'भाइको अभिनय दामी रै'छ। सिरियल खेल्ने भए दश हजार खर्च गर।'
चार वर्षअघिको कुरा हो। त्यतिखेर हिमेश पन्तसँग टेलिश्रृङ्खलामा अभिनय गर्नकै लागि दश हजार रुपैयाँ थिएन। तर, हाँस्य अभिनयको हुटहुटी भने निकै थियो। ठाउँ पाए आफ्नो ट्यालेन्ट देखाएरै हिट हुन्छु भन्ने लाग्थ्यो उनलाई। त्यसैले 'दिमाग खराब' नामक टेलिश्रृङ्खलामा अभिनयका लागि बार्गेनिङ गरे। पाँच हजार तिरे।
'क्र्याक' नामक पात्र दिइयो उनलाई। हुलिया – झुत्रे झाम्रे लुगा लगाउने। शाहरुख खान, नाना पाटेकर, सुनिल सेट्ठी लगायतको आवाज निकाल्ने।
मिमिक्रीमा खुब रमाउने उनका लागि त्यो भूमिका खासै गाह्रो थिएन। निर्देशकदेखि छायाँकारसम्मले निकै तारिफ गरे। भने, 'भाइको क्यारेक्टर पक्का हिट।'
हिमेशले पनि पत्याए।
तर, चार श्रृङ्खला खिचेपछि आफूलाई शिव बाबा बताउने निर्देशक गायब। पहिलो भाग युट्युबमार्फत् रिलिज भयो। न दर्शक प्रतिक्रिया न हिट वा फ्लपको मापन नै। त्यसपछि उनको अभिनय यात्रामा लाग्यो झ्याप्पै ब्रेक।
+++
स्कुले जीवनदेखि नै नेपाली हाँस्य टेलिश्रृङ्खला हेर्न छुटाउँदैन थिए उनी। तिनका पात्रहरुको हुबहु 'कपी' गर्थे। साथी र शिक्षकहरु उनको कला देखेर दङ्ग पर्थे र हौस्याउँथे।
हसाउँदै सबैलाई रिझाएका उनी पढाइमा कम थिएनन्। एसएलसी परीक्षाफल पछि उनीसँग प्लान ए र बी दुवै थियो।
८० प्रतिशतभन्दा माथि आए प्लान ए अर्थात् साइन्स पढ्न काठमाडौं जाने। नभए प्लान बी अर्थात् धादिङमै म्यानेज्मेन्ट पढ्ने। काठमाडौं जान पाए भने त्यहाँ हाँस्य टेलिश्रृङ्खलाका लागि पनि बाटो खुल्न सक्ने सपना चाहिँ देखेका थिए।
परीक्षाफल आयो। प्लान ए ले नै काम गर्यो। धादिङको जुङ्गेखोलाबाट २०७० सालमा काठमाडौं आए हिमेश।
काष्ठमण्डप कलेजमा भर्ना भए। त्यहाँ पनि उनले गर्ने मिमिक्री र हाँस्य व्यङ्ग्यको चर्चा चुलिन समय लागेन। साथी र शिक्षक उनको मिमिक्रीको तारिफ गर्थे। आफ्नो अभिनयमा पूरा कक्षा हाँसोले गुञ्जँदा उनको आत्मविश्वास बढ्यो।
कमेडीले मानिसलाई फरक ऊर्जा दिन्छ भन्ने बुझे उनले। त्यसैले इन्टरनेटमा हाँस्यविधा सम्बन्धी सामाग्रीहरु खोज्न थाले। सबैभन्दा रोचक लाग्यो – स्ट्यान्ड अप कमेडी जसबारे नेपालमा खासै चर्चा सुनेकै थिएनन्।
बिस्तारै, युट्युबमा स्ट्यान्ड अप कमेडी हेरेर समय कटाउनु उनको दैनिकी बन्यो। बुझे – आफूले गर्दै आएको मिमिक्री त कमेडीको एउटा पाटो मात्र रहेछ। कमेडीको ओजन त आफूले उठाउने विषय र प्रस्तुत गर्ने शैलीमा हुन्छ। अनि मिमिक्री कम विषय केन्द्रित कमेडीमा ध्यान दिन थाले उनले।
प्लस टू सकियो। पढ्न चाहन्थे इन्जिनियरिङ। इन्जिनियरिङ अध्ययन संस्थानको पुल्चोक क्याम्पसमा प्रवेश परीक्षा दिए। छात्रवृत्ती पाएनन्। पैसा तिरेर पढ्न सक्ने अवस्था थिएन। त्यसैले अस्कल क्याम्पसमा बीएस्सी पढ्न थाले।
दिउँसो पढ्न जान्थे। खर्च जोहो गर्न बिहान इन्स्टिच्युटहरुमा प्लस टूका विद्यार्थीहरुलाई केमेस्ट्री पढाउथे। साँझ स्क्रिप्ट लेख्थे। सम्पादक पनि आफै। दर्शक, स्रोता चाहिँ साथीहरु। धेरैभन्दा धेरै मानिससम्म आफ्नो अभिनय पुर्याउन चाहन्थे। तर, नेपालमा मौलिक विधाका हाँस्य टेलिश्रृङ्खलाबाहेक अन्य माध्यमबारे पत्ता लगाउनै सकेनन्। स्ट्यान्ड अपको अवधारणा त भित्रिएकै थिएन।
त्यसैले आफ्नो कमेडी प्रस्तुत गर्ने ठाउँ खोज्दै टेलिश्रृङ्खला टोलीसँग ठोक्किएका थिए उनी। दुर्भाग्य, पहिलो गाँसमै ढुङ्गा लाग्यो उनलाई।
त्यसपछि एक युट्युब च्यानलसँग मिलेर आफै स्ट्यान्ड अप कमेडी बनाउने निधो गरे। तामझामका साथ केही मानिस जम्मा पारी छायाँकन गरे। यसपटक पहिले निर्देशक भागेजस्तै अवस्था भोग्नु पर्ने चुनौती थिएन।
च्यानल सञ्चालकसँग भिडियोबाट आएको पैसा आधाआधा बाढ्ने सहमति भएको थियो।
ढुक्कै अपलोड गरे उनीहरुले भिडियो। हिमेशले हिट हुने सपना देखिसकेका थिए। तर, भिडियोले पाँच सयभन्दा बढी भ्यूज पाउन सकेन।
उक्त च्यानलबाट त्यो भिडियो हटाइयो।
अध्ययन, अध्यापन र युट्युबमा नै समय बित्दै गयो उनको। त्यस्तैमा एकदिन नेपाली स्ट्यान्ड अप कमेडीको भिडियो देखे। थप बुझ्न 'कमेडी सर्कल' नाम गरेको च्यानलमा चहारे।
'भ्युज, लाइक, कमेन्ट केही नभए पनि स्ट्यान्ड अप कमेडी गर्ने समूह त रहेछ नि। मैले खोजेको यही त हो,' उनले स्ट्यान्ड अप कमेडीको ट्र्याकमा हिँड्न थाल्नुको कथा सुनाए, 'प्रक्रिया बुझेँ। अनि अडिसन दिन गएँ।'
एक स्टुडियोको खाली कोठा। अगाडि क्यामेरा र एक जना मानिस। हिमेशले सोधे – 'दाइ अडिसन लिने सरहरु खोइ त?'
'भिडियो खिचेर उहाँहरुलाई देखाउने हो,' जवाफ पाए।
अंग्रेजी कमेडी उत्कृष्ट गर्नसक्छु भन्ने आत्मविश्वास थियो उनमा। त्यसैले अडिसनमा अंग्रेजी कमेडी गरे। त्यो पनि प्रधानमन्त्री केपी शर्मा ओलीको लवजमा।
'बोली सुन्दै हाँस उठ्ने प्रस्तुति दिएँ। तर, पनि त्यसदिन पटकपटक फोन हेरेँ, सेलेक्सनको घण्टी बज्छ कि बज्दैन भनेर,' त्यो दिन सम्झिए उनले।
नभन्दै सोही दिन साँझ फोन आयो। कमेडी सर्कलबाटै रहेछ।
'भाइ तिम्रो एक्सप्रेसन, हाउभाउ सबै गज्जब छ। हामीलाई मनपर्यो। शनिवार सुट हुन्छ। कन्टेन्टसहित आउनु है,' उताबाट कोही बोल्यो।
हिमेशलाई आफूले दिउँसो प्रस्तुत गरेको कमेडीको तारिफ सुन्नु थियो। सोधे – 'दाइ आजको कन्टेन्ट चाहिं कस्तो लाग्यो?'
जवाफ आयो – 'सबैकुरा ठीकै थियो भाइ। आज अडिसनको भ्वाइस चाहिँ रेकर्ड नै भएनछ।'
त्यसपछि उनी छक्क परे – आखिर केको आधारमा छनौट भयो होला?
+++
आफ्नो अंग्रेजी भाषालाई लिएर आत्मविश्वासी थिए हिमेश। त्यसैले कमेडी सर्कलमा प्रस्तुतिको शुरुवात नै अंग्रेजी भाषामा गरे। उनलाई डर एउटै कुराको थियो – दर्शकले अंग्रेजी जोक पो मज्जाले बुझ्छन् कि बुझ्दैनन्?
पहिलो प्रस्तुतिमा उपस्थित सबै दर्शक शुरुदेखि अन्त्यसम्म मजैले हाँसे। हिमेश दङ्ग। सोचे – गज्जब गरेँ।
भिडियो युट्युबमा रिलिज भयो। कमेन्टको लर्को लाग्यो। उत्साहित हुँदै प्रतिक्रिया पढ्न थाले। अंग्रेजी लवजमाथि प्रश्न गर्ने र गिज्याउनेहरु पो धेरै थिए। निकै कमले उनको भाषिक शुद्धता र कमेडीको तारिफ गरेका थिए।
फोटो : कमेडी सर्कल/युटयुब
'तर, मलाई यस्ता कुराले खासै असर गर्दैन। हजारौंले हेर्दा एकदुई जनाले प्रश्न गर्नु स्वभाविक थियो,' उनले सुनाए।
तर, थप भिडियो सार्वजनिक भएपछि पनि उस्तै हाल। उनको कमेडीभन्दा बढी अंग्रेजी लवजमा हाँस्थे मानिस।
एकदिन उनको इन्स्टाग्राममा अपरिचित युवतीको मेसेज आयो। लेखिएको थियो – 'म तपाईंको अंग्रेजीको निकै ठूलो फ्यान हो। अंग्रेजीमा कमेडी गर्दा साँच्चै रोचक सुनिनु हुन्छ।'
उनले ती युवतीको प्रोफाइल खोलेर हेरे। करिव आठ हजार फलोअर्स थिए। प्रतिक्रिया नजनाइ हिमेशले सोधे – 'तपाईं मोडल हो?'
ती युवतीले हाँसेर टारिन्। हिमेशको खुल्दुली मेटिएन। फोटोहरु हेरे। तल कतै नायिका झरना थापासँगको फोटो रहेछ। क्याप्सन पढेरै चाल पाए उनी झरना थापाकी छोरी सुहाना रहिछन्।
त्यतिखेर उनले अभिनयमा डेब्यु गरेकी थिइनन्। 'तर, पनि झरना थापाकी छोरीले भनेपछि त होला, मेरो इङ्ग्लिस साँच्चै हाँसउठ्दो सुनिन्छ होला भन्ने लाग्यो,' यो चाहिँ उनले नहाँसी सुनाए।
+++
डेढ वर्षअघि कमेडीमा अवसर खोजिरहेकाहरुको सर्कल बनेको थियो ‘कमेडी सर्कल’। एकअर्कालाई सुन्ने र सुझाव दिने ठाउँ पाएका थिए। साथै प्रस्तुतिलाई सुधार्ने मौका पनि।
हरेक साता ८ कमेडियनहरुले प्रस्तुति दिन्थे। सबैको शैली फरक।
'आफ्नोमा धेरै हाँसो गुञ्जनु पर्छ। ताली बज्नु पर्छ भन्ने हुन्थ्यो,' हिमेशले भने, 'प्रस्तुति पोलिस गर्दै अघि बढ्न त्योभन्दा गज्जव मौका अरु के हुनसक्छ?'
करिव ६ महिना उनीहरुले बिना पारिश्रमिक प्रस्तुति दिए। आश पनि थिएन उनलाई। तर, जब स्पोन्सर पाए तब उनीहरुले प्रत्येक प्रस्तुतिको २५ सय पाउने भए। उनले सोचेका थिएनन् – यति चाँडै कमेडी गरेर पैसा पाइएला भन्ने।
बिस्तारै स्पोन्सर एकबाट दुई भए। पारिश्रमिक बढ्दै गयो। युट्युबमा भ्युज अनि प्रत्यक्ष हेर्न आउने दर्शक पनि बढ्दै गए। चर्चा चल्न थाल्यो। उस्तै फर्म्याटका अरु कार्यक्रमहरु पनि सुरु भए।
पारिश्रमिक बढेर प्रत्येक भागको दश हजार पाउन थालेपछि हिमेशले पढाउन छाडे। घरमा दिदीले सोध्थिन्, 'पैसा आउँदै थियो। पढाउन किन छाडेको?'
जवाफ सहज थियो – 'हरेक दिन दुई घण्टा पढाउँदा पाइने मासिक तलव हप्तामा बीस मिनेट प्रस्तुति दिँदा आउँछ।'
मिमिक्री हुँदै कमेडीमा प्रवेश गरेका उनी विषय केन्द्रित हुन थाले। कुन विषयमा प्रस्तुति दिने हो त्यसबारे अध्ययन गर्न थाले। भारतीय कमेडियन कुनाल काम्राको प्रस्तुतीले निकै प्रभावित भए उनी।
कमेडी सर्कल युवा दर्शक केन्द्रित भएकाले पनि राजनीतिक विषयवस्तु रुचिकर हुँदैन भन्ने बुझाइ स्थापित थियो। त्यसैले हिमेशले पनि राजनीतिक प्रस्तुति दिएनन्। तर, कुनाल काम्राको राजनीतिक विषयमाथिको कमेडीले हिमेशलाई थामिनै दिएन।
युवालाई सचेत गराउन र प्रश्न गर्न सिकाउन पनि राजनीति सम्बन्धी सामाग्री दिन आवश्यक ठाने। कमेडी सर्कलको तेस्रो सिजनमा प्रस्तुत गरे 'द गभर्मेन्ट एण्ड हिन्दुइज्म'। जसको चर्चा नि भयो र आलोचना पनि।
'आलोचना राजनीतिप्रतिको वितृष्णा थियो सायद्। मलाई कमेडीले नै हो हरेक अवस्थालाई सहर्ष स्वीकार्न सिकाएको। ताली गाली दुवै स्वीकारेँ,' उनले भने।
छोटो समयमै कमेडी सर्कलले हाइप पायो। कमेडियनहरु चिनिन थाले। हरेक एपिसोडका भ्युज एकाध हजारबाट बढेर आठ/दश लाखसम्म पुग्यो। तर, त्यहाँभन्दा माथि जान सकेन। सर्कलभित्रै छलफल हुन थाल्यो – कसरी अघि बढ्ने?
शैली फेर्ने। युट्युबमा सीमित नहुने, टिभी कार्यक्रम बनाएर अघि बढ्ने।
त्यसैबीच कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' घोषणा भयो। स्ट्यान्ड अप कमेडियनहरुले कार्यक्रमबारे एकअर्कासँग छलफल गरे। भाग लिने कि नलिने भन्ने सल्लाह भयो।
उनीहरुका लागि उक्त कार्यक्रम अवसर थियो – अझै धेरै दर्शकमाझ चिनिने। अनि प्रस्तुति सुधार्ने। पच्चिस लाख रुपैयाँ र गाडी, पुरस्कार पनि कम्ता आकर्षक थिएन।
अवसरसँगै आउँथे चुनौती पनि। नेपाली रियालिटी शो, त्यसमाथि नयाँ। कार्यक्रम चलेन भने?
धेरैको एउटै मत थियो – 'हामी एउटा लेभलमा चिनिएका छौं। त्यहाँ गयौं तर कार्यक्रम फ्लप भयौं भने यता पनि छुट्छ।'
+++
रातको १२ बज्न लागेको थियो। कमेडी च्याम्पियनले डिजिटल अडिसनका लागि खुला गरेको समय सकिन केही मिनेटमात्र बाँकी थियो। हिमेश भने हातमा मोबाइल बोकेर छट्पटाइ रहेका थिए। उनी द्विविधामा थिए – अडिसन दिने कि नदिने?
हिमेशलाई कमेडी सर्कलमा डेढ वर्ष लगातार गरेको भन्दा भिन्न केही गर्नु थियो। त्यसैले कमेडी च्याम्पियनप्रति आकर्षित थिए।
सँगै थिए साथी महेन्द्र। उनलाई हिमेशले डिजिटल अडिसनका लागि बनाएको भिडियो खुब मन परेको थियो। त्यसैले भने – 'तैंले पठाउन नसक्ने भए दे म पठाउँछु। तर, तैँले ट्राइ हान्नु पर्छ।'
हिमेशले फोन थमाए। भिडियो गयो। कमेडी सर्कलका साथीहरुलाई थाहा दिएनन्। किनकि सल्लाह भएको थियो – 'नजाने।'
साथीभाइ, आफन्त पनि ‘रिस्क नलिएकै बेस’ भन्थे।
कमेडी च्याम्पियन युनिटको प्रतिनिधिले फोन गरेर छनौट भएको जानकारी दिँदासम्म पनि उनमा अन्यौलता नै थियो। पत्तो पाउन सकेकै थिएनन्, आखिर सही निर्णय गरियो या गलत? तर, उनलाई आफ्नो कमेडीमा भने भरपुर विश्वास थियो।
प्रत्यक्ष अडिसनका लागि डाकिएको ठाउँमा पुग्दा पो छक्क परे। आफूसँगै कमेडी गर्ने साथीहरु सबै छनौट भएको खुशी सहित अघिल्तिर देख्दा।
त्यहाँ पुगेपछि उनको आत्मविश्वास ह्वात्तै बढेर आयो।
'प्रतिस्पर्धामा अनुभवी कमेडियनहरु सीमित थिए। आफू त आफैँ लेख्ने बानी भएको त्यसमाथि डेढ वर्षको अनुभव पनि। आफ्नै चान्स देखेँ,' उनी रौसिँदै सुनाउँछन्।
तर, कार्यक्रम अघि बढ्दै जाँदा उनीसँगै सबैले लेखनमा मेहनत गरे। प्रस्तुतिको शैलीमा निखार ल्याए। उनलाई पनि आफ्नो कमी कमजोरी महसुस हुँदै गयो। सोही अनुरुप आफैलाई परिस्कृत गर्दै लगे।
आफूलाई इन्ट्रोभर्ट बताउने हिमेश व्यङ्ग्याग्मक शैलीम गफ गर्न माहिर छन्। बोल्दिन भन्दाभन्दै एकै पटकमा दुई अर्थ लाग्ने कुरा बोल्नु उनका लागि सामान्य। कमेडी सर्कलमा त द्विअर्थी चुट्किलाहरु सुनाउँदा पनि ताली वर्षन्थ्यो। तर, कमेडी च्याम्पियनमा त्यो सम्भव थिएन।
'म चाहिँ क्लिन कमेडी पनि गर्ने भएकाले खासै गाह्रो भएन। तर, सोचेजस्तो सजिलो हुँदैन भनेर निर्णायक र दर्शकको प्रतिक्रियाले बुझायो,' हिमेशले भने।
विस्तारै दर्शकलाई बुझ्ने मौका पाए उनले। त्यसैअनुसार स्क्रिप्टमा काम गर्न थाले। विषय केन्द्रित रहनु र हसाउँदा हसाउँदै दर्शकलाई सोच्न बाध्य बनाउने खुबीका कारण पनि 'लजिकल कमेडियन'को ट्याग पाए उनले।
टप १० मा पुग्दा उनको आत्मविश्वासमा उर्जा थपियो। कन्टेन्ट र प्रस्तुतिमा जज र दर्शकले पनि विश्वास गरेको महसुस गर्न थाले।
'त्यसपछि पुरस्कारको लागि लामो रेस बाँकी थियो। तर, दर्शक कमाएँ भन्नेमा ढुक्क थिएँ,' उनले भने।
हरेक साता टिभीमा छोरालाई देखेपछिको उत्साहित हुँदै फोन गर्थे बुबा लोकनाथ र आमा सुन्तली। प्रस्तुति बिग्रिएको दिन पनि उनीहरु भन्थे – 'तेरो सबैभन्दा राम्रो थियो।'
त्यसरी फोन आउँदा घरमा छँदा बुबाले कुराकानीकै बीचमा गर्ने कमेडी सम्झिए उनले।
'उहाँ (बुबा) फेरि कपिल शर्मा स्टाइलको कमेडी गर्ने। बोल्दाबोल्दै मान्छेको बिल्ला हान्दिने। धेरै त आमाको। आमा पनि जोक ब्याक हान्न त खोज्ने हो तर सधैं फेल,' यति सुनाएपछि मज्जाले हाँसे उनी। र, थपे, 'तिनै सिच्वेसनल कमेडियन बुबा आमाको प्रभाव परेको हुनसक्छ ममा।'
भोटिङ राउन्ड शुरु भएसँगै दर्शकले निर्धारण गरे प्रतिस्पर्धीको यात्राको दुरी। आत्मविश्वास र आफूले मिहेनत गरेको स्क्रिप्टभन्दा बढी दर्शकको हातमा रहेको बुझे र अघि बढ्दै गए। माथि पुग्दै जाँदा उपाधीले राख्ने अर्थ महसुस गर्दै गए।
२०७६ चैत १ गते कमेडी च्याम्पियनको ग्रान्ड फिनाले भयो। हिमेश नेपालको पहिलो कमेडी च्याम्पियन घोषित भए। केही घण्टा क्यामराले घेरिए। फरक जीवन बाँची रहेको अनुभव गरे केही बेरलाई भए पनि।
फोटो : कमेडी च्याम्पियन/ फेसबुक
रोचक त के भने, गत वर्ष कमेडी च्याम्पियनमा सहभागिता जनाइसकेपछि मास्टर अफ साइन्स (एमएस्सी)को भर्ना खुल्यो। तर, उनी कलेज भर्ना भएनन्।
'खोइ किन हो भित्री मनदेखि वर्ल्ड टुर जान पाइन्छ जस्तो लाग्थ्यो। टप थ्रिमा परियो भने त जानै पर्छ। त्यति बेला क्लास छुट्छ भन्ने भाइब्स आयो। त्यसैले भर्ना गरिँन,' उनले सुनाए।
उनको त्यही भाइब्स सही साबित भयो।र, उनी टप थ्री हुँदै च्याम्पियन घोषित भए।
तर, उनको पूर्वनिर्धारित टुर र फर्किएर एमएस्सी पढ्न थाल्ने योजनामा ठूलो ब्रेक लगाइदियो कोरोना भाइरसले। देश त लकडाउनमा रह्यो नै। विश्वको कुनै कुना बाँकी राखेन भाइरसले।
त्यसैले, सामाजिक सञ्जालमार्फत् दर्शकसँग जोडिएका छन् - फेसबुक लाइभ र स्टाटसमार्फत्।
सँगै आफ्नो करियरबारे सोच्ने पनि प्रशस्त समय मिलेको उनलाई।
उनको लक्ष्य हो - केमेस्ट्रीको प्रोफेसर बन्ने।
चाहन्छन् – आफू भिडको अघिल्तिर उभिँदा हाँस्ने दर्शक बाहेक फरक झुण्ड देख्न। त्यो एक सपना र हाँस्ने हसाउँने प्रक्रिया निरन्तर अघि बढाउन पाए सधैं सन्तुष्ट रहने निर्क्यौल गरेका छन् उनले। भने, 'तरकारीमा पनि रोजाइ छैनन् मेरा। अरु त के खोजुँला र?'