PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

जनकपुरधाम उपमहानगरको नगरसभाप्रति असन्तुष्ट वडाध्यक्षहरुले गरे प्रदर्शन, अवैधानिक भएको भन्दै अदालत जाने तयारी



सुमित मिश्र

जनकपुरधाम उपमहानगरको नगरसभाप्रति असन्तुष्ट वडाध्यक्षहरुले गरे प्रदर्शन, अवैधानिक भएको भन्दै अदालत जाने तयारी

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पाचौँ नगरसभा अवैधानिक तरिकाले सम्पन्न गरेको भन्दै असन्तुष्ट वडाध्यक्षहरुले शुक्रवार विरोध प्रदर्शन गरेका छन्।

असन्तुष्ट वडाध्यक्षहरुको विरोधका बावजूद पनि नगरप्रमुख साहले नगरसभा गरेपछि विवाद चुलिएको हो। असन्तुष्टहरुले शुक्रवार नगरसभाको विरोधमा प्रदर्शन गरेका छन्। उनीहरुले जनकचोकबाट विरोध र्‍यालीको आयोजना गरी नगरपरिक्रमा गरेका छन्। जनकचोकबाट निकालिएको विरोध र्‍याली रामचोक, महावीरचोक, सोनारपट्टी, जानकी मन्दिर, शिवचोक, भानुचोक हुँदै पुनः जनकचोकमा आई कोणसभामा परिणत भएको थियो।

कोणसभामा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले नगरप्रमुख लालकिशोर साहले आफ्नो भ्रष्टाचार लुकाउनका लागि आफूहरुको बहुमत हुँदाहुँदै पनि फर्जी हस्ताक्षर गराएर नगरसभा गराएको आरोप लगाए। आफूहरु नगरसभा गराउनका लागि लचकता अपनाए पनि नगरप्रमुखले आफूहरुसँगको वार्तामा पनि हैकमवादी चरित्र देखाएको उनले आरोप लगाए।

त्यस्तै, वडा नम्बर-७ का वडाध्यक्ष जानकी राम साहले नगरप्रमुख साहले अवैधानिक तरिकाले नगरसभा सम्पन्न गरेकोले आफूहरु बाध्य भएर सडकबाट आन्दोलन शुरु गर्नु परेको बताए।

वडा नम्बर १३ का वडाध्यक्ष शुभनारायण मण्डलले आफूहरुसँगको वार्ता असफल भएपछि आफूहरुको बहुमत भएकोले नगरसभा सफल हुनु नै अवैधानिक रहेको बताए। वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले आफ्नो अवैधानिक नगरसभालाई वैधानिकता प्रदान गर्नका लागि वडाध्यक्ष तथा वडा सदस्य एवं कार्यपालिका सदस्यहरुलाई मेयर लालकिशोर साहले आर्थिक प्रलोभनमा पारेको आरोप लगाए।

वडा नम्बर ५ का वडाध्यक्ष मनोज साहले नगरप्रमुख साहलाई नगरसभाको पक्षमा बहुमत सावित गर्न चुनौती दिएका छन्।

उनले भने, ‘उनीहरुको हस्ताक्षर रहेकोे भन्दै सावित गर्न हामी अदालतसम्म जाने तैयारी थालिसकेका छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell