PahiloPost

Jul 12, 2020 | २८ असार २०७७

नेपालमा नयाँ खाले कोरोना होइन, भाइरस उस्तै हो, संक्रमणका केसमात्र फरक : डब्लुएचओ नेपाल प्रतिनिधि(वार्ता)



नेपालमा नयाँ खाले कोरोना होइन, भाइरस उस्तै हो, संक्रमणका केसमात्र फरक : डब्लुएचओ नेपाल प्रतिनिधि(वार्ता)

नेपालमा कोभिड-१९ को संक्रमण पछिल्ला दिनमा दैनिक ५ सय को हाराहारीमा बढिरहेको छ। नेपालमा लकडाउन सुरु भएसँगै संक्रमितको संख्या बढ्न थाल्यो। ८० दिन लामो लकडाउन खुकुलो बन्दै जाँदा संक्रमितको संख्या दैनिक ५ सयको हाराहारीमा बढ्न थालेका छन्। यसै सन्दर्भमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का नेपालस्थित कार्यालयका प्रमुख डा. जोस भ्यान्डेलरसँग नेपालमा कोभिड-१९ को पछिल्लो संक्रमणको ट्रेन्ड, नेपालले अपनाएको नियन्त्रणका उपायहरु तथा संक्रमणको जोखिमका विषयमा न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश:

विश्वमा अहिलो कोभिड-१९ पान्डेमिकको चपेटामा छ। विश्वले नेपालको अवस्थालाई कसरी नियालिरहेको छ? कस्तो छ नेपालको अवस्था?

अहिले विश्वव्यापी दृटिकोणबाट हेर्दाखेरी युरोपमा कोरोनाको संक्रमणहरु घटिराखेको छ भने अमेरिकामा अझै बढिराखेको देखिएको छ। त्यस्तै अहिले अफ्रिकामा पनि संक्रमण विस्तारै बढ्दै गएको देखिन्छ। नेपालमा पनि बढ्दै गएको छ। अहिले बढ्नुको कारण धेरै केसहरुको पहिलाभन्दा रिपोर्टीङ भइराखेको छ। नेपालको केसमा एउटा विशेष कुरा के छ भने नेपालमा समुदाय स्तरको संक्रमण भन्दा पनि विदेशबाट फर्कने व्यक्तिहरुमा बढी संक्रमण देखिएको छ। त्यसैले अहिले हामीले देखेका केसहरु क्वारेन्टाइनको स्थलहरुबाट बढी आएका छन्। विशेषगरी भारतबाट फर्किएका व्यक्तिहरुमा र अन्य देशहरुबाट फर्केका व्यक्तिहरुमा देखिएको छ।

विश्व अहिले पान्डेमिकसँग जुधिरहँदा नेपालले बाँकी विश्वलाई कसरी हेर्नुपर्छ अथवा नेपालले विश्वलाई बारेमा कसरी हेरिरहेको पाउनु भएको छ?

तपाइले भनेजस्तै महामारीले कुनै पनि सीमा भन्दैन। यो विश्वव्यापी कुरा हो। यसले गर्दा कुनै पनि सीमाले यसलाई रोक्ने कुरा हुँदैन र नेपाल पनि यही विश्व परिवेशको एउटा हिस्सा हो भनेर त्यसरी हेर्न जरुरी छ। किनभने हामीले देखिराखेका छौं संक्रमणहरु बाहिर देशबाट फर्किएको व्यक्तिहरुमा देखिएको छ। फेरि भारतबाट फर्केका व्यक्तिहरुमा मात्र नभएर अन्य देशबाट पनि फर्किराखेका नेपालीहरुमा पनि देखिराखेको छ। यसबाट हामीले के बुझ्नु पर्छ भने कुनै न कुनै बेला यो रोग नेपाल आउने वाला थियो र आयो। आउने पनि छ भन्ने कुरा चाहिं बुझ्न जरुरी छ। हामी यो विश्वपरिवेशको एउटा हिस्सा हौं भनेर सोच्न जरुरी छ।

नेपालको अवस्था बाँकी विश्वभन्दा अलिक फरक जस्तो देख्यौं जुनबेला नेपालमा थोरै संक्रमणहरु देखिएका थिए त्यो बेला हामीले लकडाउन गर्‍यौं र हामीले झण्डै झण्डै ८० दिन पछाडि लकडाउन खोल्यौं तर अहिले संक्रमितको संख्या बढिरहेको छ। यसलाई प्राविधिक रुपमा कसरी हेर्न सकिन्छ?

नेपालमा गरिएको जस्तो लकडाउनको उद्देश्य भनेको भाइरसलाई कम गर्ने भन्ने हो। किनभने लकडाउन गरेपछि मानिसहरु घरमै बस्छन, ट्राफिक पनि हुँदैन र आवतजावतहरु कम हुन्छ। त्यसले गर्दा भाइरसको संक्रमणको संख्या घट्छ भन्ने हो। नेपालले लकडाउनलाई एकदमै छिटो कार्यान्वयन गर्‍यो। मार्च महिनामा दोस्रो केस देखिन साथ नै लकडाउन गर्‍यो र त्यसैले पनि नेपालमा अहिले समुदाय स्तरको संक्रमण कम देखिएको हो जस्तो लाग्छ।

यसको एउटा आंशिक कारण पूर्णरुपमा नभए पनि आंशिक कारण लकडाउन हो भन्ने लाग्छ र त्यो अर्थमा लकडाउन नेपालको हकमा एकदमै प्रभावकारी भएको छ। तर लकडाउन भन्नाले त्यसको जनस्वास्थ्यको पक्ष त एउटा भयो तर त्यो बाहेक अन्य पक्षहरु पनि हुन्छन्। जस्तै सामाजिक पक्ष, आर्थिक पक्ष किन भने लकडाउन लगाएपछि मानिसहरु आफ्नो काममा जान पाउँदैनन र कमाईमा असर गर्छ। लकडाउन लगाएको केही समयपछि कुनै पनि सरकारलाई एउटा द्विविधा उनीहरुको सामु देखा पर्छ। त्यो भाइरसलाई नियन्त्रण गर्नलाई बढी जोड दिने कि अब अर्थतन्त्रलाई पनि सन्तुलन गर्ने? त्यसले गर्दा नेपालमा अहिले लकडाउन केही हदसम्म खुकुलो बनाइएको छ। यो हामीले अरु देशहरुमा पनि देखिराखेका छौं। लकडाउन खुकुलो बनाउँदा  एकैचोटि नगरेर स्टेप बाइ स्टेप चरणवद्ध रुपमा गरेको देखिएको छ र नेपालले पनि त्यसै गरिराखेको छ। अहिले सरकारको लागि प्रमुख मुद्दा भनेको त्यसलाई कसरी सन्तुलनमा ल्याउने भाइरसको नियन्त्रणको कुरा र अर्थतन्त्रमा मानिसहरुलाई अव काममा जानुपर्ने छ, आफ्नो कमाई गर्नुपर्ने छ ति कुराहरुलाई कसरी सन्तुलन गर्ने भन्ने हो। नेपालमा यो अब कसरी जान्छ भन्ने कुरा हेर्न बाँकी छ। तर, हामीले के कुरा पनि मनन गर्नुपर्छ भने यदि केसहरु फेरि बढ्दै गयो भने लकडाउन फेरि लाग्न पनि सक्छ। यो खुला नै गरिन्छ भन्ने चाहिं छैन। यो कुरा मनन गर्नुपर्छ।

नेपालमा पुष्टि भएका कोभिड-१९ का केसहरु मध्ये लक्षणरहित केसहरु अधिक छन्। यो प्राविधिक पक्ष नै होला, के नेपालमा देखिएको कोरोना भाइरसले आफ्नो अनुवांशिक उत्परावर्तित गरेको हो? यस विषयमा डब्लुएचओले केही अध्ययन गरेको छ की?

तपाईँले भनेजस्तै नेपालमा अहिले लक्षण रहित केसहरु एकदम धेरै देखिएका छन्। मान्छेहरुलाई स्वास्थ्य नै छु जस्तो भइराखेको छ। उनीहरुलाई खोकी पनि लागेको छैन केही पनि भएको छैन तर कोरोनाको संक्रमण पुष्टि भएको तथ्यांकले देखाउँछ। यस पछाडिको एउटा कारण-नेपालमा धेरैजसो केसहरु युवाहरुमा देखिएको छ। कम उमेरका मानिसहरुमा देखिरहेको छ। ति मानिसहरु कस्ता मानिस भन्दाखेरी प्रायजसो भारतमा काम गरीराखेका र भारतबाट फर्किएका व्यक्तिहरु हुन्। अहिले परीक्षण भइरहेको पनि उनीहरुमा बढी हो। यसले गर्दा यसमा अचम्म मान्नुपर्ने कुरा छैन। किनभने कोरोनाको संक्रमण विशेष गरी युवाहरुमा एकदम कम लक्षण देखिने अथवा लक्षण नदेखिने हुन्छ।

नेपालको हकमा हामीले अलि वृद्धवृद्धाहरुमा धेरै केसहरु देखिसकेका छैनौं र भोलि त्यो केसहरु धेरै देखियो भने फरक कुरा हुन्छ। नत्र अहिले यसको लागि अचम्म मान्नुपर्ने कुरा छैन।

नेपालमा नयाँ खाले भाइरसभन्दा पनि भाइरस उस्तै हो यो हामीले देखेका संक्रमणका केसहरु फरक हुन। विशेषगरी नेपालमा युवाहरुमा देखिराखेको भयो। हामीलाई यो भाइरस त्यसै कारण अनौठो हो कि जस्तो लाग्न सक्छ, नयाँ हो कि जस्तो लाग्न सक्छ। तर यो भाइरस नयाँ भन्दा पनि हामीले जुन केसहरु देखिराखेका छौं त्यो चाहिं नयाँ हो। विश्वव्यापी रुपमा पनि अहिले यो भाइरसको मूलभुतरुपमा उत्परिवर्तन देखिएको छैन। त्यसैले यो त्यही नै भाइरस हो फरक भाइरस हो भनेर मान्नुपर्ने अहिलेसम्म कुनै कारण कुनैपनि प्रमाण छैन। केवल फरक के हो भने हामीले जुन केसहरु देखिराखेका छौं त्यो विरामीको प्रोफाइल र विवरण फरक देखिएको हो।

परीक्षणको विषयलाई लिएर नेपालमा पटक पटक चर्चा चल्छ। आरडीटी परीक्षणको विरोध पनि भइरहेको छ। सडकमै पीसीआर परीक्षणको माग गर्दै प्रदर्शन भएका छन्। आरडिटी कस्तो अवस्थामा गर्ने हो, पीसीआर कस्तो अवस्थामा गर्ने हो यसको प्राविधिक विशेषता के के हुन? डब्लुएचओको गाइडलाइनमा के छ?

आरडीटी र पीसीआर दुइवटा प्रयोगशालामा गरिने परीक्षणहरु हुन तर यिनीहरु फरक हुन्छन्। पीसीआरले तपाईको शरीरमा भाइरस छ कि छैन तपाई अहिले संक्रमित हुनुहुन्छ कि हुनुहुँदैन भनेर हेर्छ। यसको लागि तपाइको नाकबाट स्वाब लिएर नमुना लिएर परीक्षण गरिन्छ। आरडीटीले शरीरमा एन्टीबडी छ कि छैन भनेर हेरिन्छ। एन्टीबडी भनेको त्यस्तो कुराहरु हो जुन शरीर आफैले निर्माण गर्छ। एन्टीबडी शरीरले कुनै भाइरससँग प्रतिरक्षा गर्नको लागि भाइरसँग जुध्नको लागि उत्पादन गर्ने एउटा चिज हो। एन्टीबडीहरु पत्ता लाग्न सक्ने जतिको संख्यामा उत्पादन हुनको लागि १० देखि १४ दिन सम्म लाग्न सक्छ। त्यसले गर्दाखेरी आरडीटीले हामीलाई व्यक्ति विगतमा कुनै समयमा भाइरसको संक्रमणमा आएको थियो अथवा कुनै बेला संक्रमित भएको थियो कि भन्ने जानकारी दिन्छ। यसरी हेर्दा यि दुइवटा फरक छन्। एकले अर्कोलाई प्रतिस्थापन गर्न मिल्दैन्। पीसीआर हामीले प्रयोग गर्ने भनेको कुनैपनि व्यक्ति संक्रमित छ कि छैन र उसले अरुलाई संक्रमण सार्न सक्छ कि सक्दैन भनेर जाँच्नको लागि परीक्षण गर्छौं। आरडीटी चाहिं विशेष गरी कुनैपनि समुदाय अथवा कुनैपनि वर्ग कुनै समयमा कुन अनुपातमा यो भाइरसको संक्रमण आएको थियो भन्ने कुरा जान्नको लागि गर्छौं।

तसर्थ फेरी दोहोर्‍याउँदा पीसीआर कुनै पनि व्यक्तिमा अहिले संक्रमण छ कि छैन र त्यो व्यक्तिले संक्रमण सार्न सक्छ कि सक्दैन भन्ने जाँच्छ भने आरडीटीले कुनै व्यक्ति अथवा कुनै समुदाय विगतमा कुनै विन्दुमा त्यो भाइरसको संक्रमित थियो अथवा त्यो भाइरसको संक्रमणमा आएको थियो कि थिएन भन्ने कुरा जाँच्छ। त्यसैले आरडीटीले शरीरले प्रतिरक्षाको रुपमा निकाल्ने एन्टिबडिजहरु छ कि छैन भन्ने कुरा जाँच गर्ने हो।

नेपालमा क्वारेन्टाइनको अवस्थाबारे तपाई जानकार नै हुनुहुन्छ। पीसीआर परीक्षणको दायरामा पनि हामी कम छौँ। क्वारेन्टाइनमा राखेका व्यक्तिहरुलाई परीक्षण नगरिकन पठाइएका पनि छन्। यसबारे डब्लुएचओको गाइडलाइनले के भन्छ?

हामीले क्वारेन्टाइन गर्ने भनेको यसकारणले गर्ने हो कि मानिसहरुलाई कम्तीमा १४ दिनको लागि छुट्टै राख्छौं। ता कि त्यो व्यक्तिमा यदि भाइरस भए कै भएपनि १४ दिनसम्ममा भाइरस मरिसक्छ त्यसले उक्त व्यक्तिले अरु कसैलाई त्यो संक्रमण सार्न सक्दैन। व्यक्ति पनि निको भइसकेको हुन्छ। तसर्थ हामीले यदि लामो समयसम्म कुनै पनि व्यक्तिलाई छुट्टै राख्न सकियो भने उसलाई परीक्षण नगरिकन समुदायमा अथवा घरमा पठाउँदा खेरी पनि भाइरस संक्रमण हुने सम्भावना रहदैन। किनभने उक्त व्यक्ति पहिले नै निको भइसकेको हुन्छ। तसर्थ हामीले यदि क्वारेन्टाइन राम्रोसँग गर्न सक्यौं भने टेस्ट नगर्दा पनि फरक पर्दैन। तर क्वारेन्टाइन कसरी राम्रोसँग गर्ने भन्नेमा हामीसँग दुईवटा उपायहरु छन्। एउटा सबै मान्छेहरुलाई एकठाउँमा लिएर आउने सम्भावित व्यक्तिहरुलाई र उनीहरुलाई त्यो ठाउँमा निश्चित समयको लागि राख्ने। अर्को उपाय भनेको घरमै पनि कुनैपनि व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सकिन्छ।

तर, घरमा राख्दा जोखिम चाहिं के हुन्छ भने यदि उक्त व्यक्तिमा भाइरस रहेछ भने उसले परिवारको अन्य सदस्यहरुलाई सारेको नसारेको सुनिश्चित गर्नुपर्ने हुन्छ। तसर्थ परिवारका अन्य सदस्यहरु भन्दा दुरी अलिकति कायम गर्ने, छुट्टै कोठामा बस्ने, छुट्टै शौचालय प्रयोग गर्नेलगायतका सुविधाहरु हामीले सुनिश्चित गर्नुपर्ने हुन्छ। त्यसैगरी क्वारेन्टाइनमा संक्रमण भएको हुनसक्ने सम्भावित व्यक्तिलाई हामीले अन्य व्यक्तिहरुबाट छुट्टै राख्ने हो। तर क्वारेन्टाइन मै भएका पनि यदि कोही व्यक्तिमा संक्रमण देखियो भने उक्त व्यक्तिलाई आइसोलेसनमा लगेर छुट्टै राख्नुपर्छ एकान्तबासमा लगेर राख्नुपर्छ। त्यसले हामीले क्वारेन्टाइन प्रयाप्त समयसम्म कायम राख्न सक्यौं भने भाइरस सर्ने जोखिमबाट हामी बाच्न सक्छौं त्यसलाई रोकथाम गर्न सक्छौं। तर, यहाँ मुख्य प्रश्न भनेको हामीले क्वारेन्टाइन राम्रोसँग गर्न सक्छौं कि सक्दैनौं भन्ने हो। जस्तै सामाजिक दुरी कायम गर्ने हामी यहाँ अहिले यसरी कायम गरेको जस्तै त्यसैगरी हात सफा गर्ने, खोक्दा र हाँच्छ्यु गर्दा आफ्नो कुहिनोलो छोप्ने जस्ता कुराहरु हामीले गर्न सक्छौं यि कामहरु कायम राख्न सक्छौं कि सक्दैनौं भन्ने कुराहरु हो। तसर्थ यदि हामीले उपयुक्त तरिकाले क्वारेन्टाइन गर्न सक्यौं भने परीक्षण नगर्दा पनि हुन्छ।

कोभिड-१९ पान्डेमिकविरुद्ध लड्नका लागि डब्लुएचओले अनेक गाइडलाइनहरु तयार पारेको छ। यसरी तयार पारेको गाइडलाइनअनुसार कुनै देशले नीति बनाएर लागू गर्ने अवस्थामा पुग्दासम्म पुन: गाइडलाइन नै परिवर्तन हुन्छ। नेपालले पनि त्यस्तो अनुभुति गरेको छ। यस्तो किन भइरहेको छ।

एकदम सही प्रश्न हो यो। डब्लुएचओले प्राविधिक सहायता दिन्छ तर उसले दिने प्राविधिक सहायताहरु र जारी गर्ने मार्ग निर्देशनहरु ति सबै कुनै न कुनै प्रमाणमा आधारित हुन्छन विज्ञानमा आधारित हुन्छन्। अर्को कुरा कोभिड-१९ एकदम नयाँ रोग हो। यसको बारेमा पाँच महिना अगाडि सम्म हामीलाई केही थाहा थिएन। यो पाँच महिनामा यति धेरै अध्ययनहरु भइराखेका छन कि प्रत्येक दिन नयाँ कुराहरु पत्ता लागिराखेको छ। धेरै वैज्ञानिकहरुले पनि यो भाइरसको बारेमा अध्ययन गरिराखेका छन्। विश्व स्वास्थ्य संगठनले ति सबै कुराहरुको ट्रयाक गरिराखेको छ। वैज्ञानिकहरुले के नयाँ कुरा पत्ता लगाए भन्ने कुरा हेरिराखेको छ। हामीले देख्न सक्छौं बेला बेलामा त्यो नयाँ कुरा पत्ता लाग्छ र विज्ञान आफै परिवर्तन भइराखेको देखिएको हुन्छ। पहिलो अध्ययनले पुष्टि गरेको कुरा अर्को अध्ययनले गलत ठहर्‍याएर अर्को नयाँ तथ्य दिन्छ। अरु सामान्य अवस्थामा पनि यो कुराहरु भइरहेको हुन्थ्यो तर हामीले याद गरिराखेका हुँदैनौं। तर, यो कोभिडको कुरामा के भयो भने एकै चोटि धेरै कुरा भइराखेको छ। धेरै व्यक्तिले यसमा रुचि देखाइराखेका छन र धेरै अध्ययनहरु भइराखेका छन र त्यसमा छिटो छिटो नयाँ कुराहरु पत्ता लागी राखेको हुनाले हामीलाई यस्तो लागेको हो।

विश्व स्वास्थ्य संगठनले जारी गर्ने गाइडलाइनहरु सबैभन्दा नयाँ वैज्ञानिक आधारहरुमा आधारित हुन्छ। म बुझ्छु यो कुरा अलिकति अलमल्याउने खाले हुनसक्छ तर हामीले जारी गर्ने कुराहरु हामीले दिने निर्देशनहरु सकेसम्म सबैभन्दा सत्यको नजिक हुन जरुरी छ त्यसैले यस्तो भएको हो।

कोभिड-१९ को माहामारीविरुद्ध नेपालले चालेका कदमहरुको बारेमा तपाईँ जानकार हुनुहुन्छ। नेपालमै बसेर नियालिरहनुभएको छ। नेपालका सबल पक्षहरु के पाउनु भयो? र नेपालले सुधार गर्नुपर्ने के देख्नु भएको छ?

मैले नेपालमा काम गरेको पाँच वर्ष भयो त्यसैले गर्दा मैले नेपालको प्रणालीले कसरी काम गर्छ भन्ने बारेमा केही हदसम्म जानकारी हासिल गरेको छु। नेपाल सरकारले लकडाउन कार्यान्वयन एकदमै छिटो गर्‍यो आंशिक रुपमा त्यो एउटा कारण हो जसले गर्दा अहिले सामुदायिक स्तरमा संक्रमण कम देखिएको छ। सरकारले गरेको अर्को राम्रो काम भनेको परीक्षण गर्ने क्षमतालाई निकै छिटो बढाएको छ। त्यसले गर्दाखेरी अहिले समुदाय स्तरमै त्यति धेरै संक्रमण फैलिराखेको छैन र अहिले परीक्षणको संख्या पनि प्रत्येक दिन बढिराखेको छ।

अर्को कुरा भनेको सरकारले यो लकडाउनको अवधिलाई चाहिं आफुलाई अझ राम्रोसँग तयार गर्नको लागि प्रयोग गरेको छ। धेरै काम भएको छ विशेषगरी हामीलाई चाहिने सामग्रीहरु खरिद गर्नमा ल्याउनमा व्यक्तिगत सुरक्षा सामग्रीहरु ल्याउने कुरामा कोभिड-१९ को लागि भनेर हस्पिटल तोक्ने कुरामा त्यसैगरी कर्मचारीहरुलाई तालिम दिने कुरामा त्यसैगरी विभिन्न मार्ग निर्देशिकाहरु जारी गर्ने कुरामा चाहिं सरकारले राम्रो काम गरेको छ। यस अर्थमा भन्दाखेरी लकडाउनको समयलाई सरकारले राम्रोसँग सदुपयोग गरेको छ।

नेपाल एउटा निम्न आय भएको देश हो त्यसले गर्दाखेरी हामीले त्यहि परिप्रेक्ष्यमा हेर्नुपर्ने हुन्छ। हाम्रो सामान्य अवस्था मै पनि हामीले भनेजस्तो स्वास्थ्य सेवा दिनलाई अलिकति सीमितताहरु हुन्छन किनभने कतिपय अवस्थामा सामग्रीहरु हुँदैनन् कतिपय अवस्थामा मानव जनशक्तिहरु हुँदैनन्। यसले गर्दाखेरी हामीले निम्न आय भएको नेपाल जस्तो देशको प्रतिक्रिया र उच्च आय भएको देशको प्रतिक्रियासँग अलि दाज्न नमिल्ने हुन्छ। त्यसैगरी अब आउने दिनहरुमा केसहरु एकदमै धेरै नै बढ्ने वाला छ। त्यसको लागि सरकारले तयारी राम्रै गरेको देखेको छु। विशेषगरी परीक्षणहरुको संख्या बढाउनको लागि आगामी महिनाहरुमा पनि सरकारले अझ धेरै तयारी गर्छ भन्ने लागेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell