जनकपुरधाम: नागरिकता ऐन संशोधन विधेयकको विरोधमा जनकपुरमा जसपाले विरोध प्रदर्शन गरेको छ।
जनता समाजवादी पार्टी (जसपा)का नेता कार्यकर्ताहरुले पूर्व निर्धारित कार्यक्रमअनुसार विधेयकप्रति असहमति जनाउँदै जनकपुरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी नेता कार्यकर्ताहरुले ‘संशोधित नागरिकता विधेयक खारेज गर’, ‘केपी ओली सरकार राजनीमा दे’, 'महिलामाथि गर्न लागिएको विभेद अन्त्य गर, रोटीबेटीको सम्बन्ध बिगार्न पाइँदैन, विभेदकारी नागरिकता खारेज गर, मधेशीमाथिको अत्याचार बन्द गरलगायतका नारा लगाएका थिए।
विरोध कार्यक्रममा प्रतिनिधि सभा सदस्य उमासंकर अरगरिया, प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव, भूमि व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्र साह, प्रदेशसभा सदस्य रामअशिष यादव, लगायतको उपस्थिति रहेको थियो।
नेकपाले ७ वर्षपछि मात्र नेपाली पुरुषसँग विवाह गरी आउने बुहारीलाई अंगीकृत नागरिकता दिने निर्णय गरेको र नागरिकता ऐन संशोधन विधेयकमा थप्न लागेको सो प्रस्ताव खारेज गर्न उनीहरुले माग गरेका छन्। यसअघि जनकपुर, वीरगञ्ज र राजविराजलगायत विभिन्न शहरहरुमा समेत जनता समाजवादी पार्टीले विरोध प्रदर्शन गरेका थिए।