लमजुङ्की सानु गुरुङको सपना थियो- एयर होस्टेस बन्ने।
प्लस टु सकिए लगत्तै दाजुले एभिएसन तालिमका लागि पठाए। काम थाले पनि पढाईलाई निरन्तरता दिनु पर्ने शर्तसहित। सानु राजी भइन्।
तालिम लगत्तै अवसरहरुको खोजी थालिन्। आफूजस्तै एयरहोस्टेस बन्ने साझा सपना देखेकाहरुसँग प्रतिस्पर्धा गरिन्। छनौटमा पर्न सजिलो रहेनछ भन्ने थाहा भएपछि थप मेहनत गरिरहिन्।
केही महिनामा उनको सपनाले उडान भर्यो। काम पाइन्, बुद्ध एयरमा। खुशीको सीमा रहेन। लक्ष्य अझ ठूलो लिइन् - कही वर्षमै अन्तर्राष्ट्रिय एयरलाइन्सका लागि काम गर्ने।
तर, हाल उनलाई बुद्ध एयरको कुनै फ्लाइटमा मुस्कुराउँदै सेवा र सत्कार गरिरहेको अवस्थामा भने भेटिँदैन। उनी विल्कुल फरक सेवामा जुटेकी छिन्।
कहिले काहीँ थाहा नभएको बाटो हिँड्नुले पनि चाहेकै ठाउँमा पुर्याउँछ। उनलाई जहाजमा ड्युटीको पहिलो दिन, पहिलो फ्लाइटमा जहाज कुन बाटो भएर उड्छ थाहा नै थिएन नि। सेवाका लागि पनि त्यस्तै अन्धाधुन बाटो हिँडिन्।
सामाजिक सेवा विषय उत्तीर्ण गर्न दुई सय पचास घण्टा कुनै सामाजिक कार्य गर्दै आएको संस्थामा काम गर्नुपर्ने रहेछ। साथीहरुको पछि लागिन् औपचारिकता पूरा गर्न। कक्षाका ११ जना साथीसँग पुगेकी थिइन्- 'मानव सेवा आश्रम।'
आश्रममा पुगेको पहिलो दिन सबैलाई एउटै काम दिइयो- आश्रित आमाबुबाको लुगा धुने।
सबैले त्यो काम गर्न सहजै स्वीकृती जनाए पनि। तर, जब लुगामा दिसा लत्पतिएको देखे तब उनीहरुलाई रिस र घिनले छोप्यो। दिक्मिक माने। वाक्वाकी गरे।
भोलिपल्टदेखि 'सामाजिक सेवा'का ती विद्यार्थी आश्रममा फर्किएनन्। सामाजिक सेवा पढ्नुको क्रेज र सामाजिक सेवा गर्दाको अप्ठ्यारोहरुबीच तालमेल ठ्याम्मै मिलेन। प्रायले संस्था परिवर्तन गरे। फ्लाइटका कारण कलेज बिरलै जान भ्याउने सानुले भने संस्था परिवर्तनको मौका नै पाइनन्।
उनी छुट्टीको मिल्नासाथ आश्रममा झुल्किन थालिन्।
त्यहाँ उनको जिम्मेवारी- आश्रितको ख्याल राख्नु र सरसफाइ गर्नु थियो।
'मैले दाइलाई पढ्ने वचन दिएकी थिएँ। त्यसैले कलेजले जहाँ खटायो त्यहीँ खटिएँ। सुरुसुरुमा त निकै गाह्रो हुन्थ्यो,' उनले सुनाइन्।
हुन पनि आश्रममा प्राय मनोरोगी। उनीहरु आफ्नो इच्छाविपरीत केही पनि रुचाउँदैनन्, प्रतिवादमा उत्रन्छन्। झम्टन्छन्, कुट्छन्, टोक्छन्, कोतर्छन्। सम्हाल्न नसकेको आक्रोश पोख्छन्। अनि उनीहरुको सेवामा खटिएकाले ती सबै सहनुपर्छ। लाग्छ उनीहरु धैर्यताको परीक्षा लिइरहेका छन्।
आश्रममा धेरै शारीरिक रुपमा अशक्तहरु पनि छन्। उनीहरुलाई दिसा, पिसाब आएको ख्याल हुँदैन। र्याल, सिंगान झरेको पत्तो पाउँदैनन्। सरसफाइको जिम्मेवारी सबै सेवकहरुको।
'घिनलाई प्रेमले जित्दो रहेछ। पहिले त सक्दिन जस्तो लाग्थ्यो। पछि त्यही अवस्थामा आफ्ना मानिसलाई राखेर तुलना गरेँ। आफैलाई प्रश्न सोधेँ - भोलि मेरो आफ्नो मान्छे दिसा फुस्केको थाहा नपाउने अवस्थामा पुगे म घिनाएर बस्छु त? सफा गर्दिन त? ,' उनले भनिन्, 'यदि आफन्तप्रतिको प्रेमकै कारण मलाई घिन नलागेको हो भने मैले त्यो प्रेम आफन्त नभएका यी बाबाआमालाई पनि दिनुपर्छ भन्ने भयो।'
भावनाले उनलाई आश्रमसँग जोड्यो। बुद्ध एयरसँगको ७ महिना लामो यात्रा त्यहीँबाट टुंगियो। आश्रममै बस्न थालिन्। घरमा गाली गरे, सम्झाए, बुझाए तर दृढ रहिन्। आमाले भन्थिन् - ब्याचलर पढेको मान्छेले जिरो पढेको मान्छेले गर्ने काम गर्न थालिस्।
भनिन्- 'यहाँको जीवनले दु:ख बुझाएको छ आमा। मैले प्लस टुसम्म पढेर बुझेका कुराभन्दा ज्यादा।'
'२०८२ सम्ममा सडक मानवमुक्त देश' आश्रमले लिएको लक्ष्य पूरा भएपछि काममा फर्कने उनको अठोट हो। अब त उनको अठोटमा परिवारको पनि पूर्ण साथ छ।
दशैंमा टिका लगाउन घर पुगेकी उनलाई आमाले आशिर्वाद दिइन्- तिमीहरुको अभियान सफल होस्। अनि फेरि यताको सेवा सक्काएर जहाजमा चड्नेको सेवा गर्नुपर्छ।
आमाले यसो भनिरहँदा उनले आफ्ना अनुहार, हात अनि खुट्टामा लागेका दाग छोप्न खोजिन्। ती दाग जुन बेहोसीमा छट्पटाएका आश्रितहरुले टोकेर, चिथोरेर, निमोठेर बसेका थिए। ती दाग जुन एयरहोस्टेस बन्ने मापदण्डको विपरीत छन्। सानुले फिस्स हाँस्दै भनिन्- 'मायाको चिन्ह भन्दै स्वीकारेकी छु। पहिले उहाँहरुको जीवनको दाग मेटुँ, यी दाग मेट्न त अनेक कस्मेटिक्स पाइन्छन् नि।'
दुई सय पचास घण्टाको औपचारिकता पूरा गर्न आश्रम छिरेकी सानु दिन रात नभनी सेवामा खटिएको एक वर्ष पुग्यो। अब उनका दाजु पनि भन्छन्- 'अभियान पूरा होस्। परीक्षा नै पास गर्ने मौका त पटकपटक आइरहन्छ।'
सानु लगायत सेवकहरुको दैनिकी आश्रितहरु ब्युँझिएसँगै सुरु हुन्छ। उनीहरुको जिम्मेवारी निश्चित छैन। काम गर्ने समय सीमा पनि तोकिएको छैन। जहाँ जस्तो अवस्थामा जे पनि गर्न तयार रहनुपर्छ। अनि त्यो जिम्मेवारीवोधको बद्ला सन्तुष्टिबाहेक केही पनि मिल्दैन।
बिहान ६ बजेसम्ममा प्राय सबै ब्युँझिन्छन्। एउटा टोली बिहानको नास्ता बनाउन खट्छ, अर्को ओच्छ्यान अनि कोठा सर-सफाइमा। कोही भने अशक्त आमाबुबाको डाइपर परिवर्तन गर्न थाल्छन्।
सेवकदेखि आश्रितसम्म सबै एकै ठाउँमा बसेर नास्ता गर्छन्। भाडा धोइपखालीको जिम्मेवारी पनि सेवक र सक्ने आश्रितहरु मिलेर गर्छन्। लुगा धुने काम पनि प्राय मिलिजुली नै हुन्छ।
दिउँसो कोही टिभी हेरेर रमाउँछन् अनि कोही घाम ताप्न मै व्यस्त। भजन कीर्तन र नाचगान गर्न जोसिनेहरुको छुट्टै झुण्ड छ। यहाँ एकअर्कासँग नजिक हुन कसैको पृष्ठभूमि र शारीरिक वा मानसिक अवस्थाले कसैलाई रोक्दैन।
आफ्नै परिचय अनि अस्तित्व भुलेकाहरु, परिवार अनि आफू जन्मे हुर्केको परिवेश भुलेकाहरु - यिनलाई सम्झनु नै के छ र? बस् रमाइदिन्छन् गीत बजेसँगै, ताली पड्किएसँगै।
सन्तोषी मगर तीन वर्षदेखि यही दैनिकीमा अभ्यस्त छिन्। उनी विशेषत: औषधी खुवाउनु पर्ने र खानु पर्नेहरुलाई लिएर सतर्क रहन्छिन्। भन्छिन्, 'औषधी त भुलेर पनि भुल्नु हुँदैन नत्र उहाँहरुलाई गाह्रो पर्छ।'
फुर्सदमा बाआमालाई धुप बाट्न सिकाउनुमा खुब रमाउँछिन्। चुरा भर्न, पोते गाँस्न सिकाउँछिन्। अनि आफूसँगै खटिएका सेवकहरुले खाए नखाएको पनि उत्तिकै ख्याल राख्छिन् उनी।
सामाजिक सेवा पहिले उनको रुची थियो। अब बानी भएको छ। त्यसैले आफ्नो भविष्य बारे खासै सोचेकी छैनन्। बस् एउटै कामना गर्छिन्- अब कसैलले पनि सडकमा आउन नपरोस्। बाध्यताले मानिसलाई एक्लो अनि भोको नबनाओस्।
सन्तोषीकी साथी अन्जनी महत पनि आश्रममै सेवा गर्छिन्। यी दुवैको 'करियर'बारे प्रश्न गर्ने थुप्रै साथीहरु छन्। अन्जनी ती साथीहरुलाई एउटै जवाफ फर्काउँछिन् - 'हामी आ-आफ्नै काममा रमाउँ न हुन्न?'
मानव सेवा आश्रमकै केही फरक सेवामा रमाएका छन् धादिङका रामकृष्ण श्रेष्ठ।
आश्रमको 'रेस्क्यु' टोलीमा छन् उनी। यो टोली हरेक दिन सडकमा सडकविहीनको खोजीमा निस्कन्छन्। सडकमा बसिरहेको वा सुतिरेको अवस्थामा भेटिएकाहरुको नजिक जानु, उनीहरुको समस्या सुन्नु, अवस्था बुझ्नु, परामर्श दिनु र सम्झाइ बुझाइ गरेर गाडीमा हाल्नु उनीहरुको जिम्मेवारी हो।
बाध्यताका कारण सडकको बास अपनाएकाहरु त परामर्श पछि उद्धार टोलीसँग हिँड्न तयार हुन्छन्। तर, सडकलाई कमाइ र मागी खाने बनाएकाहरु कहाँ मान्नु? उनीहरु पहिले नकार्छन्। त्यसपछि गाली गलौजमा उत्रन्छन् अनि त्यसपछि हात हाल्नै पनि पछि पर्दैनन्।
'यिनै चुनौतीसँग जुँध्नेहरुको धैर्यताले आश्रम यहाँ आइपुगेको छ। तर, देशलाई सडक मानविहीन बनाउनु उहाँहरुको मात्र जिम्मेवारी होइन हरेक नागरिकको हो। मेरो हो। तपाईंको हो। यही बुझेर म अभियान्ता बनेको हुँ,' उनी सेवामा लाग्नुको कारण प्रष्ट्याउँछन्।
