PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

आन्तरिक उडान शुरु गर्न बुद्धले गर्‍यो डेमो: विमानमा यात्रुहरुलाई फेस सिल्ड अनिवार्य, उडान अवधिभर यस्तो हुनेछ व्यवस्था

आन्तरिक उडान शुरु गर्न बुद्धले गर्‍यो डेमो: विमानमा यात्रुहरुलाई फेस सिल्ड अनिवार्य, उडान अवधिभर यस्तो हुनेछ व्यवस्था


काठमाडौं :  अब हवाई यात्रामा कोभिड-१९ सुरक्षाका उपायहरु अवलम्बन गर्नुपर्ने भएपछि आन्तरिक उडानको परम्परागत व्यवस्थामा परिवर्तन आउने देखिएको छ। आन्तरिक उडान संचालन भएपछिका लागि आफूलाई तयार राख्न निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले स्वास्थ्य सुरक्षा निर्देशिका अनुसार बिहीबार 'डेमो' उडान गरेको छ।

बुद्धले बिहीबार परीक्षणस्वरूप गरेको 'ड्रिलिङ' अन्तर्गत काठमाडौंबाट पोखरासम्मको उडान कस्तो हुने भन्ने डेमो गरेको हो। एटिआर जहाजमार्फत ७० जना यात्रुका लागि कम्पनीले दुई दिनअघि नै टिकट बुकिङ गरेको थियो। यात्रुलाई विमानस्थल आइपुगेपछि फोनमार्फत टिकट देखाउनका लागि पहिले नै जानकारी दिएको थियो।

बिहीबार बिहान आएका यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूल प्रवेशद्वार देखि नै चेकिङमा थिए। नागरिक उड्डयन प्राधिकरणको निर्देशिकाअनुसार स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै मूल प्रवेशद्वारदेखि नै जाँचका लागि प्रहरी परिचालित थिए।

यतिबेला हवाई यात्राका लागि विमानस्थल पुग्ने यात्रुले आन्तरिक टर्मिनल भवनमा प्रवेश गर्नुअघि मास्क लगाउनु अनिवार्य छ भने छेउको हेल्थ डेस्कमा थर्मल गनमार्फत शरीरको तापक्रम र स्वास्थ्य परीक्षणको व्यवस्था छ। यात्रुलाई भौतिक दुरी पालनाका लागि एक–एक मिटरमा उभिने ठाउँ मार्किङ गरिएको छ।

स्वास्थ्य मापदण्ड र भौतिक दुरी पालनाका लागि गरिएका व्यवस्थाका कारण टर्मिनल भवनहुँदै जहाजसम्म पुग्न कोभिड १९ अघिजस्तो सहज र चाँडै हुने छैन अब। बोर्डिङ प्रक्रियामा समेत मार्किङको नियम बनाइएकाले भवनभित्र प्रवेशका लागि मात्र करिब २० मिनेट लाग्ने छ। बोर्डिङ गर्दा पहिलाजस्तो प्रिन्टेड टिकट देखाउनु पर्दैन। यात्रुले मोबाइलबाटै इ–टिकट देखाए पुग्छ ।

बोर्डिङ काउन्टरमा बसेका कर्मचारीहरुका लागि फेस शिल्ड र मास्क इत्यादिको व्यवस्था गरिएको छ । यात्रु र कर्मचारीबीच सम्पर्क हुने डेस्कहरुमा पारदर्शी काँच लगाइएको छ। यात्रुले अनिवार्य रूपमा स्वास्थ्य अवस्थाको जानकारी दिनका लागि कम्पनीले तयार पारेको प्रश्नको उत्तरहरुमा 'टिक' लगाउनुपर्ने तोकिएको छ। १४ दिनयता खोकी र ज्वरोलगायत लक्षण नदेखिएका यात्रुलाई मात्र बोर्डिङ पास दिइनेछ।

यात्रुलाई बोर्डिङ हुनुअगाडि नै शौचालय प्रयोगका लागि अनुरोध गरिन्छ। जहाजभित्र यात्रुको मुभमेन्ट कम रहोस् भन्ने उद्देश्यले कम्पनीले यो उपाय अवलम्बन गरिएको हो। विमानस्थलमा कर्मचारीहरू मास्क र फेस सिल्डसहितको पीपीई लगायत सुरक्षा सामग्रीहरुमा छन्।

हवाई सेवा कम्पनीले र्‍याम्प बसमा पनि दुरी कायम गराएर यात्रुलाई जहाजसम्म लग्ने व्यवस्था मिलाएको छ। बसका चालकले अनिवार्य पीपीई लगाएका छन्।

बसबाट ओर्लिएर जहाज चढ्नका लागि एक पटकमा चारजना मात्र यात्रु बसबाट झारिन्छ र यसरी नै बिहीबार ७० जना यात्रुले नयाँ व्यवस्था अनुभव गरेका छन्। 

जहाज चढ्दा एयर होस्टेजको स्वागत यात्रुले अघिपछि जस्तो किसिमले महसुस गर्न पाएनन्। कोभिड-१९ का कारण एयर होस्टेजले नमस्तेसँगै यात्रुलाई हातमा फेस सिल्ड पनि दिइन्। उक्त फेस सिल्ड यात्रुले अनिवार्य प्रयोग गरे।

सिटमा बसेपछि एयर होस्टेजले यात्रुको स्वास्थ्य अवस्था सहजताबारे सोधिन्। अबको हवाई यात्रा कस्तो हुने भन्ने अभ्यासमा कागि डेमो गरिएको हो।

यात्रामा असहज हुने यात्रुले टाउको माथि रहने बेल बजाएपछि एयरहोस्टेज आइपुग्नेछिन्। जहाजभित्र बसेपछि पनि उडानअघि यात्रुलाई सास फेर्न गाह्रो हुनका साथै टाउको दुख्ने समस्या समेत देखिए मेडिकल टिम बोलाएर उसलाई स्वास्थ्यकर्मीसम्म पुर्‍याउने व्यवस्था गरिएको बुद्ध एयरले जनाएको छ।

निर्धारित स्वास्थ्य सुरक्षा निर्देशिका अपनाएर गरिने यस्तो उडानका दौरान पानी र खानेकुरा वितरण गरिने छैन। जहाजको शौचालय पनि बन्द रहने छ।  

प्रत्येक दिन जहाज डिसइन्फेक्ट

बुद्धले काठमाडौंबाट कुनै पनि गन्तव्यमा उडान गरेको जहाज दैनिक करीब एक घन्टा लगाएर फोम र स्प्रे प्रयोग गरेर डिसइन्फेक्ट गर्ने कम्पनीका क्वालीटी एस्योरेन्स म्यानेजर उपेन्द्र लाल श्रेष्ठले जानकारी दिए।

यतिखेर स्वास्थ्य सुरक्षा निर्देशिकाअनुसार कर्मचारीहरुलाई तालिम दिँदै आएको बुद्धले अबको डेढ महीनाभित्र स्वास्थ्यका दृष्टिले पूर्णरुपमा सुरक्षित उडान गर्ने योजना बनाएको प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले जानकारी दिए।

‘हामी आफ्नो तर्फबाट लागिपरेका छौँ। अगस्टबाट आन्तरिक उडान खुल्छ भन्ने आशा छ। यसका लागि हामीले ९९.९ प्रतिशत संक्रमण नफैलनेगरी उडान सुरु गर्ने उद्देश्य राखेका छौँ,' उनले भने, 'पीपीई, डिसइन्फेक्टिङ केमिकल र अन्य स्वास्थ्य सुरक्षा सतर्कता सहितको सेवा प्रवाहले कम्पनीको संचालन खर्च केही बढ्नेछ ।'

कम्पनीले यात्रुका लागि दिने फेस सिल्डको शूल्क भने टिकटमै समावेश गर्ने योजना रहेको उनले बताए।' यसको मूल्य अहिले ५५ रुपैयाँ रहेको बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell