जनकपुरधाम : केही दिन अघिसम्म भारतको विभिन्न स्थानमा देखिएको वनस्पति नाशक कीरा ‘सलह’ नेपालमा समेत देखा परेको छ। शनिवार प्रदेश नम्बर २ का बारा, सर्लाही र प्रदेश ५ का भैरहवा, बुटबल लगायतका जिल्लामा सलह कीरा देखा परेको हो।
प्रदेश २ को सर्लाहीमा शनिवार अचानक हजारौको संख्यामा देखिएको उक्त कीरा सलह नै भएको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले बताएका छन्।
राज्यमन्त्री यादवले भने, ‘सर्लाहीमा हजारौंको संख्यामा देखिएको नौलो कीरा सलह नै हो। सर्लाहीमा सलह आएको विषयमा द्विविधा रहेन अब कति संख्यामा र कुन नाकाबाट नेपालमा प्रवेश गरेको हो भन्ने विषय मुख्य अनुसन्धानको कुरो हो।’
सलह कीरा नेपाल प्रवेश गरेको नाका र संख्या पत्ता लगाउन प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकहरुको टोली परिचालन गरिएको सर्लाहीको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द रायले जानकारी दिए। उनका अनुसार उक्त टोली अहिले सर्लाहीको तेलबाली अनुसन्धान केन्द्रमा बसेर काम गरिरहेको छ।
सलह कीरा नेपालमा पसेको नाका पहिल्याउन, कति संख्यामा रहेको भन्ने यकिन गर्न र यसलाई नियन्त्रण गर्न सक्ने आधारको बारेमा छलफल गर्न नेपाल, भारत, पाकिस्तान र बंगलादेश लगायत मुलुकका कृषि वैज्ञानिकहरुले भर्चुअल रुपमा छलफल शुरु गरिसकेको र केही घण्टाभित्रै विस्तृत विवरण आउने रायले बताए।
यता कृषि प्रसारमा, कृषि तथा पुश विज्ञान विभाग त्रिवि कीर्तिपुरबाट स्नातकोत्तर गरिरहेकी श्रीनु झाले सलह कीराको एकान्त चरण र ग्रेगारियस चरण गरी दुई अवस्था हुने गरेको भन्दै नेपालमा अहिले देखिएका किराहरु प्राय एकान्त चरणको देखिएको बताइन्। उनले यसलाई तत्काल रोक्न नसकिए अहिले वर्षाको र पर्याप्त हरियाली भएको समय भएकोले यि कीराहरु ग्रेगारियस चरणमा जान सक्ने त्यति नै खतरनाक स्थिति रहेको समेत बताइन्।
एकान्त चरणमा रहेको सलहले अन्य फट्याँग्रा जति नै सामान्य क्षति गर्ने र ग्रेगारियस चरणमा रहेका कीराहरु झुण्डमा बाली आक्रमण गर्ने भएकोले यस्ले बढी क्षति गर्ने बताए। नेपालमा अहिले देखिएका सलह कीराले घाँसपात लगायत सानो बालीमात्र खाने उनले बताइन्। यदि यसलाई रोक्न सकिएन भने पछि ठूलठूला बोटबिरुवा लगायत ठूलै बाली खाने र यस्ले कृषि क्षेत्रमा ठूलै भूँइचालो सरह ल्याउने बताइन्।