PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

प्रदेश २ : पछिल्लो २४ घण्टामा २९ जना संक्रमित थपिए, ४ हजार २८३ जनाको रिपोर्ट आउन बाँकी



सुमित मिश्र

प्रदेश २ : पछिल्लो २४ घण्टामा २९ जना संक्रमित थपिए, ४ हजार २८३ जनाको रिपोर्ट आउन बाँकी

जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २९ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये महोत्तरीका २४, धनुषाका ३ र बाराका २ जना रहेका छन्।

योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ३ सय १९ पुगेको छ। संक्रमितमध्ये ३ हजार १ सय १९ पुरुष र २ सय जना महिला रहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए।

महोत्तरीमा संक्रमण पुष्टि भएकाहरु सम्सी नगरपालिकाको क्वारेन्टाइनमा रहेका १४ देखि ३३ वर्ष उमेर समूहका ४ जना पुरुष, औरही नगरपालिकाको रामविलास माविको क्वारेन्टाइनमा रहेका १ वर्षे बालिका र १ देखि ३९ बर्ष उमेर समूहका ९ जना पुरुष तथा लोहारपट्टी नगरपालिकास्थित भेयरुखी उच्च मावि क्वारेन्टाइनमा रहेका २० देखि ३८ वर्ष उमेर समूहका १० जना पुरुषहरु रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए।

त्यस्तै, धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित दुखनी देवी मावि वीरेन्द्रबजारको क्वारेन्टाइनमा रहेका १९, २२ र ३५ वर्षका ३ जना पुरुषहरु संक्रमित भएका छन् भने बाराको कामु प्यालेस होटेल (सशुल्क क्वारेन्टाइन)मा रहेका ३२ वर्षीय १ पुरुष र ३२ वर्षीया १ महिलामा समेत संक्रमण पुष्टि भएको छ।

प्रदेशभरमा शनिवारसम्म ४२ हजार ६ जनाको स्वाब संकलन गरिएकोमा ३ हजार ३ सय १९ जना संक्रमित भएका छन् भने ३४ हजार ४ सय ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ। त्यस्तै, ४ हजार २ सय ८३ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेशमा शनिवार मात्रै ४ सय ८२ जनाको स्वाब संकलन गरिएको छ भने २ सय १३ जनाको आरडीटी परीक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए।

आरडीटीतर्फ अहिलेसम्म १९ हजार ७ सय २६ जनाको परीक्षण गरिएकोमा ९ सय ४६ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १८ हजार ७ सय ८० जनाको रिपोर्ट नेगेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए।

प्रदेश २ को आठवटै जिल्लाका विभिन्न ठाउँहरुमा निर्माण गरिएका ३१ हजार ७ सय ९२ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले ६ हजार ६ सय ६७ जनालाई राखिएको छ। १७ हजार ४ सय १९ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ। प्रदेशका आठवटै जिल्लाका विभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ६ सय ८८ बेड क्षमताका आइसोलेसनमा ७ सय ९३ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार १ सय ७५ जनाको रिपोर्ट पोजेटिभ आएको छ। त्यस्तै, सर्लाहीमा ६ सय २३, महोत्तरीमा ५ सय ९०, धनुषामा ३ सय ३३, सप्तरीमा १ सय ७१, सिरहामा १ सय ६१, पर्सामा १ सय ५६ र बारामा १ सय १० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा २४ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेहरुमा धनुषाका ११ जना, महोत्तरीका ३ जना, सर्लाहीका ३ जना र पर्साका ७ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए।

योसँगै हालसम्म प्रदेशका १ हजार ४ सय १५ जना संक्रमित डिस्चार्ज भएर घर फर्किसकेका छन्। प्रदेशमा हालसम्म २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell