
जनकपुरधाम : महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका वडा नं ५, डठौरा मुसहर बस्ती। बस्तीको मुखैमा भएको तटबन्ध हरेक वर्ष टुट्छ। अनि बस्तीका घरदेखि गोठसम्म, चौपाया, अन्न बाली केही नराखी बगाउँछ। उर्लेर आएको पानीबाट ज्यान जोगाउन भाग्छन् गाउँले सबै।
'हामी त जसो तसो ज्यान जोगाउँछौं तर बाढीको प्रलयले हाम्रो ज्यानको अलावा सबै लिएर जान्छ', स्थानीय राम एकवाल सदा सुनाउँछन्।
सरकारले हरेक वर्ष तटबन्ध मर्मत गरेको दाबी गर्छ। तर, कुनै पनि वर्ष त्यो तटबन्धले बाढी छेकेको याद छैन राम एकवाललाई। मर्मतको नाममा त्यही नदीको माटो निकालेर थुपारिने गरेको उनको आरोप छ। भन्छन्,'मर्मतको नाममा माटोको थुप्रो, बालुवामा पानी हाले सरह बन्छ।'
राम एकवालको गाउँमा करिव १ सय ६२ जना बसोवास गर्छन्। सरकारले त्यहाँ जनताको आवास कार्यक्रम सञ्चालनमा ल्यायो। पहिलो चरणमा ६० परिवारको लागि घर निर्माण भइरहेको छ। तर उक्त घरहरु बनिरहेको ठाउँमा पनि बाढीको प्रभाव नपर्नेमा ढुक्क छैनन् स्थानीय। त्यसैले गाउँ र गाउँलेको सुरक्षाका लागि यस वर्ष पनि हार गुहार गर्दैछन् उनीहरु।
बाढीको त्रास त छ नै सँगसँगै कोरोनाको त्रास पनि थपिएको छ। महोत्तरीमा मात्रै ५०० भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। त्यसमाथि थपिएको छ समाचारको त्रास।
रेडियोले भन्छ - करोना कहरकाबीच सप्तरीमा भोकका कारण मल्लर सदाको निधन।
धनुषाको क्वारेन्टिनमा पखालाका कारण राजु सदाको मृत्यु।
प्रहरी हिरासतमा शम्भु सदाको मृत्यु।
भारतबाट घर फर्कने क्रममा धनुषा जटही नाकामा वीरेन्द्र यादवको मृत्यु।
'समाचारले झन् डर थपेको छ। सरकारले हामीलाई देख्दैन भन्ने डर। देख्ने, सुन्ने भइदिएको भए त हरेक वर्ष उस्तै हार गुहार गर्नु पर्दैन थियो नि', उनले भने।
बाढी आएर घर बगाए कहाँ जाने? यस पटक कोरोना कहरले भाग्ने बाटो समेत थुनिदिएको कथन छ उनको।
पोहोर साल असारको अन्त्यतिर महोत्तरी डुबानमा पर्यो। गएको वर्ष बाढीले दिएको घाउ ठीक नहुँदै कोरोना आएको हो। कोरोनाको त्रास बीच फेरि वर्खा आयो। पानी दर्कन सुरु भएदेखि निदाएका छैनन् गाउँका प्राय।
करोडौ लगानी गरेर पुनर्निर्मित तटबन्धहरु भत्किने,उप्किने र बिग्रने क्रम सुरु भइसक्यो।
पछिल्लो वर्ष बाढीले बगाएका रातो, कुटमेश्वरी, जंगहा, मरहा लगायतका नदीहरुमा बगाएको बाँधहरुको त अझै पूर्ण मर्मत सम्भार र निर्माण कार्य पूरा हुन सकेको छैन। 'जनताको तटबन्ध' कार्यक्रम फिल्ड कार्यालय नं २ का राजेन्द्र देवले भने झण्डै ६० देखि ७० प्रतिशत तटबन्धको कार्य सम्पन्न भइसकेको दाबी गर्छन्।
'बाँकी काम सम्पन्न नहुनुको कारण बजेट निकासा नहुनु हो। पहिलो चरणमा ९ करोड आएको थियो। पछिल्लो चरणमा १५ करोड आउनु पर्ने थियो। त्यसैका लागि काठमाडौंसम्म धाएँ। तर पूरा बजेट निकासा भएन। तर, हामी अहिले बाढीभन्दा पहिले नै तटबन्ध मर्मत सक्ने गरी काम गरिरहेका छौं', राजेन्द्र देवले भने।
उनले तटबन्ध निर्माणका लागि माटो खरिद गर्न पर्याप्त बजेट अपुग भएकाले नदीकै माटो प्रयोग गरेको बताए। स्थान र पानीको वेग हेरेर तटबन्धमा तारजाली लगाइने उनले दाबी गरे।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले भने नदीबाटै निकालिएको बालुवा मिश्रित माटोले तटबन्ध बलियो नहुने तर्क राख्छन्। त्यसैले तत्काल तारजाली लगाउनुपर्ने उनको मत छ। भने,'यो पटक कोरोना नियन्त्रणमै अधिक समय खर्चनु परेको छ। महोत्तरी बाढीको उच्च जोखिममा रहेको जिल्ला भएकाले बाढी बस्तीमा पस्नबाट रोक्न पूर्व तयारीतर्फ अग्रसर छौं।'
गत वर्ष असार २८ र २९ गते आएको बाढीले महोत्तरीका ८ जनाको ज्यान लियो। त्यसअघि ९ जनाकोबाढीकै कारण मारिएका थिए। गत वर्ष बाढीमा आउँदा त हरेक पालिकामा ढुंगाको समेत अभाव हुँदा रेस्क्युमा समस्या परेको थियो।
गत वर्ष ३ हजार ७ सय ५८ घर पुर्ण रुपमा क्षतिग्रस्त भयो। ९ हजार ४७ घरमा आशिंक र ६ हजार ७ सय ९८ घरमा सामान्य क्षति पुग्यो। तर, बाढीले हरेक वर्ष क्षति पुर्याइ रहँदा यस वर्ष पनि बाढी नियन्त्रणका लागि पूर्व तयारी भने देखिएको छैन।
३ दर्जन भन्दा बढी गाँउ जोखिममा
महोत्तरीमा मरहा, अंकुशी, रातो, विग्ही, हर्दी, ढोलन लगायतका साना र ठुला दर्जनभन्दा बढी नदीहरु छन्। यी नदीको किनारमा रहेको करिव ४० भन्दा बढी गाँउमा बाढीको त्रासमा छन्। महोत्तरीको विभिन्न नदीको किनारमा रहेको औरही, हतिशर्वा, संग्रामपुर, भगवतिपुर, रौजा, बज्राही, जलेश्वर, बलबा लगायत ४० भन्दा बढी गाँउ बाढीको जोखिममा छ।
बाढीको चुनौती
महोत्तरीमा विपद व्यवस्थापनको लागि योजना अभाव, तटबन्ध निर्माणमा ढिलासुस्ती, तटबन्ध समेत वैज्ञानिक तरिकाले निर्माण नहुनु, पूर्व सूचना प्रणाली अभाव, उद्धार सामग्री अभाव र तालिम प्राप्त जनशक्ति समेतको अभावकै कारण क्षति हरेक वर्ष बढ्ने गरेको छ। यी समस्या समाधानको लागि सरोकारवाला निकायहरुको ध्यानाकर्षण हुनुपर्ने बताउँछन् स्थानीय राम सदा।