PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

सलहलाई मार्न पाइन्छ त, अनि खान नि? यस्ता छन् कानुनी प्रावधान



सलहलाई मार्न पाइन्छ त, अनि खान नि? यस्ता छन् कानुनी प्रावधान

  • राजु आचार्य-

सलहले नेपाल प्रवेश गरेसँगै कोरोनालाई पछि पार्दै सामाजिक सञ्जाल ‘सलहमय’ भएको छ। धेरै सलह विज्ञ भैसके भने कति हुने तरखरमा छन्। अहिलेसम्म विश्वमा नियन्त्रण गर्न नसकिएको सलहलाई भुटेर खानु पर्ने भनेर धेरै मानिसहरुले आफ्नो विचार राखेका छन्। कतिले खाई पनि सके। कतिपयले  पैसा पाइन्छ भनेर सङ्कलन समेत गर्न लागेका छन्।

हाम्रो घरको खोरबाटै कुखुरा थुतेर लैजाने स्याललाई हामीले चाहेर पनि केही गर्न सक्दैनौ। हाम्रो खेती नोक्सान गर्ने बाँदरको चर्तिकला टुलुटुलु हेरेर बस्नु पर्ने अवस्था छ। हाम्रा गाईवस्तु मारेर वा घाइते बनाएर दुख दिने चितुवा पनि हामीले केही गर्न सक्दैनौँ। किनभने यिनीहरू वन्यजन्तु हुन्। सलह पनि वन्यजन्तु होl तर यिनको भने खुला रुपमा सङ्कलन र प्रयोग भइरहेको छ।

सलह पनि वन्यजन्तु हो र?

नेपालमा वन्यजन्तु अनुसन्धान, संरक्षण, कारबाही र यिनका विभिन्न आयामहरूको बारेमा सहजीकरण गर्नको लागि ऐन बनेको छ जसको नाम ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९’ हो। उक्त ऐनअनुसार  “वन्यजन्तु” भन्नाले घरपालुवाबाहेक जुनसुकै जातिको स्तनधारी जन्तु (म्यामल्स), पंछी (एभ्स), घस्रिने जन्तु (रेप्टायल्स), माछा (पीसीज), भ्यागुता जाति (एम्फिवियन्स ) र किरा फट्याङ्ग्रा (इन्सेक्ट्स) लाई सम्झनु पर्छ र सो शब्दले फुल पार्ने जन्तुको फुल समेतलाई जनाउँछ। यो ऐनअनुसार सलह पनि वन्यजन्तु नै हुन आउँछ।

त्रिभुवन विश्वविद्यालय सह प्राध्यापक प्रेमबहादुर बुढा पनि सलहलाई वन्यजन्तु मान्ने कुरामा सहमत छन्। उनी भन्छन्, ‘हाम्रो कानुनले सबै खालका किरा-फट्यांग्राहरुलाई वन्यजन्तु भनेको छ।’

प्राध्यापक एवम् वरिष्ठ वन्यजन्तु विज्ञ करनबहादुर शाहले पनि सलह वन्यजन्तु हुन् भन्ने कुरामा दुई मत नरहेको बताए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकृत विष्णुप्रसाद श्रेष्ठ पनि  सलहलाई वन्यजन्तु मान्छन्। 'हामीसँग उपलब्ध भएका कानुनी दस्ताबेजहरूले वन्यजन्तुको परिभाषा भित्र यिनीहरू पर्दछन्,’ श्रेष्ठले भने।

संसारभर करिब ५५ लाख प्रजातिका किरा-फट्याङ्ग्रा रहेको अनुमान गरिएको छ। जसमध्ये करिब १० लाखको पहिचान गरिएको छ। प्रकृतिमा किरा फट्याङ्ग्रा खाएर नै अन्य वन्यजन्तुहरू बाच्ने गर्छन्। यिनले पराग सेचनको माध्यमबाट बिरुवाको वृद्धिमा सहयोग गर्छन्। यिनीहरू बिना प्रकृति निरस मात्रै होइन शून्य पनि हुन्छ।

सलहलाई मार्न पाइन्छ त?

सोही ऐनअनुसार “सिकार” भन्नाले कुनै वन्यजन्तु जुनसुकै तरिकाले लखेट्ने, पक्रने, दुःख दिने, मार्ने वा सो गर्न प्रयत्न गर्ने वा त्यसको शरीरको कुनै अङ्ग झिक्ने वा नष्ट गर्ने वा त्यसको फुल, गुँड झिक्ने, नष्ट गर्ने वा खलबल गरी दिने कामलाई जनाउँछ। यसअनुसार पनि सलह समाउने, मार्ने, दुख दिने काम  गरेमा यो ऐन आकर्षित हुने देखिन्छ।

तर सह प्राध्यापक बुढा भन्छन्, ‘यो वन्यजन्तु भए पनि, यसलाई हामी मिचाहा प्रजाति भन्छौँ।यस्ता मिचाहा प्रजातिलाई नियन्त्रण गर्न पाइन्छl विषादी छरेर हुन्छ कि, खाएर हुन्छ कि वा लखेटेर हुन्छ यिनलाई संसारभर नियन्त्रण गरिन्छ। विश्वव्यापी प्रचलन नै यही हो। मेरो विचारमा यो  बेला ऐन  आकर्षित हुँदैन।’

विभागका सूचना अधिकृत श्रेष्ठले थपे, ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० मा टेकेर यिनलाई नियन्त्रण गर्न सकिन्छ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को दफा ३६ मा ‘कुनै खास क्षेत्रमा कुनै खास समयको लागि ऐनको अनुसूची–१ मा उल्लिखित वन्यजन्तु वा पक्षीबाहेक अन्य कुनै वन्यजन्तु वा पक्षीलाई नेपाल राजपत्रमा प्रकाशित गरी कृषिको निमित्त हानिकारक घोषित गर्न सक्नेछ र त्यसरी हानिकारक घोषित गरिएका वन्यजन्तु वा पक्षीलाई सोही सूचनामा तोकिएको सर्त र बन्देजको अधीनमा रही खेत, खला, बारीमा, बिना अनुज्ञा पत्र पनि धपाउन, लखेट्न, पक्रन वा मार्न सकिनेछ,‘ भनेर उल्लेख गरिएको छ।

त्यसै गरी राष्ट्रिय सिमसार नीति, २०५९ ले पनि मिचाहा प्रजातिलाई रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्ने सम्बन्धमा उल्लेख गरेको छ।

प्राध्यापक शाहले  भने, ‘समाउन र मार्नु अघि सरकारले नीतिगत रूपमा स्वीकृति दिनु पर्थ्यो, जुन भएको छैन,’ उनले थपे, ‘सलह नियन्त्रण गर्नु पर्छ भन्नेमा म पनि छु। यसको अरू विकल्प पनि छैन तर यसलाई सरकारले निर्णय गरेर प्रक्रियामा गएको भए राम्रो हुन्थ्यो।’

अनि सलहबाट हुने क्षतिको राहत पाइन्छ त?

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (दोस्रो संशोधन, २०७४) अनुसार सरकारले राहत दिने गरेको छ। वन्यजन्तुको कारणले  मानिस  घाइते  हुँदा  २० हजार देखि २ लाखसम्म औषधि उपचार खर्च, मृत्यु हुँदा १० लाख राहत, पशु मरेमा  १० हजारदेखि ३० हजार राहत (पशुधन बिमा बापतको रकम कटाएर), घर/गोठ  क्षति,भण्डारण गरिएको अन्न क्षति तथा अन्न क्षति कोलागि  १० हजारसम्म राहत दिने व्यवस्था गरिएको छ।

माथि उल्लेखित क्षतिहरूमध्ये सलहले गर्ने  अन्नको क्षति मात्रै हो। जसको राहतको व्यवस्था गरिएको छैन। बाघ, गैँडालगायत १३  प्रजातिका स्तनधारी र १ प्रजातिको अजिङ्गरले नोक्सान गरे मात्र राहत दिने व्यवस्था गरिएको छ। सलहबाट अन्नबालीमा हुने नोक्सानीको बारेमा सो निर्देशिका केही बोलेको छैन, शायद यो प्रजाती नेपालमा नपाउने भएर पनि होला।

सलह खान मिल्छ त?

सामाजिक सञ्जालमा सुमन आचार्यले लेखे ‘केही महिना अगाडि वन्यजन्तु (चमेरा, सालकलगायत समुद्री जनावरहरू) खाएकै कारण कोरोना आएको वकालत गरियो, अहिले सलह भुटेर खाने बात भई रहेका छन्! सलहचाहिँ वन्यजन्तु अन्तर्गत पर्दैन कि  क्या हो? कोरोना छँदै छ फेरी सलहरोना आउला है बिचार गरौँ!’ उनले भने जस्तो सलह खाँदा तत्कालै कुनै असर नदेखिए पनि दीर्घकालीन रूपमा कोरोनाजस्तै महामारी दोहोरिन सक्छ।

करौडौको हुलमा आउने सलह मध्ये  केही सय वा हजार समाएर  खानु केवल अल्पकालिन समाधान मात्र हुनेछ। सामाजिक संजालमा रुमन श्रेष्ठ भन्छन्, ‘यदि साँच्चै प्रकृतिवादी हुने हो भने, वन्यजन्तु र किराहरूको पनि हक-अधिकारको कुरा गर्ने हो भने, सलहलाई चाहिँ धपाउने र मार्ने कुरा किन गर्ने? जनता जान्न चाहन्छ।‘

सलहलाई  हातले वा अन्य कुनै विषादी प्रयोग नगरी समातियो भने त असर नगर्ला तर विषादीको प्रयोग गरी मारिएका भए यिनले मानव स्वास्थ्यमा गम्भीर असर गर्छ। टाउको दुख्ने, निद्रा नलाग्ने, पखाला लाग्ने, सास फेर्न अप्ठ्यारो हुने, मानसिक अवस्था बिग्रने, मिर्गौला/कलेजो र मुटुलाई नोक्सान पुर्‍याउने बारेमा विश्व खाद्य तथा कृषि सङ्गठनले सचेत गराएको छ। नमरेका सलहमा पनि विषादीको थोरै मात्रा हुन् सक्छ। तिनलाई समाएर खाँदा पनि स्वस्थलाई गम्भीर असर गर्न सक्छ।

यस्ता विषादीयुक्त सलह घरमा पालिएका हाँस र कुखुरालाई दिनु पनि हानिकारक मानिन्छ।

अरू देशको अनुभव कस्तो छ?

इजरायलमा यसलाई खाइन्छ। धेरै अफ्रिकन देशमा किरा-फट्याङ्ग्रा खानु सामान्य मानिन्छ। नाईजरमा बजारमा बिक्री हुन्छ। उत्तरी अमेरिकामा पनि खाइन्छ। पाकिस्तानमा समाएर कुखुरा तथा हाँसलाई दिइएको थियो। यसको आहारा बनाएर माछालाई समेत ख्वाइन्छ। यसलाई सुकुटी बनाएर राख्ने पनि चलन छ। पोलेर पनि खाने गरिन्छ। चीनमा रेस्टुरेन्टमा बेचिन्छ। यसमा प्रोटिनको मात्र  हुनाले पनि मानवको लागि राम्रो मानिन्छ। अफ्रिका र मध्यपूर्वका देशहरूमा लामो समयदेखि खाँदै आएको मानिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell