
जनकपुरधाम : गत शुक्रवार बिहान जनकपुरको कुर्थामा हत्या गरी फालिएकी ११ बर्षिया बालिका कञ्चन कुमारी पजियारको घटनामा धनुषा प्रहरीले अनुसन्धान तीव्र पारेको छ।
धनुषा प्रहरीले कञ्चनको शव फेला परेको दिन नै सोही वडास्थित श्मशान घाटमा बस्ने अघोरी बाबा र दुई जना अन्य नाम नखुलेका युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो। शव फेला परेको चार दिनभित्र धनुषा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ। अनुसन्धानको क्रममा पक्राउ परेका युवाहरु लागुऔषध प्रयोगकर्ता रहेको र घटनामा संलग्न देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीले घटनास्थलबाट प्रमाणको रुपमा एउटा ब्ल्याङ्केट समेत फेला परेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए। असार १९ गते नै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीको उपस्थितिमा मृतक बालिकाको शव ७ जना डाक्टरहरुको समूहले पोस्टमार्टम समेत गरिसकेको भएपनि रिपोर्ट भने अहिलेसम्म आउन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवंम प्रवक्ता रामेश्वर कार्कीले बताए।
बलात्कार हो होइन भन्ने प्रश्नमा डीएसपी कार्कीले भने, ‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकीन भन्न सकिन्छ। प्रकृति हेर्दा हत्या नै गरेको हो भन्न सकिन्छ तर यथार्थ कुरा रिपोर्ट आएपछि मात्र बाहिरिने छ।’
उनले थपे, ‘हामीले अनुसन्धान तीव्र रुपमा अगाडि बढाएका छौँ, अहिलेसम्म १८ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ।’
यसैबीच, नेपाली कांग्रेस नगर कमिटीले हत्यारालाई कडा कारबाहीको माग गरेको छ। मृतक परिवारलाई भेट गर्न पुगेका कांग्रेस नगर कमिटीका अध्यक्ष मनोज साहले यस्ता मानवता विरोधी तत्वलाई तत्कालै खोजी गरी हदैसम्मको कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन्। कांग्रेस नगर कमिटीले यस विषयमा धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला र प्रहरी प्रमुख रमेश कुमार बस्नेतलाई समेत ध्यानाकर्षण गराएका छन्।
१७ गते बिहान भैँसी चराउन घरबाट निस्केकी ११ वर्षीया कञ्चनको असार १९ गते बिहान ११ बजे स्थानीय श्मशानघाट नजिकै दुधमती नदी किनारमा शव फेला परेको थियो।