चीनसँग सीमा विवाद चलिरहँदा भारत सरकारले ५९ वटा चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएको छ। टिकटक, युसी ब्राउजर लगायत ‘पपुलर एप’ हरुमाथि नरेन्द्र मोदी सरकारले प्रतिबन्ध लगाएको हो।
५९ वटा एपलाई मोबाइल र इन्टरनेट चल्ने जुनसुकै उपकरणमा चलाउन नमिल्ने गरी प्रतिब्नध लगाइएको इन्डिया टुडेले जनाएको छ।
चिनियाँ एपका कारण भारतको सार्वभौमसत्ता र अखण्डतामा असर पर्ने खालका गतिविधि भएको र त्यसबाट भारतको राष्ट्रिय सूरक्षामा खतराको पुग्ने भन्दै प्रतिबन्ध लगाएको भारतको सूचना तथा संचार मन्त्रालयले उल्लेख गरेको छ। हाल प्रतिबन्ध लगाएका एपहरुको प्रयोगबाट केही भारतीय नागरिकहरुले गोपनियता भंग भएको भन्दै उजुरी दिएको समेत जनाइएको छ। भारतीय मोबाइल र इन्टरनेट प्रयोगकर्ताको सुरक्षा लागि एपहरुमाथि प्रतिबन्ध लगाइएको मन्त्रालयले उल्लेख गरेको छ।
केही साताअघि गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच ‘हिंस्रक झडप’ भएको थियो। झडपमा दुवै देशका सेनाहरु मारिएका थिए। त्यसयता भारतमा चीन विरोधी माहौल सिर्जना भइरहेको छ। भारतीयहरुले चिनियाँ उत्पादन बहिस्कार गर्नेपर्ने धारणा राख्दै आएका थिए।