जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्षहरु पछिल्ला दिनमा उपमहानगरपालिका प्रमुख लालकिशोर साहविरुद्ध खनिदै आइरहेका छन्। जनकपुरधाम उपमहानगरमा जनतामुखी काम हुन नसकेको भन्दै वडाध्यक्षहरु प्रमुखविरुद्ध खनिएका हुन्। वडाध्यक्षहरु कहिले बोर्ड बैठकमा त कहिले अलग्गै बैठक गरेर प्रमुख लालकिशोर साहलाई वडाको विकासका लागि दबाब बनाउँदै आएपनि बेवास्ता गरेकाले वडाध्यक्षहरुसँग उनको तिक्तता बढ्दै गइरहेको वडाध्यक्षहरुको भनाइ छ।
यसै क्रममा जनकपुरधामका एक वडाध्यक्ष वडावासीसँगै उपमहानगरको कार्यालय अगाडि पुगेर प्रमुख साहविरुद्ध चर्को नारावाजी गर्दै प्रदर्शन समेत गरेका छन्। आफ्नो वडाको विकासका लागि पटकपटक दबाब बनाउँदै आएपनि कुनै सुनुवाई नभएकोले मेयरविरुद्ध आफू वडावासी सहित प्रदर्शन गर्न बाध्य भएको वडा नम्बर १ का वडाध्यक्ष शत्रुधन साहले बताए।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले वडा विकासका लागि आवश्यक रकम नछुट्याएको भन्दै वडाध्यक्ष साहको नेतृत्वमा स्थानीयहरुले बुधवार विरोध प्रदर्शन गरेका हुन्। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा महिनौँदेखि जीर्ण सडक निर्माण गर्न आग्रह गर्दा पनि मेयर साहले कुनै चासो नदेखाएको भन्दै सो वडाका स्थानीयहरूले उपमहानगर कार्यालयको मूल गेट अगाडि नै उनीविरुद्ध नारावाजी गरेका थिए।
वडाध्यक्ष साहले भने, ‘आफूहरुले मेयर साहलाई पटकपटक सडक निर्माणका लागि ध्यानाकर्षण गराएपनि उनले कुनै ध्यान दिएनन्, आज बाध्य भएर आन्दोलनमा उत्रनु परेको छ।’
उनले नगरस्तरीय बजेट समेत मेयरले आफू अनुकूल छुट्याउँदै वडालाई कुनै ध्यान नदिएको गुनासो सुनाए। आफ्नो वडाको जनघनत्व बढी रहेकोले सोही हिसाबले बजेट छुट्याउनुपर्नेमा मेयर साहले आफूखुशी निर्णय गरेको साहले बताए।
धर्मवान टोल सुधार समितिका अध्यक्ष लक्ष्मेश्वर यादवले सडकमा रहेको घरटहरा खाली गराऔं, सडकको निर्माण छिटो गरौं, सडक निर्माण गरी जीवन स्वच्छ र सुन्दर बनाउ, टोललाई स्वच्छ वातावरण बनाउ लगायतका मागहरु राख्दै उपमहानगरको कार्यालय अगाडि धर्ना दिएको जानकारी दिए।
किन बढ्दैछ मेयर र वडाध्यक्षहरुबीच दुरी?
जनकपुरधाम उपमहानगरपालिकामा कुल २५ वटा वडाहरु छन्। २५ वडाध्यक्षहरुमध्ये १९ जनाभन्दा बढी वडाध्यक्षहरु कुनै न कुनै रुपमा मेयर साहविरुद्ध आक्रोश पोखी सकेका छन्। मेयर लालकिशोर साह राजपाबाट चुनाव लडेर जनकपुरधामको प्रमुख पदमा आसिन हुन सफल भए। अधिकांश वडाध्यक्षहरु समेत राजपाबाटै चुनाव जितेका थिए। यद्यपि, तीनै वडाध्यक्षहरु मेयरविरुद्ध आक्रोशित छन्।
बोर्डमा उनकै पार्टीका अधिकांश वडाध्यक्षहरु हुँदाहुँदै पनि प्रमुख लालकिशोर किन एक्लिदै गई रहेका छन् भन्ने प्रश्नमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आफ्नो विचार मात्रै सही ठान्ने र फरक विचारलाई स्वीकार गर्न नसक्ने प्रवृतिका कारण एक्लिदै गइरहेको बताए।
उनले भने, ‘उनी जनकपुरधामको प्रमुख भएको ३ वर्ष भइसक्यो कुनै विकासका कार्यहरु गर्न सकेका छैनन्, विकास गर्न चाहने वडाध्यक्षहरु उनको साथसम्म पाउँदैनन्। उनको मनोमानीकै कारण जनकपुरधाममा विकास निर्माणका कार्यहरु ठप्प छन्, यही रबैयाका कारण गत पुस महिनामा हुने भनिएको परिषद् पनि हुन सकेन। मेयर साब अझै सच्चिनु भएन भने हामी वडाध्यक्षहरु गोलबन्द भएर सडकबाटै संघर्ष गर्न बाध्य हुने छौँ।’
यता वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साहले उपमहागरपालिकाको बजेट मेयरले एक्लै चलाउन खोजेको आरोप लगाए।
उनले भने, ‘प्रत्येक वडालाई कम्तीमा १ करोड बजेट विकासका लागि उपलब्ध गराउनु पर्छ, हामी आफै आफ्नो वडाको विकास गर्छौँ, तर हामीलाई उनको मुख ताकेर बस्नु परिरहेको छ जबकि मेयर साब चिर निद्रामा अहिले पनि सुतेका छन्।’
आफू राजपाबाटै निर्वाचित वडाध्यक्ष भएपनि उनको व्यवहारबाट खिन्न रहेको वडाध्यक्ष साहले बताए।
उनले भने, ‘वडाध्यक्षहरुको कुरै छोडौँ, जनता भन्दै छन् यति असफल मेयर हामी अहिलेसम्म देखेका छैनौँ।’
मेयर साह भ्रष्टाचारमा लिप्त रहेको, भएका बजेटहरु आफ्नो पारिवारिक सदस्य वा आफ्नो नजिकको मान्छेको माध्यमबाट प्रयोग गर्दैै आइरहेको कयौँ वडाध्यक्षहरुको आरोप रहेको छ।
केही दिन अगाडि मात्रै उपमहानगरपालिका प्रमुख लालकिशोर साहले बजेट मनोमानी ढंगले चलाउन खोजेको भन्दै केही वडाध्यक्षहरुले ज्ञापन पत्र बुझाएका थिए। यस अघि केही वडाध्यक्षहरु लकडाउनमा भोकै बस्न बाध्य रहेका गरिब तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुको राहत वितरणको क्रममा समेत बोर्ड बैठकबाट गरिएको निर्णय एकलौटी रुपमा परिवर्तन गरेपछि आक्रोशित बनेका थिए।