जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्ला २४ घण्टामा ५२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
जसअनुसार सबैभन्दा बढि धनुषामा ३० जना, महोत्तरीमा १३ जना, सप्तरीमा ८ जना र सिरहामा १ जना व्यक्ति संक्रमित भएका छन्। बिहीवार संक्रमण पुष्टि भएकामध्ये ५ जना महिला र ४७ जना पुरुष रहेका छन् ।
योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ५ सय ४४ पुगेको छ। संक्रमितमध्ये ३ हजार ३ सय २४ पुरुष र २ सय २० जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए।
धनुषामा संक्रमण पुष्टि भएकाहरु जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गोपाल धर्मशाला क्वारेन्टाइनमा रहेका २२ वर्षीय एक पुरुष, औरही गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका १७ र ३४ वर्षका दुईजना पुरुष, मिथिला नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका २० र ६२ वर्षीया दुई महिला र २० देखि ३८ वर्ष उमेर समूहका ४ जना पुरुष, हंसपुर नगरपालिकास्थित नौवाखोर क्वारेन्टाइनमा रहेका १ वर्षीया एक बालिका र २५ वर्षीया एक महिला तथा १४ देखि ५० वर्ष उमेर समूहका ८ जना पुरुष तथा मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका १२ देखि ३९ वर्ष उमेर समूहका ११ जना पुरुषहरु रहेका छन्।
महोत्तरीका संक्रमितहरु मटिहानी नगरपालिकास्थित धिरापुर क्वारेन्टाइनमा रहेका १८ देखि ५० वर्ष उमेर समूहका ७ पुरुष, मनरासिस्वा नगरपालिकास्थित क्वारेन्टाइनका २६ वर्षीया एक महिला तथा १७ देखि ३० वर्ष उमेर समुहका ५ जना पुरुषहरु रहेका छन्।
सप्तरीको बलानबिहुल नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका ४ देखि ३७ वर्ष उमेर समूहका ८ जना पुरुषहरु संक्रमित भएका छन् भने सिरहाको लहान नगरपालिकास्थित क्वारेन्टाइनका ३६ वर्षीय एक पुरुषमा समेत संक्रमण पुष्टि भएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए।
प्रदेश भरीमा बिहीवारसम्म ४४ हजार २ सय ३२ जनाको स्वाब संकलन गरिएकोमा ३ हजार ५ सय ४४ जना संक्रमित भएका छन् भने ३७ हजार ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै, सप्तरीमा ५ सय ७४, सिरहामा ४ सय ९८, धनुषामा ४ सय १२, महोत्तरीमा ५ सय ३८, सर्लाहीमा ३ सय ३३, रौतहटमा ६ सय ६३, बारामा २ सय ५९ र पर्सामा ३ सय २६ जना गरि कुल ३ हजार ६ सय ३ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेशमा बिहीवार मात्रै सप्तरीमा १ सय ३१, धनुषामा ९६, सर्लाहीमा ८३, बारामा १ सय २० र पर्सामा ८५ जना गरि कुल ५ सय १५ जनाको स्वाब संकलन गरिएको छ भने सप्तरीमा १७, सिरहामा १३, धनुषामा १, महोत्तरीमा ३५ र पर्सामा २ सय ६ गरी जम्मा २ सय ७२ जनाको आरडीटी परीक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए।
आरडीटीतर्फ अहिलेसम्म २१ हजार १ सय ८७ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा १ सय २५, धनुषामा १ सय ६१, महोत्तरीमा ४ सय ६०, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४४ र पर्सामा २० जना गरि कुल १ हजार ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २० हजार १ सय ८३ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए।
प्रदेश २ को आठवटै जिल्लाका विभिन्न ठाउँहरुमा निर्माण गरिएको ३१ हजार ७ सय ९१ बेड क्षमताको ४ सय ५५ वटा क्वारेन्टाइनमा अहिले ३ हजार ७ सय ७० जनालाई राखिएको छ भने १८ हजार ५ सय ६० जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ। प्रदेशका आठवटै जिल्लाको विभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ७ सय ९६ बेड क्षमताको आइसोलेशनमा ६ सय ७४ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए।
प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ। त्यस्तै, महोत्तरीमा ६ सय ६५, सर्लाहीमा ६ सय २४, धनुषामा ४ सय ३, सप्तरीमा २ सय २, सिरहामा १ सय ७२, पर्सामा १ सय ६० र बारामा १ सय ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेहरुमा सप्तरीका १७ जना, धनुषाका ४ जना, महोत्तरीका ३१ जना र सर्लाहीका ४ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए।
योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ सय २१, सिरहाका ६२, धनुषाका २ सय ६४, महोत्तरीका १ सय ८५, सर्लाहीका ४ सय ९७, रौतहटका ५ सय १९, बाराका १ सय ४ र पर्साका १ सय ७१ जना गरी १ हजार ९ सय २३ जना संक्रमितहरु डिस्चार्ज भई आ-आफ्नो घर फर्किसकेका छन्।
प्रदेश २ मा हालसम्म रौतहट, बारा र पर्साका १/१ जना गरी ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।