PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

समृद्धि त लाटोकोसेरोले  पनि ल्याउन सक्छ नेपालमा : सरकार कता अलमलिएको छ कुन्नि!



समृद्धि त लाटोकोसेरोले  पनि ल्याउन सक्छ नेपालमा : सरकार कता अलमलिएको छ कुन्नि!

  • राजु आचार्य-

कृषिको विकासमा इजरायल अब्बल मानिन्छ। सन् २०१३ मा कान लगायतका वैज्ञानिकहरूले गरेको अध्ययनले खेतबारीमा लाटोकोसेरोको कृत्रिम  गुँड राखिदिने हो भने मनग्य कृषि उत्पादन हुने भनेर पत्ता लगाएका थिए। उनीहरूले भनेको लाटोकोसेरोको प्रजातिलाई गोठे लाटोकोसेरो भनिन्छ। जुन नेपालमा पनि पाइन्छन्। यो प्रजाति सेतो हुन्छ र मानव बस्तीको छेउ छाउमा बस्न रुचाउने गर्छन्।   अझ भनौ मानिससँगै बस्छन्।

दक्षिण अफ्रिकामा समेत कृत्रिम  गुँडहरूको कारणले किसानले मुसा मार्न विषादीमा खर्च गर्ने रकम उल्लेख्य रूपमा घटेको एक अध्ययनले देखाएको छ।

मलेसियाको सेलाङगोर राज्यमा किसानहरूले तेल निकाल्ने पाल्म बिरुवा रोप्ने गर्दछन्। उक्त बिरुवालाई मुसाले नोक्सान गर्ने भएकोले ८२ प्रतिशत किसानले गोठे लाटोकोसेरोको लागी कृत्रिम  गुँड बनाएका थिए । अध्ययनअनुसार यस्तो विधि अख्तियार गर्दा मुसा नियन्त्रणको लागि लाग्ने खर्चमा चार गुणासम्म कमी आएको थियो। किसानहरूले सो काम अहिलेसम्म पनि गरी रहेका छन्। 

उत्पादन बढ्नुको पछाडि खेतबारीमा लाग्ने मुसा, किरा फट्याङ्ग्रा खाएर किसानलाई सहयोग गर्नु थियो। हुन् पनि हो, एउटा लाटोकोसेरोको परिवारले एक सिजनमा करिब २ हजारदेखि ३ हजारसम्म मुसा खाएर हामीलाई सहयोग गर्छ। यिनको भाले पोथी मिलेर, फूल पारेर, फूल कोरलेर, बच्चा हुर्काएर, उडाउने बेलासम्म करिब ४ महिना लाग्छ। यही अवधिमा यिनले अत्याधिक मुसालाई आहारा बनाउँछन्।

यिनले मुसासँगै अन्य जीवहरू सर्प, छेपारो, गँगटा, चराहरू, न्याउरी मुसा समेतलाई आहारा बनाउँछन्। एकातिर किरा फट्याङ्ग्रा, मुसाको सङ्ख्या नियन्त्रण गर्छ भने अर्को तर्फ किसानले विषादी खरिदमा कम रकम छुट्टाए पनि हुने भो। इजरायलमा गरिएको अध्ययनले पनि खेतीपाती गर्दा मुसा नियन्त्रणको लागि विषादी प्रयोग गर्नु भन्दा लाटोकोसेरोको कृत्रिम गुँड फाइदाजनक हुने भनेको छ।  इडो कानद्वारा सन् २०१३ मा  सो बारे  अध्ययन गरिएको  थियो।

किसानलाई सहयोग गर्नेमात्र होइन, लाटोकोसेरोले  पर्या-पर्यटनमार्फत राष्ट्रको आर्थिक उन्नतिमा  समेत गर्न सहयोग गर्दछन्। सन् १९७० को दशकदेखि पर्यटनको मुख्य अङ्ग भएको छ पर्या-पर्यटन। विश्वभर कुल पर्यटनबाट हुने आम्दानीको केही हिस्सा पर्या-पर्यटनबाट हुने गरेको छ। नेपालमा आउने पर्यटकहरू मध्ये करिब ७ प्रतिशत पर्यटकहरू चरा मात्रै हेर्न आउँछन्।

नेपालमा पाइने ८८६ प्रजातिका चराहरू मध्ये २३ प्रजातिका लाटोकोसेरोहरू (हुचील/हाप्सिलो/भुन्द्रुंग समेत) अभिलेख गरिएका छन्। संस्कृति, प्रकृति र ट्रेकिङको स्वाद चाख्नेहरूको सङ्ख्या उल्लेख्य छ। १० लाखभन्दा बढी रोजगार सृजना गरेको नेपालको पर्यटन व्यवसायमा चराको भूमिका  धेरै नै छ। फेरि चरा हेर्ने आउने पर्यटकहरू खर्चालु र लामो समय बस्ने खालका हुन्छन्। यो बाहेक लाटोकोसेरो लागि स्थापना गर्न सकिने उद्धार/पुनर्स्थापना केन्द्र र सङ्ग्रहालयहरूमा समेत आन्तरिक पर्यटन वृद्धि गर्न सक्छौँ।

लाटोकोसेरोहरू प्रकृतिका सूचक पनि हुन्। यिनीहरू हुनु भनेको वरिपरि किरा फट्याङ्ग्रा, सर्प, मुसा, बिरालाहरू, चराहरू हुनु पनि हो। यिनले प्रकृति कस्तो छ भनेर सूचना दिने काम पनि गर्दछ। यिनको संरक्षणले समग्र जैविक विविधता संरक्षणमा सहयोग पुग्दछ।

सबै धर्म र धार्मिक ग्रन्थहरूमा यिनलाई उच्च सम्मान दिएको छ। जस्तै हिन्दु धर्ममा देवी लक्ष्मीको वाहन मानिन्छ। वेदमा यसलाई उलूक भनेर उल्लेख गरिएको छ। वेदअनुसार भविष्यमा हुन सक्ने दुखद खबरलाई कराएर जानकारी गराउँछ भनेर लेखिएको छ। बाइबलमा १६ पटकसम्म यिनको प्रसङ्ग उल्लेख छ। बौद्ध धर्मावलम्बीहरुले (महाबज्रयान) महाकाल पूजामा यिनको प्वाँख प्रयोग गर्छन्। 

नेपाल सरकारले कृषि र पर्यटन दुबैलाई सम्बृद्धिको आधार मानेको छ, जुन यिनको संरक्षणबाट सम्भव हुन्छ। लाटोकोसेरो  संरक्षणले एकातिर प्रकृति संरक्षणमा हाम्रो सकारात्मक सोच देखिन्छ भने अर्कोतर्फ राष्ट्र निर्माणमा आधारसमेत तय गर्दछ। यिनको संरक्षणले हाम्रो धर्म र संस्कृतिप्रतिको सम्मान समेत प्रकट हुन्छ।  लकडाउन पछि सरकारले लाटोकोसेरोलगायत चरा संरक्षण गर्न विशेष योगदान गर्न सक्छ । तर कर्मकाण्डी बजेट भाषणले यी मुद्दाहरु समेटेको आभाष भएको छैन।

लाटोकोसेरोको अवस्थाको बारेमा अध्ययन गर्ने ,प्राकृतिक वासस्थान संरक्षण गर्ने, गुलेलीको प्रयोग नियन्त्रण गर्ने,  पुराना घरहरू वा दलिनमा बस्ने गोठे लाटोकोसेरोलाई जोगाउने वा वासस्थान नभएको ठाउँमा कृत्रिम  रूपमा यिनको गुँड बनाएर कृषि क्षेत्रको उत्पादनलाई अगाडि बढाउन सकिन्छ।

करिब ५०० रोपनी  क्षेत्रमा १ वटा मात्र लाटोकोसेरोको गुँड बनाउने हो भने पनि त्यो क्षेत्रको कृषि उत्पादनमा थप योगदान गर्न सक्छ। प्लाइउडको प्रति गुँडको तीन हजार रुपैयाँ जति मात्रै खर्च हुन्छ। यो विशेष गरी तराई र पहाडी क्षेत्रमा बढी उपयुक्त हुन्छ।

ठुला परियोजनामा हुने आर्थिक लाभको कारणले यस्ता स्थानीयलाई मात्र लाभदायक हुने र कम खर्चका काममा कसको रुचि रहला, हेर्न बाँकी नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell