जनकपुरधाम : तीनै तहका सरकारको गतिविधिप्रति असन्तुष्टि जनाउँदै जनकपुरका युवाले विरोध प्रदर्शन गरेका छन्।
‘इनफ इज इनफ’ अभियान अन्तर्गत उनीहरुले स्थानीय जनकचोकमा भ्रष्टाचारसँगै आपराधिक क्रियाकलाप समेत बढेको भन्दै प्रदर्शन गरेका हुन्। कायापलटको आयोजना एवं ओरेक नेपाल र मोर्डन मिथिलाको सहकार्यमा आयोजित कार्यक्रममा स्वतन्त्र युवा समेत सहभागी थिए।
लकडाउनमा भोकले सर्वसाधारणजे ज्यान गुमाउनु परिरहेको, महिला हिंसा बढेको, क्वारेन्टाइन व्यवस्थापनमा सरकार जिम्मेवार नभई मौन बसेको, भ्रष्टाचार बढेकोलगायतका विषयहरु उठाउँदै युवाले प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी युवा अभियन्ता कैयुम राईनले भने, ‘लकडाउनका कारण विभिन्न प्रकृतिका हिंसाहरु बढ्दै गएपछि हामीले त्यसविरुद्ध शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छौँ। संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार पनि जनताको सुरक्षाभन्दा भ्रष्टाचारमा लागेकोले प्रदर्शन गर्नुपरेको छ।’
सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजिरहेकोले सडक प्रदर्शन मार्फत आफ्नो आवाज राखेको अभियन्ता राईनको भनाइ छ।
उनले भने, ‘महामारी नियन्त्रणका लागि सरकारले केवल लकडाउन मात्र गरेको छ तर लकडाउनले उकुसमुकुस भएका आम नागरिकको समस्या समाधानमाथि कुनै ध्यान दिन सकेको छैन।’
प्रदर्शनमा ओरेक नेपालको तर्फबाट रोजलिन सरद बच्छार, महिला मानव अधिकार सञ्जालको तर्फबाट इन्दिरा चौधरी, इन्सेकका राजु पासवान, जमुना भुजेल, शुभद्रा आले लगायत स्वतन्त्र युवाहरुको सहभागिता रहेको थियो।