PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

रुपन्देहीमा सलह देखिएपछि नियन्त्रण गर्ने उपाय खोज्दै प्रदेश ५ : सलह जम्मा गरेर ल्याए किलोको २० रुपैयाँ दिने



रुपन्देहीमा सलह देखिएपछि नियन्त्रण गर्ने उपाय खोज्दै प्रदेश ५ :  सलह जम्मा गरेर ल्याए किलोको २० रुपैयाँ दिने

बुटवल :  रुपन्देही क्षेत्रमा सलह कीरा देखिएपछि प्रदेश ५ सरकारले सलहबाट नोक्सान कम गर्ने उपाय अबलम्बन गर्न थालेको छ।

शनिवार विपद् समितिको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा बसेको बैठकले कीराबाट किसानको बालीनाली नोक्सान हुनबाट बचाउन विभिन्न उपाय अपनाउने निर्णय गरेको छ। 

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सलहको नियन्त्रणका लागि सरकारले विभिन्न उपाय अबलम्बन गर्ने र क्षति न्यूनीकरणका प्रयास गर्ने जानकारी दिइन्। उनले अहिले धान रोप्नका लागि बीउ तयार भएका अवस्थामा सलहले नोक्सान गर्ने सम्भावना रहेकाले बीउ जोगाउने उपाय अबलम्बन गर्न आग्रह गरिन्।

सलह जम्मा गरेर माछा, कुखुरा र बङ्गुरको दानाका लागि प्रयोग गर्न सकिने विज्ञले बताएका छन्।  भूमि व्यवस्था मन्त्रालयले किसानले सलह  जम्मा गरेर स्थानीय तहमार्फत वडा कार्यालयमा ल्याएमा प्रतिकिला रु २० का दरले नगद उपलब्ध गराइने निर्णय गरेको मन्त्रालयका सचिव सुवेदीले जानकारी दिए।

मन्त्रालयले  सलह नियन्त्रण गर्न मालाथिन वा क्लोरपाइरिफोस नामका विषादी प्रतिलिटर २ एमएल राखेर छर्कन सल्लाह दिएको छ।

प्रदेश कृषि निर्देशनालयका निर्देशक यामनारायण देवकोटाले सलहको जन्म मरुभूमिमा हुने र लगातार वर्षामा  उड्न नसक्ने अध्ययनबाट देखिएको तर नेपालमा कसरी  आयो भन्ने यकिन गर्न नसकिएको बताए। 

मन्त्रालयका सूचना अधिकारी विनोद ज्ञवालीले यो कीरा नेपालमा भारततर्फबाट आएको अनुमान रहेको बताए। जल तथा मौसम विभागले सलह आफ्नो बाटो भारत पश्चिम बंगालतिर जाने अनुमान गरेको छ । आज बिहान यस क्षेत्रमा प्रवेश गरेको सलह उत्तरपश्चिमतर्फ लागेकाले गुल्मी अर्घाखाँचीतर्फ क्षति पुर्‍याउने सम्भावना रहेको उनले बताए।

मौसम विभागले आइतबार र सोमबार पश्चिमतर्फ लाग्न सक्ने भएकाले त्यस क्षेत्रमा यसले क्षति पुर्‍याउने सक्ने अनुमान गरेको छ ।

पाल्पामा चिन्ता

बुटवलबाट उत्तरपश्चिम उडेको सलह पाल्पामा देखिएको छ। रुपन्देही जिल्लाको बुटबल हुँदै पाल्पाका दोभान, सराई र  पोखराथोक क्षेत्रमा देखिएको हो। कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले पाल्पामा सलह देखिएकाले अन्नबाली जोगाउन भाँडा बजाउन र  आगो बालेर धुवाँ बनाउन अनुरोध गरे।

जिल्लाका  आर्यभञ्ज्याङ,  राम्दी क्षेत्रलगायतका किसान सलहबाट उत्पादित खेती नष्ट हुने भएपछि चिन्तित बनेका छन्। तानसेन नगरपालिका तथा बगनासकाली र  रिब्दीकोट गाउँपालिकाले सामाजिक सञ्जालको प्रयोग गरी किसानलाई स्थानीय स्रोतसाधनको प्रयोग गरी सलह भगाउन अनुरोध गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell