PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

आरडीटी रिपोर्ट पोजेटिभ, पीसीआर भने नेगेटिभ : क्वारेन्टाइनदेखि अस्पतालको वेवास्ताले लियो ज्यान



सुमित मिश्र

आरडीटी रिपोर्ट पोजेटिभ, पीसीआर भने नेगेटिभ : क्वारेन्टाइनदेखि अस्पतालको वेवास्ताले लियो ज्यान

जनकपुरधाम : भारतबाट फर्केका १५ वर्षे राजु सदालाई जेठ १४ मा धनुषाको हंशपुर नगरपालिकास्थित क्वारेन्टाइनमा राखियो।

आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि जेठ २८ गते प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भए उनी।

झाडापखलाका बिरामी उनी त्यहाँ सिकिस्त भए। उनको शरीर शिथिल बन्यो। त्यसपछि उपचारको लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा ल्याइयो।

अस्पतालमा उनको पीसीआरका लागि स्वाब लिइयो। असार ७ गते उनको पीसीआर रिपोर्ट आयो - कोरोना नेगेटिभ। अस्पताल बसाईकै क्रममा छट्पटिएको पाएपछि उनलाई असार ८ गते सोमवार दिउँसो १२ बजेतिर आकस्मिक कक्षामा भर्ना गरियो। त्यसको भोलिपल्ट असार ९ गते उनको मृत्यु भयो।

परिवारको आरोप

उनी अस्पतालमा छटपटाइ रहँदा पनि कोरानाको आशंकामा चिकित्सकले उपचार गर्न नमानेको राजुको परिवारको आरोप छ। उपचार नपाएकै कारण छट्पटिएरै उनको मृत्यु भएको राजुकी आमा निलम देवीले बताइन्।

राजुको शरीर निकै कमजोर हुँदै गएपछि उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स खोजिएको थियो। एम्बुलेन्स नपाएपछि उनलाई टिप्परमा राखेर प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो।

राजुलाई प्रादेशिक अस्पताल ल्याएर आइसोलेसन कक्षामा राखियो। त्यहाँ कसैले वास्ता नगरी एकाएक आइसोलन कक्षमा पीडाले छटपटाइ रहेको उनकी आमाले बताइन्।

धनुषाको हंसपुर नगरपालिका वडा ७ स्थित प्रसाहीका राजुको झाडापखालाकै कारण मृत्यू भएको मृतककी आमा निलमदेवी बताइन्।

भारतको मदरासमा मजदुरी गर्दै घरपरिवारको गुजारा चलाउथे राजु। तर कोराना महामारीले रोजगारी गुमेपछि गाउँ फर्किएका थिए।

'दलित र गरिब भएकै कारणले मेरो छोरालाई मारिदिएँ,' राजुकी आमाले गहभरी आँशु पार्दै भनिन्, 'पैसा छैन, लकडाउनको बेला विना पैसाको कुनै पनि काम हुदैन, अस्पतालसम्म जसरी ल्याए पनि अस्पतालका चिकित्सकले पनि दलित रहेको र कोरोना लागेको भनि उपचारतर्फ ध्यान दिएनन्।'

यता प्रादेशिक अस्पताल जनकपुरका डा.कुलदीप पण्डितले अस्पतालमा आएपछि झाडापखाला केही दिनमै निको भएको दाबी गरे।

अस्पतालका फोकल पर्सनसमेत रहेका डा. पण्डितले राजुको मृत्यु मस्तिष्कघात हुन सक्ने आशंका गरेका छन्।

राजुको परिवारको चार माग

राजुकी आमा निलमदेवीले पत्रकार सम्मेलन गरी ४ सुत्रीय माग अघि सारेकी छिन्।

राजु सदाको मृत्युको घटनाको अनुसन्धान हुनुपर्ने, प्रादेशिक अस्पतालका मेसु, अस्पताल प्रशासन र आइसोलेसनसहित इमरजेन्सीका जिम्मेवार व्यक्तिमाथि कारवाही हुनुपर्ने, हंशपुर नगरपालिका वडा नम्बर ७ स्थित नौहाप्रसाही क्वारेन्टाइनका व्यवस्थापक माथि कारवाही हुनुपर्ने र छट्पटाएर प्राण त्यागेका राजुको परिवारलाई अविलम्ब राहत व्यवस्थाको माग संयूक्त दलित संघर्ष समितिले गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell