PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

नागरिकता विधेयकविरुद्व जनकपुरमा कांग्रेसको प्रदर्शन, ‘नेकपाले लैंगिक समानताको खिल्ली उडायो’



सुमित मिश्र

नागरिकता विधेयकविरुद्व जनकपुरमा कांग्रेसको प्रदर्शन, ‘नेकपाले लैंगिक समानताको खिल्ली उडायो’

जनकपुरधाम : नागरिकता विधेयक खारेजीको माग गर्दै नेपाली कांग्रेसले सोमवार जनकपुरमा विरोध प्रदर्शन गरेको छ।

नेकपा नेतृत्वको सरकारले महिला विरोधी विभेदपूर्ण विधेयक ल्याएको भन्दै जिल्ला सभापति महेश शंकर गिरीको नेतृत्वमा नेपाली कांग्रेसको पार्टी कार्यालयबाट विरोध र्‍याली निकालिएको हो। विरोध र्‍याली क्याम्पस चोक, मुरली चोक, राम चोक, जनक चोक हुँदै भानुचोकमा गई कोण सभामा परिणत भएको थियो।

कोणसभामा कांग्रेस जिल्ला सभापति गिरीले नेकपाको निर्णयले लैंगिक समानताको खिल्ली उडाएको आरोप लगाएका थिए। राज्य व्यवस्था समितिबाट विदेशी महिलाले विवाह गरेर नेपाल आएको ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय भएकोप्रति उनले असन्तुष्टि जनाए।

राज्य व्यवस्था समितिको यो निर्णयमा नेकपाका सांसदहरुको समेत संविधान विपरीतको गतिविधि भएको दावी गर्दै उनीले यसबाट अनेक शंका उब्जाएको उल्लेख गरेका थिए। विरोध सभामा सहभागीहरुले विधेयक खारेज नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिए।

र्‍यालीमा सहभागीहरुले वैवाहिक अंगिृकत नागरिकताको ७ वर्षे प्रावधान खारेज गर, महिलामाथिको विभेद अन्त्य गर, बेटीरोटीको सम्बन्ध बिगार्न पाइदैन, मधेसीमाथीको अत्याचार बन्द गर लगायतका नारा लगाएका थिए।

र्‍यालीमा पूर्व सांसद चन्द्रमोहन यादव, प्रदेश सभा सदस्य सरस्वती चौधरी, क्षेत्रीय सभापति कन्हैया लाल कर्ण, क्षेत्र नम्बर ३ (क) का सभापति दिनेश दिपक, क्षेत्र नम्बर ३ (ख) का सभापति शिवजी राय, क्षिरेश्वर नगरपालिकाका मेयर समेत रहेका क्षेत्र नम्बर ४ का सभापति योगेन्द्र पजियारलगायतको उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell