PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

असार २४ गते रातो मछिन्द्रनाथलाई रथमा बिराजमान गराइने



असार २४ गते रातो मछिन्द्रनाथलाई रथमा बिराजमान गराइने

काठमाडौं : करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) लाई असार २४ गते रथमा विराजमान गराइने भएको छ।

ललितपुरको त:बहास्थित मन्दिरबाट बुंगद्य:लाई वैशाख १२ गते पुल्चोकमा पुर्‍याएर रथमा राखिनु पर्थ्‍यो। र त्यसपछि रथयात्रा सुरु हुन्थ्यो। तर, नेपालकै सबैभन्दा लामो समयसम्म चल्ने बुंगद्य: को रथयात्रा लकडाउनका कारण अनिश्चित बनेको थियो।

कोरोना महामारी रोकथाममा लागि लगाइएको लकडाउनका कारण यसपटक रातो मछिन्द्रनाथको रथ निर्माण नभएपछि मन्दिरमा उत्तर दिशातर्फ फर्काएर राखिएको मूर्तिलाई निकालेर त्यहीकै फल्चा (सत्तल)मा पूर्व दिशामा फर्काएर राखिएको थियो।

धेरै समय जात्रा रोकिएपछि गत असार १० गतेबाट भने रथ निर्माण कार्य सुरु गरिएको थियो। रथयात्रासँग सम्बन्धित गुठी र सरोकारवालाहरुको बैठकले रथ निर्माण गरी जात्रा सम्पन्न गर्ने निर्णय गरेको थियो।

असार २४ गते अब त:बहा:मा पूर्व दिशामा फर्काएर राखिएको मछिन्द्रनाथलाई पुल्चोकमा बनाइएको रथमा पूर्व फर्काएर बिराजमान गराइनेछ।

हाललाई रथ यात्राको साइतमात्रै सार्वजनिक गरिएको छ। रथमा बिराजमान गराइसकेपछि रथयात्रा कहिले र कसरी गर्ने भन्ने बारेमा छलफल भइरहेको छ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा जात्रा गर्दा धेरै भीड हुने सम्भावनालाई मध्यनजर गर्दै विभिन्न विकल्पमा छलफल भइरहेको छ।   

स्थानीयले पनि सतर्कता अपनाएर जात्रा संचालन गर्न सक्ने बताएका छन्। रथयात्रा हुने समयमा मानिसहरुलाई बाहिर निस्कन नदिने र घरबाटै दर्शन गर्ने व्यवस्था मिलाउन सकिने सुझाव उनीहरुले दिएका छन्। रथयात्रालाई केहीदिन भित्रै सकाउने विषयमा समेत छलफल भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell