PahiloPost

Jul 2, 2025 | १८ असार २०८२

सुस्मिता हत्या प्रकरण : मृतक छोराको बीमा रकम कुम्ल्याउन बुहारीमाथि यौन शोषण, अनि हत्या



सुस्मिता हत्या प्रकरण : मृतक छोराको बीमा रकम कुम्ल्याउन बुहारीमाथि यौन शोषण, अनि हत्या

काठमाडौं : मकवानपुरको हेटौंडा उप-महानगरपालिका वडा नम्बर ४ की एक महिलाको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ। असार २ गते बिहान ७ बजे हेटौंडा वडा ४ सूर्य चोक नजिकै २२ वर्षीया सुस्मिता थापा आफ्नै घरको भान्सा कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।

घरका सदस्यले नै मिलेर आफ्नै बुहारीको हत्या गरेको निष्कर्ष प्रहरीले निकालेको छ। ५८ वर्षीय ससुरा प्रकाश थापा र २३ वर्षीय सीता थापालाई ज्यानसम्बन्धी कसुर अभियोगमा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। घटनामा ससुरा प्रकास, सासू तुलसा, नन्दहरु दुर्गा र सिताको संलग्नता खुलेको छ।

मृतकका पतिको बिहे गरेको एक वर्ष नवित्दै २०७६ असोज २३ गते कपिलवस्तुस्थित ससुरालीबाट मोटरसाइकलबाट फर्कने क्रममा नवलपरासीको दाउन्नेमा सवारी दुर्घटनामा परी मृत्यु भएको थियो। त्यसपछि सुस्मिता सासुसासुरासँगै बस्दै आएकी थिइन्।

हत्याको कारण यौन र आर्थिक नै भएको खुलेको छ। छोराको मृत्युपछि पाएको दुर्घटना रकम र अन्य रकमको लागि परिवारका सदस्यले मिलेर हत्या गरेको खुलेको छ। मृतक सुस्मिताको श्रीमान रूपेन्द्र थापाको सवारी दुर्घटनाबाट मृत्यु भएपछि क्षतिपूर्ति पाँच लाख पाएकी थिइन्। त्यो रकम आफूहरुले पाउनुपर्ने भन्दै सासुससुराले विवाद सुरु गरेका थिए।

त्यतिमात्र होइन। क्लोजर सिस्टम इन्टरनेसनल नेपाल प्रालि हेटौंडाबाट श्रीमानको मृत्युपछि बिमा, बोनस, तलब भत्ताको बाँकी रकम वापत ३८ लाखमा पनि परिवारले दाबी गरेका थिए। नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट १० लाख बिमा रकम प्राप्त भएको थियो। सुस्मितालाई आएको सबै रकमहरू निकालेर घरमा ससुरालाई दिनुपर्छ भनी मृतक सुस्मितालाई घर परिवारबाट बारम्बार दबाव दिने गरेका थिए।

हत्या कसरी भयो?

असार १ गते बेलुकी साढे बजेको समयमा सुस्मिताको पारिवारका सदस्यहरू ससुरा प्रकाश र सासु तुलसा बेलुकाको खाना खाई भान्छा कोठाबाट आफ्नो सुत्ने कोठा सुत्न गए। खाना खानुभन्दा अगाडि प्रकाशले रक्सी खाएका थिए। नन्द सिता र सुस्मिता भान्छा कोठामा खाना खाइरहेका थिए। सुस्मिता महिनावारी भएकाले भान्छा कोठाको भुईमा बसेर खाना खाँदै थिइन्। ससुराले बाहिरबाट काठको लौरो हातमा लिएर भान्छा कोठामा प्रवेश गरे। र, बुहारीको टाउकोमा प्रहार गरे र सुस्मिता भुँईमा लडिन्। नन्द सितालेसमेत भाउजुमाथि प्रहार गरिन्। सुस्मिताले 'बचाउ बचाउ' भनेको सुनेपछि सासु भान्छा कोठा पुगिन्। प्रकाश र सिताले तुलसालाई भान्छाबाट बाहिर निकाले।

त्यसपछि प्रकाश र सिता मिली पटकपटक काठको लौरो र ढुङ्गाको लोहोरोले सुस्मितामाथि प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।  

बाबु छोरी मिली घटनास्थललाई आत्महत्याको जस्तै सिन बनाएको खुलेको छ। सुसुराले सुस्मितालाई जबर्जस्ती करणीको प्रयास समेत गर्ने गरेको  प्रहरीको अनुसन्धानमा खुलेको छ।

-समाचारमा जबर्जस्ती करणीको प्रयास हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ। सं‌.



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell