PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाली छन्द कविताको पुनर्जागरण



नेपाली छन्द कविताको पुनर्जागरण

  • कोषराज न्यौपाने-

शक्तिवल्लभ अर्याल, वसन्त शर्मा, रघुनाथ पोख्रेल, उदयानन्द अज्र्याल, आदि थुप्रै कविहरू हुँदै आदिकवि भानुभक्त आचार्यमा आएर संस्थागत रूपमा विकसित भएको नेपाली छन्द कविता मानौँ हिमालयका स्वच्छ पहराबाट छहरा बन्दै नदीका रूपमा प्रवाहमय बनिरहेछ हिजोआज। नेपाली छन्द कवितालाई यसरी विश्वव्यापक बनाउन धेरै नेपाली कविहरू र संस्थाहरूको महत्त्वपूर्ण योगदान छ। भानुभक्तको सिङ्गो रामायण नेपाली छन्द कविताको पहिलो मूल भण्डार हो। यसलाई लेखे भानुभक्तले र फिँजाए मोतीरामले। व्यक्तिकेन्द्री छन्द कवितालाई संस्थाकेन्द्री बनाउन मोतीरामले पहिलो अभियान प्रारम्भ गरे। बनारस र काठमाडौंमा फरक–फरक समूह बनाएर मोतीमण्डली तयार गरी संस्थागत रूपमा उनबाट भएको कृत्य अभूतपूर्व छ। त्यो पनि तीस वर्षको अल्पायुभित्र। यस अर्थमा उनी नेपाली छन्द कविताका प्रथम अभियन्ता हुन्।

मोतीरामको अवसानपछि श्यामजीप्रसाद अर्यालका नेतृत्वमा ‘सूक्तिसिन्धु’को प्रादुर्भाव नेपाली छन्द कवितामा अर्को महत्त्वपूर्ण फड्को थियो। नौ वटै रसमा कविता रचना गर्ने महान् अभियानमा रहेको यस कवि वर्गले पहिलो रस रसराज शृङ्गारलाई रोज्यो र ‘सूक्तिसिन्ध’ नामक प्रथम ग्रन्थ प्रकाशित गर्यो। जवानीको जोशमा कविहरूले लेखेका विभिन्न खालका सम्भोग शृङ्गार र विप्रलम्भ शृङ्गारका रसिला कविता पढेर दरबारका युवती बिग्रिने भए भन्ने आरोपका साथ राणाहरूले यसलाई मन पराएनन्। फलतः राणा दरबारमा यो अपाच्य मानियो र यसका सबै प्रतिहरू खोजी–खोजी जलाइए। कविहरू जेल हालिए। अन्ततः यो अभियान एउटै ‘सूक्तिसिन्धु’मा सुरु भएर त्यही ‘सूक्तिसिन्धु’मै विलय भयो। राणाशासन नहुँदो हो त नौ वटा रसमा नौ वटै काव्यसङ्ग्रह निस्किन पाउँथे। यस अर्थमा नेपाली साहित्यको ज्यादै ठूलो सम्पति अपहरण गर्‍यो राणाशासनले।

‘सूक्तिसिन्धु’को प्रहारात्मक तोडपछि धेरै समय विश्राम लिनु पर्‍यो नेपाली छन्द कविताले। यद्यपि यसैबिच दार्जिलिङमा सूधपाले गरेको साहित्यिक योगदान प्रशंसनीय छ। दार्जिलिङमा सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधान (सूधपा)–हरूले ‘भानुभक्तको रामायण’ काँध–काँधमा बोकेर घरघर पुर्‍याए। त्यसबाट नेपालमा मात्र सीमित नेपाली छन्द कविता प्रवासमा मौलाउन निकै मद्दत पुग्यो।

धरणीधर त आफैँ ठूला छन्दकवि पनि बने र उनले एउटा ठूलो राजनीतिक जागरण पनि ल्याए। त्यसैबेला पारसमणि प्रधानले सिङ्गोे ‘रामायण’ रेडियो खार्साङ्गबाट प्रसारण गरेर नेपालीभाषी जनसमुदायमा ठूलो प्रभाव छरेको कुरा उत्तिकै उल्लेख्य छ।

नाटकमा बालकृष्ण समले छन्दप्रयोगको पर्याप्त उपयोग गरे पनि माध्यमिक कालीन नेपाली पद्यकविताले फड्को मार्न र आधुनिक अनुहार देखाउन चाहिँ १९९१ नै पर्खनु पर्‍यो।

सम्वत् १९९१ मा ‘शारदा’ पत्रिका नै आउनु पर्यो र व्यक्तिका रूपमा लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, सोमनाथ सिग्द्याल, भीमनिधि तिवारी, युद्धप्रसाद मिश्रजस्ता सशक्त कविहरू नै उदाउनु पर्यो। यी कविहरूको उदयसँगै नेपाली छन्द कविताले एउटा महान् गति लियो राणाकालमै। यसका केन्द्रीय व्यक्तित्व देवकोटा नै रहे। लेखनाथ अर्का शिखरपुरुष बनेर रहे। देवकोटासँगसँगै गड्गडाएर प्रवाहित भएको नेपाली छन्द कविता उनको निधनसँगै केही मन्द गतितिर झर्न बाध्य भयो। यद्यपि महानन्द सापकोटा, माधवप्रसाद घिमिरे, उमानाथ शास्त्री, देवकान्त पन्त, भवदेव पन्त आदि थुप्रै कविहरूले यसको निरन्तर प्रवाहशीलतामा अविच्छिन्न योगदान गरिरहे। कवि घिमिरेको दीर्घायुष्य र ऊर्जाशील कविव्यक्तित्वले गर्दा के गद्य के पद्य नेपाली साहित्यका सिङ्गो काव्यजगतकै शिखरपुरुष बन्न पुगे उनी।

गोपालप्रसाद रिमालले गद्य कविताको सुरुवात गरेपछि देवकोटा, सम लगायतका थुप्रै उच्च कविहरू गद्य कवितातर्फ पनि आकर्षित हुनुले र भवानी भिक्षु, विजय मल्ल, भूपि शेरचन, मोहन कोइराला, इन्द्रबहादुर राई, वैरागी काइँला, ईश्वर वल्लभ, हरिभक्त कटुवाल, पारिजात, कालीप्रसाद रिजाल, तुलसी दिवस आदि जस्ता अगणित शक्तिशाली कविहरूको गद्य कवितामा सशक्तताका साथ उदय हुनुले छन्द कविता अलि ओइलाए जस्तो हुन पुगे पनि भित्रभित्रै योगदान दिनभने पछि परेन। माधव घिमिरेले देवकोटापछिको छन्द कविताको पूरै नेतृत्व गरे भने उनीसँगसँगै भरतराज पन्त, भानुभक्त पोखरेल, भरतराज मन्थलीय, कञ्चन पुडाशैनी, रोहिणिविलास लुइँटेल, दैवज्ञराज न्यौपाने, घनश्याम कँडेल, वासुदेव त्रिपाठी, रमेश खकुरेल, गणेश विषमजस्ता सशक्त कविहरूले यस परम्परालाई राम्रैसँग धान्दै डोर्याइरहे।

झण्डै १ सय ५० वर्ष अघिदेखि नेपालको मेचीदेखि महाकालीसम्म मात्र होइन भारतका विभिन्न प्रान्तमा समेत नेपाली भाषीहरूमा ‘भानुभक्तको रामायण’ प्रचारित हुनुले सुरु भएको छन्द जागरणबाट प्राय सबै क्षेत्रमा सानाठुला छन्द कविहरू उत्पादन गर्न सरल भइदियो। अहिले पनि कविहरू उत्पादन गर्नमा प्रत्यक्ष–अप्रत्यक्ष भानुभक्तीय रामायणकै योगदान छ भन्नु अतिशयोक्ति हुँदैन। महाकवि देवकोटाको अवसानपश्चात् २०२० को दशकदेखि केही क्षयोन्मुख हुँदै गएको नेपाली छन्द कविता २०४९ सालदेखि यता अत्यन्तै गतिशील भएर अगाडि बढ्न लागेको पाइन्छ। त्यसको कारण के हो भने नेपाली छन्द कवितामा एकै चोटि चार–पाँच वटा सशक्त प्रयासहरू प्रारम्भ भए।

१. रातो बङ्गला स्कूल पाटनढोकाले आफ्ना सबै विद्यार्थीहरूलाई छन्द कविता प्रशिक्षण गराउनुका अतिरिक्त कक्षागत रूपमै कविता छुट्याएर एकदेखि दशसम्मका सबै विद्यार्थीलाई कम्तीमा १० वटा कविता घोकाउने काम गर्यो। त्यहाँका करीव तीन हजार विद्यार्थीहरू छन्द कविता राम्रैसँग सुनाउँछन्। यसरी वर्षैपिच्छे सयौँको सङ्ख्यामा छन्द कविता पढेका विद्यार्थीहरू देश विदेशमा छरिएका छन्। त्यसले छन्द जागरणमा एउटा राम्रै हलचल ल्याइदियो। त्यतिमात्र होइन विभिन्न छन्द कविताका सङ्कलित पुस्तक प्रकाशनका अतिरिक्त क्यासेटसमेत निर्माण गरेर रातो बङ्गला स्कूलले छन्द कविताको पुनर्जागरणमा मजबुत जगको काम गरेको छ। यसको प्रमुख श्रेय जान्छ साहित्यकार तथा भाषासेवी कमलमणि दीक्षितलाई। त्यसभित्र अन्य श्रेयस्कर पात्रहरू थुप्रै छन्।

२. २०४९ सालमै रामप्रसाद ज्ञवालीले एम.ए. को शोधपत्रमै अत्यन्त छिटो गतिमा डेय महिनाभित्रै ‘औँसीका फूलहरू’ नामक महाकाव्य लेखेर छन्द कविताको गति बढाउन एउटा नयाँ पाइला चाले। उनले यस महाकाव्यमार्फत् आफ्नो ऊर्जावान् क्षमता र प्रतिभाको परिचय दिनुका साथै सुस्ताएको नेपाली छन्द कवितालाई द्रुत गतिमा अगाडि बढाउन पनि ठूलो मद्दत पुर्याए। साथै उनी स्वयं यसै परिघटनापछि आफू स्थापित मात्र भएनन् अपितु अरूलाई स्थापित गराउन पनि सक्षम भए।

३. त्रिपन्न सालको प्रारम्भमै कवि माधव वियोगीले पोखराबाट छन्द बचाउ अभियानका साथ महाकाव्य लेखनको बाढी बढाए। माधव वियोगीको त्यो दूरदर्शी ऐतिहासिक अभियान अत्यन्त प्रशंसनीय र स्मरणीय छ।

४. त्रिपन्न सालमै कमलमणि दीक्षितको छत्रछायायुक्त संरक्षकत्व र अच्युतरमणको मजबुत जगको ढुङ्गोजस्तो मायामा आधुनिक आशुकवि रमेश खकुरेलको नेतृत्वमा कोकगोष्ठी सुरु भयो। प्रारम्भमा २०–२५ कविहरू भेला भएर कोठैमा कविता वाचन गरेर छन्द कविताको जागरणमा यसमा आबद्ध धेरै कविहरूले एउटा सशक्त गति दिने काम गरे। यी गोष्ठीहरूमा घटीमा ५–७ जनादेखि बढीमा ६० जनासम्म कविहरू भेला भएका छन्। तर ६० कविहरू भेला हुँदा उनीहरूले कोठा छाडेर काठमाडौँकै जगडोलको जङ्गल रोजे। कहिले कहिले कोठामा नअट्ता कलेजका क्यान्टिन र घरकै आँगन, बरन्डा, छत आदि पनि प्रयोग गरिएका छन्। विगत २५ वर्षदेखि कोकगोष्ठीको कार्यक्रम निरन्तर चलिरहेकै छ। यद्यपि यसका केही हस्तीहरू दिवङ्गत भइसके। कोकगोष्ठीका ती स्मरणीय हस्तीहरू हुन् कवि पुरुषोत्तम भट्टराई (पूर्वसचिव), भरतराज पन्त, भरतराज मन्थलीय, कमलमणि दीक्षित र कवयित्री ओमी शर्मा। यिनीहरूमध्ये केही होनहार प्रतिभाहरूको अल्पायुमै भएको निधनले कोकगोष्ठीलगायत सिङ्गो छन्द कवितामा भएको क्षति अव्याख्येय छ।

५. २०५५ सालमा भानुभक्तको सिङ्गोे रामायण क्यासेटबद्ध भयो। यसमा पनि करको (कमलमणि दीक्षित, रमेश खकुरेल, कोषराज न्यौपाने) समूहको संयोजनमा तथा म्यूजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माको सम्पूर्ण बन्दोबस्तीमा क्यासेट निस्कियो। त्यसमा भानुभक्तीय रामायणका सातै काण्ड १३१९ श्लोक रामायणलाई १३२ जना कवि कलाकार र साहित्यकारहरूले गायन र वाचन गरेर सुन्दर प्रस्तुति गरे। त्यसमा सङ्गीत भर्ने काम गरे मदन दीपबिम र शिलाबहादुर मोक्तानले। २०५५ सालको भानुजयन्तीका दिन २९ असारमा राष्ट्रिय नाचघरमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट यो क्यासेटको ठेली सार्वजनिक भयो। ५०० भन्दा बढी जनसमारोहका बीच सार्वजनिक भएको रामायण क्यासेटले देश विदेशमा नै गुञ्जन ल्यायो र देशभरिका विद्यालयहरूमा यसको अत्यन्तै प्रचार भयो। यसै साल अर्थात् २०५५ साल साउन १७ गते दार्जिलिङ्मा पनि यो क्यासेट सार्वजनिक गरियो। कमलमणि दीक्षितको नेतृत्व र म्यूजिक नेपालका प्रबन्ध निर्देशकको सम्पूर्ण व्यवस्थापनमा ११ जना कवि, लेखकहरू र गायक गायिकाहरूको टोली यस कामको लागि दार्जिलिङ् गएको थियो। त्यहाँ सार्वजनिक भएपछि रामायणका थुप्रै क्यासेटहरू एक प्रकार हारालुछजस्तै भए। हामीले पछि दोहोर्याएर त्यहाँ थप तीन सय सेट पठायौँ। अहिले म जति धेरै कविहरूका वाचन सुन्छु, रामायण क्यासेटका आवाजहरूका प्रभाव ती वाचनमा प्रशस्त पाइन्छन्। सिङ्गोे रामायणमा सबभन्दा महत्वपूर्ण गायक–गायिका चाहिँ गोविन्द आचार्य र लोचन भट्टराई हुन्। वास्तवमा गोविन्द आचार्य यस सन्दर्भमा विशेष धन्यवादका पात्र छन्। किनभने उनले २०५३ सालको भानुजयन्तीमा रेडियो नेपालबाट गाएको रामायणको मनमोहक स्वर नै सिङ्गो रामायणको क्यासेट निर्माणको सूत्रधार हो। त्यसो हुँदा यसका लागि साहित्यिक अभियन्ता र कवि यज्ञनिधि दाहाल तथा रेडियो नेपाल दुवै धन्यवादका पात्र छन्। यहाँ अर्को सानो तर महत्वपूर्ण छुटाउनै नहुने कुरो पनि छ त्यो के भने सिङ्गो रामायण क्यासेटको निर्माणपूर्व कमलमणिकै एकल प्रयास र खर्चमा गोविन्द आचार्य र अम्बिकाप्रसाद भट्टराईको वाचनमा सुन्दरकाण्डको तीस कपी क्यासेट निर्माण गरी छानिएका साहित्यकारहरूलाई सुनाउँदा उनीहरूले हामीलाई हौस्याए।  हामी हौसियौँ र म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्मालाई पनि हौस्याउन सफल भयौँ। अनि तयार भएको हो एघार वटा चक्कामा भानुभक्तीय रामायणको सिङ्गो क्यासेट। करको समूहको  निर्माणको अन्तर्कथा यस्तो छ। यो क्यासेटले नेपाली छन्द कविताको श्रीवृद्धिमा खेलेको भूमिका ज्यादै उल्लेख्य छ।

यसै सन्दर्भमा रेडियो नेपाल र यसका साहित्यिक सञ्चालकहरू घटराज भट्टराई, बेन्जु शर्मा, यज्ञनिधि दाहाल, नवराज लम्साल, रमेशपौडेलजस्ता अभियन्ताहरू अत्यन्त स्मरणीय छन्। उनीहरूले छन्द कविताको विकासको महान् अभियानमा उल्लेख्य भूमिका खेलेका छन्।

मोतीराम भट्टले भित्र्याएको नेपाली गीत–गजलसित पनि नेपाली छन्द कविताको भ्रातृ–भगिनी सम्बन्ध छ। नेपाली लोकगीत र आधुनिक गीतको विकासका बारेमा सायद केही गुनासो छैन। राम्रो प्रगति छ। तर मोतीरामबाट सुरु भई भीमनिधि तिवारीमा करिब–करिब टुङ्गिएको गजललाई प्राण भरेर पुनर्जागृत गरे गजलसम्राट् ज्ञानुवाकर पौडेलले। अहिले नेपाली गजल विधामा सय्यौँ मात्र होइन हज्जारौँको सङ्ख्यामा देश–विदेशबाट राम्रा गजलकारहरूको उदय भएको छ। करिब–करिब छन्द कवितासँगसँगै गजलले लिएको यो तुफानी गति अत्यन्तै वेगशाली र गौरवपूर्ण छ।

साठीको दशक पछि सञ्चारको विश्वव्यापीकरण भयो। क्यासेटका चक्काभन्दा एम.पी.थ्री. हुँदै फेसबुक र युटुबजस्ता सञ्चारका विकास भएपछि गीतहरूका साथमा कविताको बजार पनि विश्वव्यापी बन्न पुग्यो। अहिले आएर गायन वा वाचनमा गद्य कवितालाई धेरै पछि पार्दै पद्य कविता निरन्तर उच्चताको शिखरतर्फ लम्किरहेको छ। गद्यकविता पनि यद्यपि आफ्नो गतिमा अघि बढिरहेकै छ।

नेपाली छन्द कविताको विकासमा सुरुमा व्यक्तिमा योगदान केन्द्रित थियो भने अब यसले संस्थागत रूपमा आफूलाई रूपान्तर ग¥यो। यसको पहिलो श्रेय मोतीराम भट्टलाई जान्छ भने त्यसपछिको श्रेय नेपाली भाषा प्रकाशिनी समिति, ‘शारदा’ पत्रिका, साझा प्रकाशन र तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रष्ठिानलाई जान्छ। हालको पुनर्जागरणकालीन संस्थागत पहिलो श्रेय चाहिँ रातो बङ्गला स्कूललाई जान्छ भने दोस्रो श्रेय कोकगोष्ठीलाई नै जान्छ भन्ने लाग्छ मलाई। ७० को दशकमा आएर रचनावाचन, छन्दतरङ्ग, छन्दसाधना समूह (अमेरिका) नेपाली साहित्य सुधा, साहित्यवाटिकाजस्ता अनेकौँ संस्थागत स्वरूप आउनुले छन्द कविता जुर्मुराउँदो छ र यसको विश्वव्यापकता बढ्दो छ।

यो कोराना माहामारीको लकडाउनले विश्वभर धेरै कुरा ठप्प भए तापनि छन्द कविता चाहिँ झन् गतिशील बनेको छ। जुममार्फत् कहिले दैनिक, कहिले साप्ताहिक र पाक्षिक हुँदै अनेकौँ भर्चुअल कविगोष्ठीहरू भइरहेका छन्। यस सन्दर्भमा ती संस्थाहरू र तिनका सञ्चालकहरूको सक्रियता पर्याप्त देखिएको छ। कोकगोष्ठी, प्रतिभानिकुञ्ज, छन्दचौतारी, छन्दतरङ्ग, छन्दसाधना समूह (अमेरिका), छन्दवादी समाज, नेपाली साहित्य सुधा, साहित्यवाटिका आदि थुप्रै संस्थाका सञ्चालकहरू छन्द कविताको श्रीवृद्धिमा दिलोज्यान दिएर लागेका देखिन्छन्।

रमेश खकुरेल, होम सुवेदी, सोम निरौला, जीवन काश्यप, डा. रामप्रसाद ज्ञवाली, डा. देवी नेपाल, बलराम दाहाल, भैरवी भूगोल, कविराज पौडेल, हरि घिमिरे, दुर्गा रिजाल, मनीषा प्रसाईं, कल्पना काफ्ले, परशु तिमल्सिना, गोपाल रेग्मी आदि अभियन्ताहरूको यसमा ठूलो योगदान छ। वि.सं. २०५९ सालमा कवि अनिल पौडेलले एक्लो मिहिनेतमा धेरै कविहरूका धेरै कविताको क्यासेट निकालेको सन्दर्भ पनि स्मरणीय र स्तुत्य छ।

यसै सन्दर्भमा कवि देवी नेपालले कलकत्तामा भारतीय साहित्यकारहरूलाई नै एक धक्का दिँदै हिन्दीमा शार्दूलविक्रीडितछन्दमा कविता सुनाएर नेपाल, नेपाली र नेपाली भाषा साहित्यकै गौरव बढाएको कुरा स्तुत्य छ। साथै कवि हिरा भट्ट र कविराज पौडेलले शार्दूलविक्रीडितछन्दमै हिन्दीमा राष्ट्रप्रेमी कविता लेखेर गायन समेत गराई हज्जारौँ श्रोतासामु पुर्याएर स्तुत्य काम गरेका छन्। यो यी तीनवटै कविहरूले छन्दलेखनबाट बाटो बिराएका हिन्दी कविहरूलाई दिएको थप चुनौती पनि हो।

यस बिचमा व्यक्तिगत प्रयासमा कविता लेख्ने र गाउने असङ्ख्य कवि–कवयित्रीहरू, वाचकवाचिकाहरू र गायक–गायिकाहरू पनि छन्। यीमध्ये कोही त अत्यन्त प्रतिभावान् र मेधावी कविहरू छन् जो स्वयंमा एक्लै संस्थासरह देखिएका छन्। कविता लेखनका साथमा कविता वाचन र गायनको हाल जुन लहर चलेको छ त्यो पनि छन्द कविताको विकासमा अर्को महत्वपूर्ण फड्को हुन पुगेको छ। केही कविहरूका केही कवितालाई वाचनले उच्च शिखरमा पुर्‍याएका छन्। त्यसमा रामायण क्यासेटको प्रभाव अत्यन्तै देखिन्छ। त्यसका शिखर व्यक्तित्वहरू हुन् गोविन्द आचार्य र लोचन भट्टराई। अहिलेको नयाँ प्रविधिमा थुप्रै गायक गायिका देखिएका छन् तिनमा अग्रणी छिन् सरु गुरागाईं। उनी प्रभावशाली गायिका हुन् भन्ने कुरा स्वतः स्पष्ट छ। त्यसमा पनि धेरै जनाले उनको लय पछ्याएबाट उनको शक्तिशालिता अरू प्रमाणित हुन्छ। कतिपयका गायन त हुबहु सरुमय छन्। यद्यपि सरुले पनि अरु कसैको लयबाट सिकिन् होला तर त्यो अब उनको सम्पति भएको छ र अब अरूले उनको अनुकरण गरेको मानिन्छ। सरु गुरागाईं कविभन्दा उच्च कोटिकी स्वरकी धनी व्यक्तित्व हुन्।

नेपाली छन्द कवितामा हाल आएर पुरुष कविहरूसरह र अझ बढ्तासमेत संभावना बोकेर जो नारी कविहरू देखा परेका छन् यसले पनि छन्द कविताको पुनर्जागृतिमा झन् बढी योगदान दिएको छ। हिजो नेपाली भाषालाई नै बाहुन–क्षेत्रीको भाषा भनेर केही वर्गहरूबाट हेप्ने प्रयास पनि गरिन्थ्यो। तर आज नेपाली भाषा नेपालभित्र र बाहिर अझ विश्वभरि नै जातिगत सङ्कीर्णताभन्दा माथि उठेर विकसित भएको छ। त्यसै गरी आज छन्द कवितामा पनि कुनै जातिगत विभेद छैन। के नेवार, के थारू, के तामाङ, के परियार, के विश्वकर्मा, के मगर, के राई, के मुस्लिम जुनसुकै समुदायबाट र विश्वको जुनसुकै कुनाबाट छन्दलाई अत्यन्त माया गरेर कविहरू भर्भराउँदै जुन रूपमा देखा परेका छन् यसले नेपाली छन्द कविताको सुन्दर भविष्यको संकेत गर्दछ। केही समयअगाडिदेखि देवघाटलगायतका कतिपय गुरुकुलीय आश्रमका शैक्षिक स्थलहरूबाट उत्पादित विद्वानहरूको मण्डलीबाट नारायणी र कोशीका छालझैँ छन्द कविताको प्रवाह जसरी उर्लेर आएको छ, प्रतिभाको उत्पादन जसरी बढेको छ, भाषणको भँगालो जसरी प्रवाहित भएको छ त्यसले अवश्य पनि भोलिको छन्द कविताको मुहारलाई कञ्चन बनाएर लग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell