PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

आफन्तको जग्गा बचाउन सार्वजनिक जमिनमा सडक पारिएको स्थानीयको आरोप, वडाध्यक्ष भन्छन् : सार्वजनिक जग्गा जोगाएका छौँ



सुमित मिश्र

आफन्तको जग्गा बचाउन सार्वजनिक जमिनमा सडक पारिएको स्थानीयको आरोप, वडाध्यक्ष भन्छन् : सार्वजनिक जग्गा जोगाएका छौँ

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १२ कुवामा कुपेश्वरनाथ महादेव मन्दिर अवस्थित छ। गत वर्ष त्यहाँ वडाको बजेटबाट लगभग ६० मिटरको पीबीसी ढलान सडक निर्माण गरिएको थियो।

यद्यपि, सडक विस्तारको नाममा त्यहाँका वडाध्यक्षको लापरबाहीका कारण निजी जग्गा बचाउनका लागि मन्दिर तथा सार्वजनिक जग्गा मात्रै सडकमा पारिएको आरोप स्थानीयवासीहरुको रहेको छ।

जनकपुरधामको ऐतिहासिक तथा पौराणिक मन्दिर कुपेश्वरनाथ मन्दिरअगाडि निर्माण गरिएको ६ मिटरको ढलानका लागि दुवै तर्फबाट बराबर जग्गा लिनुपर्ने थियो। दुई वर्षअघि निर्माण गरिएको सडकका लागि मन्दिर तर्फबाट जग्गा लिइएको तर ठीक अगाडि रहेको निजी जग्गाबाट एक इन्च पनि सडकमा नपारिएको स्थानीयको भनाइ छ।

मन्दिरकै छेउमा रहेको डिहवार स्थानलाई संरक्षण गर्ने उद्देश्यले त्यसको पर्खाल लगाउने कार्य वडाको बजेटबाट गरिदै छ। सो पर्खाल लगाउने कार्यमा समेत निजी व्यक्तिको जग्गा बचाइएको र गरिबको घर तोडेर सडक विस्तार गर्न लागिएको आरोप स्थानीय दिलीप दासको रहेको छ।

दासले वडाध्यक्ष शत्रुधन यादवले आफ्नो भाइको जग्गा बचाउनको लागि सार्वजनिक जग्गालाई मात्रै सडकमा पारेको आरोप लगाए।

यता स्थानीय उर्मिला पण्डितले सडक विस्तारकै लागि डिहवार स्थानको पछाडि रहेको आफ्नो घर अघिल्लो वर्ष नै तोडेको भएपनि अहिलेसम्म सडक निर्माण नगरिएको भन्दै दुःख व्यक्त गरिन्।

उनले भनिन्, ‘सडककै लागि मैले आफ्नो घर तोडे, घर तोडेको एक वर्ष भइसक्यो तर सडक भने अहिलेसम्म बन्न सकेन।’

वडाध्यक्ष शत्रुधन यादवले स्थानीयको आरोपलाई खण्डन गर्दै नगर सभाबाट पारित भएर ७ लाखको लागतमा निर्माण गरिएको सो सडकका लागि जग्गा लिन काखा पाखा नगरिएको दावी गरे।

वडाध्यक्ष यादवले भने, ‘बरु मन्दिरको जग्गा बचाएर आफ्नै भाइको जग्गा सडकका लागि दिएका छौँ।’

उनले मन्दिरको जग्गा सडकमा एक इन्च पनि नलिएको दावी गर्दै सडक बनेपछि स्थानीयले नाला निर्माण नगरिएको भन्दै विरोध गरेको बताए। वडाध्यक्ष यादवले निजी जग्गा नै लिएर चाँडै नै सडक निर्माण हुने बताए।

उनले डिहवार स्थानको जग्गा बचाउनकै लागि पर्खाल लगाउने कार्य भइरहेको र त्यहाँ ७ मिटरको सडक ढलान गरिएको बताए। अन्य भने स्थानमा ६ मिटर सडक मात्रै रहेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell