PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु



सुमित मिश्र

सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु

जनकपुरधाम : प्रदेश २ को सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ।

बिहीबार बिहान वर्षासँगै परेको चट्याङले सप्तरीका छुट्टाछुट्टै स्थानमा चार जनाको मृत्यु भएको हो। जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

घरमा पूजा लगाएर सप्तकोशी नदीमा नुहाउन गएका महदेवा गाउँपालिका वडा २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादवको सप्तकोशी नदी छेउमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तिलक भारतीले जानकारी दिए। यस्तै खेतमा धान रोप्न जाँदा डाक्नेश्वरी नगरपालिका ९ लक्षनपट्टीका एक महिलाको चट्याङ लागेर मृत्यु भएको हो। मृत्यु हुनेमा ३० वर्षीया ललितादेबी यादव रहेको भारतीले बताए।

यस्तै, राजगढ गाउँपालिका वडा नम्बर २ बेल्ही चपेनामा खेतमा काम गर्न गएका ४६ वर्षीय केसी साहको पनि चट्याङ लागेर मृत्यु भएको छ। घाइते भएका उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल उप्चारका लागि ल्याउनेबित्तिकै मृत्यु भएको प्रवक्ता भारतीले जानकारी दिए। यस्तै एक १८ वर्षीया महिला चट्याङ लागेर घाइतेसमेत भएका छन्। राजगढ गाउँपालिका वडा २ बेल्ही चपेनाकै १८ वर्षीया आशा मण्डल चट्याङ लागेर घाइते भएकी छिन्। घरमा काम गरिरहेको अवस्थामा चट्याङले घाइते भएकी उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell