जनकपुरधाम : धान नेपालको अर्थतन्त्रको मुख्य आधार रहेको छ। कोरोना संक्रमणका कारण अर्थतन्त्र थला परेको समयमा धान उत्पादनले सहारा प्रदान गर्ने अपेक्षा गरिएको छ।
यस वर्ष समयमै पानी परेकोले धान उत्पादन पनि राम्रो हुने अनुमान गरिएको छ। नेपालमा प्रत्येक वर्ष असार १५ गते धानलाई केन्द्र बनाएर राष्ट्रिय धान दिवस मनाइदै आएको छ। यस वर्ष पनि देशैभरी ‘धान उत्पादनमा वृद्धि, आत्म निर्भरता र समृद्धि’ मूल नाराका साथ १७ औँ धान दिवस मनाइदै छ।
१७ औँ धान दिवसको अवसरमा प्रदेश २ का मन्त्रीहरुदेखि विभिन्न पालिकाका प्रमुखहरु खेत खेतमै पुगेर धान रोपेर धान रोपाइँको शुभारम्भ गरे।
देशको कुल ग्राहस्थ्य उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ। सबैभन्दा बढी धान उत्पादन प्रदेश २ मा हुुँदै आएको छ। नेपालमा हुुने कुल धान उत्पादनको ४० प्रतिशत उत्पादन मात्रै प्रदेश २ मा हुँदै आएको कृषि मन्त्रालयको तथ्यांक रहेको छ। पछिल्लो वर्ष प्रदेश २ मा १४ लाख २० हजार ४ सय ३६ टन धान उत्पादन भएको थियो।
देशभरी राष्ट्रिय धान दिवस मनाई रहँदा प्रदेश २ मा अहिलेसम्म १५.४ प्रतिशत धान रोपाइँ भएको प्रदेश दुुईको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। प्रदेश २ मा ४ लाख १ हजार ९ सय ६ हेक्टर खेती योग्य जग्गा रहेकोमध्ये अहिलेसम्म ६१ हजार ९ सय २० हेक्टर जग्गामा धान रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी अविनाश झालले जानकारी दिए।
मन्त्रालयका अनुसार प्रदेशमा अहिलेसम्म पर्सा जिल्लामा धान रोपाइँ भएको छ। कुल ४६ हजार ६ सय ९७ हेक्टर जग्गामध्ये पर्सा जिल्लामा १३ हजार ८ सय हेक्टर जग्गामा धान रोपाइँ भएको छ। यो कुल खेती योग्य जग्गाको २९.६ प्रतिशत हो।
त्यस्तै, सप्तरी जिल्लामा १३.४ प्रतिशत धान रोपाइँ भएको छ। सप्तरीमा कुल ५२ हजार २ सय ४१ हेक्टर जग्गामध्ये ७ हजार हेक्टरमा धान रोपाइँ भएको सूचना अधिकारी झाले बताए।
सिरहामा कुल ५० हजार १ सय ९७ हेक्टर खेती योग्य जग्गामध्ये ५ हजार अर्थात ८.५ प्रतिशत, धनुषामा कुुल ६३ हजार १ सय १२ हेक्टर जग्गामध्ये ५ हजार ४ सय हेक्टर अर्थात ८.५ प्रतिशत, महोत्तरीमा कुुल ४० हजार १ सय २४ हेक्टर जग्गामध्ये ५ हजार ६ सय २० हेक्टर अर्थात १४ प्रतिशत धान रोपाइँ भएकोे मन्त्रालयले जनाएको छ।
सर्लाहीमा कुल ४८ हजार ७ सय ६९ हेक्टर जग्गामध्ये ७ हजार २ सय अर्थात १४.७ प्रतिशत, रौतहटमा कुल ३९ हजार ५ सय १९ हेक्टर जग्गामध्ये ७ हजार ७ सय अर्थात १९.५ प्रतिशत र बारा जिल्लामा कुुल ६१ हजार २ सय ४७ हेक्टर जग्गामध्ये ११ हजार २ सय अर्थात १८.३ प्रतिशत धान रोपाई भएको मन्त्रालयको तथ्यांक छ।
किसानलाई मलको चिन्ता
यस वर्ष समयमै पानी परेकोले किसानहरु हर्षित छन्। तर, धानको बीउ रोप्न थालेपनि मल नपाएर चिन्तामा छन्। कोरोना महामारीबीच धान रोप्नुअगावै आवश्यक पर्ने बीउ विगत वर्षमा जस्तै चरम अभाव हुँदा उनीहरू निराश बनेका हुन्।
‘धानको बीउ तयार भयो धान रोप्न शुरु पनि गरिसके। अझै मल पाइएको छैन’, धनुषाको नगराइन नगरपालिका ५ गंगुलीका चन्दर मण्डल दुखेसो पोख्छन्, ‘पोहोर साल ४ बिघामा धान रोपेका थियौँ, यसवर्ष शुरुदेखि परेको वर्ष र कोरोनाका कारण भारतबाट फर्किएका मजदुरले गर्दा मजदुर सस्तो भएका कारण ६ बिघामा धान लगाउने सोचमा छु तर मलको अभाव छ।’
धान रोप्ने बेलामा मल नपाउँदा भगवानकै भरमा परेको उनले सुनाए। सरकारले समयमै मलको व्यवस्था गर्नुपर्ने उनको माग छ।
विगत वर्षमा किसानले सीमा नजिकैका भारतीय बजारबाट लुकाएर मल ल्याएर भएपनि जेनतेन खेती गर्ने गरेका थिए। अहिले कोरोना महामारीका कारण सीमा सिल हुँदा त्यो पनि बन्द भएको छ।
महोत्तरीको बलवा नगरपालिका ११ भगवतिपुरका गोपाल यादव होटल चालउँछन्। लकडाउनका कारण होटल बन्द भएपछि उनी पहिले खेती गर्दै आएको ६ कठ्ठा जमिनमा धान खेतीको तयारीमा लागेका छन्।
उनले भने, ‘धानको बीउ रोप्ने बेलाको भयो। मल अझै किन्न पाइएको छैन।’
त्यस्तै, बलवा नगरपालिका ११ कै उत्तिम माझि पनि अधियाँ-बटैया र आफ्नो गरी ४ बिघामा धान खेती गर्न बीउ राखेका छन्। खनजोतमा लागेका उनी पनि धान रोप्नुअगावै हाल्नु पर्ने डीएपी मल नपाउँदा भौतारिरहेका छन्। उनी मल खोज्न कहिले महोत्तरी सदरमुकाम जेलेश्वर पुग्छन् त कहिले भारतको सीमा क्षेत्र सम्सि बोर्डर। तर, मल भने पाउँदैनन्।
मलको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गर्दै आएको छ। आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहेपनि सहज रुपमा कुनै वर्ष मल नपाउने गरेको किसानहरुको गुनासो छ।
यस वर्ष लकडाउनका कारणले मल अभाव भएको कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगंजले जनाएको छ। कार्यालयका अनुसार भारतको कोलकाता बन्दरगाहमा दुई महिनादेखि रोकिएको डीएपी मल आउन शुरु भइसकेकोे र अब केही दिनमै मल किसानले पाउने छन्।