PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

जनकपुर उपमहानगरको बोर्ड बैठकमा जनप्रतिनिधिबीच घम्साघम्सी, नगरप्रमुखको विरोध गर्दै वडाध्यक्षहरुले च्याते माइन्युट



सुमित मिश्र

जनकपुर उपमहानगरको बोर्ड बैठकमा जनप्रतिनिधिबीच घम्साघम्सी, नगरप्रमुखको विरोध गर्दै वडाध्यक्षहरुले च्याते माइन्युट

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकमा नगर प्रमुख लालकिशोर साहले एकलौटी निर्णय लाद्न खोजेको भन्दै जनप्रतिनिधिहरुले विरोध जनाएका छन्। 

नगरसभा नजिकिँदै गर्दा उपमहानगरको नीति तथा कार्यक्रम तयार पार्नका लागि बोलाइएको बोर्ड बैठकमा अधिकांश वडाध्यक्षहरुले नगर प्रमुखको व्यवहारप्रति विरोध जनाएका थिए। त्यसपछि बैठकमा मेयर समर्थक र विपक्षीबीच घम्साघम्सी भएको हो।  

वडाध्यक्षहरुले प्रमुख साहले छलफल नै नगरी तयार पारेको विवरण तथा नीति तथा कार्यक्रममाथि हस्ताक्षर गराउन खोजेको भन्दै आक्रोशित भएका थिए। विवाद लम्बिदै जाँदा उपस्थित वडाध्यक्षहरुले तयार पारिएको माइन्युट समेत च्यातेका छन्।

बोर्ड बैठकमा उपस्थित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले नगर प्रमुख साह र उपप्रमुख रिता मिश्र मिलेर हैकमवादी शैलीमा बैठक संचालन गर्न खोजेको आरोप लगाए। बोर्ड बैठकमा जबरजस्ती प्रमुख साहले माइन्युटमा हस्ताक्षर गराउन खोजेपछि आफूले माइन्युट च्यातेको वडाध्यक्ष जानकीराम साहले बताए।

सभा संचालन गर्नु अगाडी पहिले नीति तथा कार्यक्रम बोर्ड बैठकबाट पारित गराउनु पर्ने हुन्छ। नीति तथा कार्यक्रम पारित गराउनु अघि त्यसको विवरण जनप्रतिनिधिहरुलाई अध्ययनका २४ घण्टा अगाडी उपलब्ध गराउनुपर्ने जनकपुरधाम उपमहानगरपालिकाले बनाएको बैठक संचलान सम्बन्धि कार्यविधिको छलफलको विषय सम्बन्धी बुंदा १२ को १ मा उल्लेख छ।

तर अध्ययन गर्नका लागि नीति तथा कार्यक्रम नै नदिई सिधै बोर्ड बैठकमा उपलब्ध गराइएकोमा वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र साहले आपत्ति जनाए। उनले प्रमुख साहको व्यवहार नसच्चिए बैठक संचालन हुन नदिने चेतावनी समेत दिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले नगर प्रमुखले अलोकतान्त्रिक विधि अपनाएर अगाडी बढ्न खोजेको आरोप लगाए।

भने ‘विगत ३ वर्षदेखि हामी उपमहानगरपालिकाको काम कारवाही पारदर्शी बनाउन माग गरिरहेका छौँ, तर प्रमुख साह मान्नु हुन्न। मेयर साबलाई डर छ पारदर्शी विधि अपनाएँ भने आफूले विगत ३ वर्षदेखि गर्दै आएको भ्रष्टाचारको पोल खुल्ने छ।’

उपमहानगरपालिकाका वडाध्यक्षहरुले बैठकमा प्रत्येक वर्ष बजेट फ्रिज हुँदै आएकोप्रति समेत आपत्ति जनाए।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले उपमहानगरबाट २५ वटै वडाका लागि कुल १२ करोड ७५ लाख रुपैयाँ मात्रै जाने गरेको र अरु पैसा मेयर साहले भ्रष्टाचार गर्नकै लागि निजी श्रोतको रुपमा राखेको आरोप लगाए।

भने ‘हामीले उठाएको राजश्वमा समेत भ्रष्टचार भई रहेको छ। मैले आफ्नो वडाबाट ९ लाख रुपैयाँ राजश्व उठाएर दिएको छु। यहाँ ४ लाख रुपैयाँ मात्रै हिसाबमा उल्लेख छ। यसले नै स्पष्ट हुन्छ मेयर साह कति भ्रष्ट र असफल मेयर हुनुहुन्छ भनेर।’

यता मेयरको अलोकतान्त्रिक विधि विरुद्ध आवाज उठाउँदा आफूलाई मेयरको समर्थनमा रहेका कार्यपालिका सदस्यहरुले तछाडमछाड गरि धकेलेको र आफु भुइँमै लडेको वडा नम्बर १०का वडाध्यक्ष मिथिलेश कर्णले बताए। उनले यहि शैली रह्यो भने बैठक संचालन गर्न नदिने अडान व्यक्त गरे।

जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख रिता मिश्रले भने बैठक नै शुरु हुन नदिई वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले माइन्युट च्यात्नु गलत रहेको बताउँछिन्।

उनले बैठक शुरु हुने बित्तिकै सम्पूर्ण हिसाब वडाध्यक्ष लगायतका कार्यपालिका सदस्यहरुलाई उपलब्ध गराउने योजना रहेको दाबी गरिन्।

भनिन् ‘ वडाध्यक्षहरुले देखाएको रबैया गलत हो।’

उनले माइन्युट च्यात्ने वडाध्यक्ष विरुद्ध मुद्दा चलाउने तयारी समेत भई रहेको जानकारी दिइन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell