PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

सीमाबारे भारतीय व्यापारीको चेतावनी, 'नेपाल सुध्रिएन भने हामी कुनै सामान दिन्नौं'



सीमाबारे भारतीय व्यापारीको चेतावनी, 'नेपाल सुध्रिएन भने हामी कुनै सामान दिन्नौं'

काठमाडौं: गलवान उपत्यकामा २० जना सैनिक मारिएपछि भारतमा चीनप्रति जनस्तरमा आक्रोश बढेको छ। भारतीय नागरिकले चिनियाँ सामग्रीलाई ‘बाइकट’ अभियान चलाएका छन्। भारत र चीनका सेनाबीच झडप हुनुअघि देखिनै नेपाल र भारतबीच सम्बन्धमा उतारचढाव आएको छ।

सन् १८१६ को सुगौली सन्धीअनुसार नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतले आफ्नो नक्सामा हालेपछि नेपाल असन्तुष्ट भयो। सडकमा प्रदर्शन भए। नेपाल सरकार नक्सा सच्याउन कुटनीतिक पहलमा लागिरह्यो। यहीँ बीचमा भारतले नेपाल चिढ्याउने अर्को कदम चाल्यो, नेपाली भूमि भएर मानसरोवर जोड्ने सडकको ट्रयाक उद्घाटन। यो कदमले नेपालमा आन्दोलन चर्कियो। सरकार पनि एक्सनमा उत्रियो। लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपाली नक्सामा समावेश गरियो। संविधान संशोधन गरियो। यी क्षेत्र नजिकै सुरक्षा उपस्थिति पनि बलियो बनाइयो।

त्यतिमात्रै होइन नेपाली भूमि आफ्नो नक्सामा हाल्ने, आक्रामक रुपमा सडक बनाएर हेपाहा प्रवृतिको काम जसरी भारतले गर्‍यो त्यसैगरी नेपाल आक्रामक रुपमा अगाडि बढ्यो। नेपाल आक्रामक हुँदा भारतीयहरु रिसाए जसरी सुरुमा भारत आक्रामक हुँदा नेपाली आक्रोशित भएका थिए।

नेपाल आफ्नो जमिनमा स्वामित्व खोज्दा भारतीयको पारो यति तात्यो कि उनीहरु नेपालसँग व्यापार नगर्ने भनिरहेका छन्। आफ्नो जमिनमा चिनियाँ सेना आउँदा कसरी दुख्दो रहेछ उनीहरुले बारम्बार महसुस गरिसकेका छन्। तर, वर्षौदेखि हाम्रो भूमिमा सेना राखेर अझ उल्टै हामीलाई चेतावनी दिँदा उनीहरुले चीनका कारण महसुस भएको दु:ख बिर्सिरहेका छन्। अर्थात नेपालसँग बडेभाईको जस्तो भूमिकामा प्रस्तुत भइरहेका छन्। वास्तवमा जसले दु:ख महसुस गरेको हुन्छ उसले बुझ्छ भन्ने मान्यता छ। तर, भारतीयहरु आफ्नो जमिनमा मिचिँदा वा जमिनमा कोही आउँदा जसरी आफ्नो रगत उम्लिन्छ त्यसैगरी अर्काको मिच्दा उनीहरुलाई पीडा हुन्छ होला भन्ने हेक्का राख्दैनन्।

अब कुरा गरौं भारतीयहरुको चेतावनीको। नवभारत टाइम्सले सोमबार एउटा भिडियो रिपोर्ट बनाएको छ। रिपोर्टमा अहिले भारतमा चिनियाँ सामान बाइकट अभियान चलिरहेको र चीनतिरको रिस भारततर्फ पनि देखिन थालेको दावी गरिएको छ।

रिपोर्टमा भनिएको छ:

भारतका व्यापारी ठूलो संख्यामा नेपाललाई अत्यावश्यक सामान निर्यात गर्छन्।

नेपालले भारतीय इलाकालाई आफ्नो नक्सामा समावेश गर्‍यो। त्यसयता नेपाल सरकार भारतविरुद्ध लगातार वयानबाजी गर्दै आइरहेको छ।

यसले पश्चिम बंगालका व्यापारीलाई निराश गरिदिएको छ।

उनीहरुले चेतावनी दिएका छन कि नेपालले आफ्नो रवैया बदलेन भने व्यापार पूर्ण रुपमा बन्द गर्नेछौं। साथै सरकारसँग पनि माग गर्नेछन्, नेपालमा हुने निर्यातमा पूर्ण रुपमा रोक लगाइदेउ।

एक जना व्यापारीले भिडियोमा भनेका छन्

हामी लामो समयदेखि नेपाललाई मालसमान दिएर सहयोग गरिरहेका छौं। तर जसरी भारतीय भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपाल सरकारले आफ्नो नक्सामा देखाएको यसले हामी सबै व्यापारीलाई सोच्न बाध्य बनाएको छ।'

यति सहयोग गर्दा नेपाल हाम्रो भूमिलाई आफ्नो नक्सामा देखाउँदैछ।

यसकारण हामी नेपालसँग व्यापार गर्दैनौं। भारत सरकारलाई निर्यातमा रोक लगाउन भन्नेछौं।

भारतीय भूमि नेपालले आफ्नो नक्सामा देखाउनु दु:खको कुरा हो।

नेपाल सुध्रिएन भने हामी कुनै सामान दिने छैनौं। नेपालले सोच्नुपर्छ। जबसम्म सच्चिँदैन तबसम्म हामी व्यापार गर्दैनौं।

रिपोर्टमा पश्चिम बंगालजस्तै अन्य राज्यले पनि नेपालविरुद्ध कदम उठाए नेपालका लागि मुश्किल घडी हुनसक्ने उल्लेख छ। तर भारतीय व्यापारीले भुल्न नहुने कुरा के हो भने उनीहरुले हामीलाई नि:शुल्क सामान दिएका होइनन्। उनीहरुले रोक लगाए अर्को ठाउँबाट आउँछ। आइतवारमात्रै पश्चिमको बनबासाका व्यापारीले लकडाउनका कारण सीमा बन्द हुँदा व्यापार ठप्प भएको र बजार नेपालीमा निर्भर रहेको भन्दै विज्ञप्ति निकालेका थिए। यसले के देखाउँछ भने सामान नदिए उनीहरुकै व्यापारमा गिरावट आउनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell