदो रहेछ। परैबाट मात्र हेर्न पनि गाह्रो,' वीरले भने।
अंकुशलाई अस्पतालको आइसोलेसनमा १४ दिन राखियो। सुखद् कुरा – उनको स्वास्थ्य स्थिति खराब बनेन। कोरोनाविरुद्ध सावधानी र सतर्कता अपनाए। अन्य औषधी, उपचार गर्नु परेन।
१५ औं दिनमा उनको डिस्चार्ज भयो। अस्पतालले टिका र खादा लगाएर उनीहरुको बिदाइ गरेको छ। छोरी बुहारीसहित नाति घर फर्कने कुराले अंकुशकी हजुरआमालाई निकै खुशी दियो। तर, घरमा आए पनि उनले नातीलाई छुन कहाँ पाउनु? डाक्टरले उनलाई घरमै आइसोलेसनमा राख्न सुझाएका छन्।
'संक्रमणमुक्त भएपछि डिस्चार्ज गरिएको हो। तर, डाक्टरले थप एक हप्ता होम आइसोलेसनमा बस्ने सुझाव दिनु भएको छ,’ वीरले भने। उनका अनुसार होम आइसोलेसनमा बस्दा पनि छोराका लागि चिकित्सक एवं अन्य स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहनेछन्।
‘छोराको माया लाग्छ नि। तर अहिले संक्रमणसँग डराउनु पर्ने रहेछ। अहिले निर्देशन मान्छौं। आवश्यक पर्दा मात्र नजिक जान्छौं। शारीरिक रुपमा उसकी आमासँग मात्र नजिक हुन दिन्छौं। अवस्था सामान्य बन्दै गएपछि नजिक राखौंला,’ उनले भने।
सोना भने अझै चिन्तित छिन्। निमोनियाको उपचारका लागि भारत पुर्याएर पनि उपचार हुन सकेन। फेरि बल्झने डरबीच फर्किइन्। अनि फर्कन पाउनुको खुशी पनि कहाँ धेरै दिन रह्यो र?
भारतमा रहँदा भोगेको अभावभन्दा बढी दुख्यो छोरामा कोरोना देखिएपछिको १४ दिन। 'विश्व झुकेको छ यो भाइरससँग। परे हामी पनि झुकौंला तर छोरालाई केही हुन दिन्नौं भन्ने थियो। तर, सबैकुरा ठीक उल्टो भइदियो। अनि थाहा भयो रोगसँग झुक्न कति गाह्रो हुने रहेछ,' सोनाले आत्मविश्वासी सुनिइन्।
अब वीर चाहन्छन्, छोराको आइसोलेसन अवधि सकियोस्। त्यसपछि अन्य स्वास्थ्य परीक्षणका लागि लैजान पाइयोस्।
उमेरले भर्खर २४ वर्ष पुगेका वीर छोरा स्वस्थ भएको हेर्न चाहन्छन्। जिन्दगी र परिवारसँग जोडिएका अन्य जिम्मेवारी त छँदै छ। बाबु हुनुको दायित्व पूरा गरेपछि मात्र ६ वर्षदेखि भारतमा गर्दै आएको होटलमा सहायकको भूमिकामा फर्कने योजनामा छन् उनी।