मनोरोगसँग जुँधिरहेकादेखि रक्सीले मातिएकासम्मको दुर्व्यहार सहन तयार भएर निस्कन्छन् रामकृष्णहरु। सडक आश्रितहरु प्राय रातमा भेटिन्छन् त्यसैले टोली रातमै निस्कन्छ। योजनावद्ध ढङ्गले खट्छ। 'रेस्क्यु एरिया' निश्चित गरेरै।
रेस्क्युमा सेवकहरुसँगै काठमाडौं महानगरपालिकाका प्रतिनिधि र महानगरीय प्रहरी विभागका प्रहरीहरुको पनि सहभागिता रहन्छ।
दिउँसो भेटिएका सडक आश्रितहरुलाई भने प्रहरीले नै उद्धार गरेर आश्रममा पुर्याउने गरेका छन्। मानव सेवा आश्रमका बारेमा थाहा पाएका आम मानिसहरुले पनि आजभोलि फोन गर्न थालेका छन्। उनीहरुले कतै सडकमा जीवनयापन गरिरहेका मानिस देखे जानकारी दिन्छन्, उद्धारका लागि आउन आग्रह गर्छन्।
सडकबाट उद्धार गरिएकाहरुलाई पहिले सिधै आश्रमका विभिन्न शाखामा पुर्याउने गरिएको थियो। तर, आश्रितहरुको सङ्ख्या बढ्दै जाँदा आश्रमहरु साँघुरो हुँदै गए। त्यसैले काठमाडौंमा हाल 'स्क्रिनिङ सेन्टर'को स्थापना गरिएको छ।
मानव सेवा आश्रमको उद्धार टोलीले सडकमा भेटिएकाहरुलाई सुरुवातमा 'स्क्रिनिङ सेन्टर' पुर्याउँछन् जहाँ उनीहरुको शारीरिक, मानसिक अवस्थाको जाँच हुन्छ। जाँचका लागि मनोचिकित्सक प्रतीक मानन्धर हरेक साँझ सेन्टरमा धाउने गरेका छन्। उनको सुझाव अनुसार बिरामीहरुको औषधी उपचार सुरु गरिन्छ। आवश्यकता अनुसार अस्पताल लगिन्छ।
उद्धार गरिएको भोलिपल्ट उनीहरुलाई परामर्श दिइन्छ। पारिवारिक, आर्थिक अनि अन्य पृष्ठभूमि बारे बुझिन्छ।
तीमध्ये केहीले परिवारको सम्पर्क वा ठेगाना बताउँछन्। त्यसैको आधारमा नगरपालिका, गाउँपालिका वा वडा कार्यालयको समन्वयनमा उनीहरुको परिवारसँग पुनर्मिलन गराइन्छ।
हालसम्म सात सय परिवारको घरमा खुशी फर्कियो, पुनर्मिलनकै कारण।
रक्सी वा कुनै नशाको बानी लागेकाहरुले जीवनलाई प्रेम गर्न सिके, आफैलाई प्रेम गर्न सिके, परामर्शकै कारण।
कति स्वस्थ हुन्छन् अनि सक्षम पनि तर अभावकै कारण सडकमा जीवन यापन गर्न बाध्य- उनीहरु आश्रमकै शाखाहरुमा सेवक बनेर खट्छन्। अनि आश्रम बाहिर रहेर अन्य रोजगारी अपनाउन प्रतिवद्धलाई जागिर पनि खोजिदिन्छन् अभियान्ता।
'सडकबाट दयनीय अवस्थामा उद्धार गरिन्छ। केही दिनमै त्यो व्यक्तिमा ठूलो परिवर्तन देखिन्छ। त्यस्तै परिवर्तनका लागि केही गर्न पाउँदा बन्न आनन्द आउँछ', सेवक श्रेष्ठ भन्छन्।
यसरी एउटा प्रक्रिया नियमित पूरा हुन्छ अनि नियमित बाँकी रहन्छ। मानिस सडकमा आइरहने, अभियान्ता संरक्षणमा लागि परिरहने- त्यही प्रक्रियाको अन्त्य चाहन्छन् अभियान्ता।
अभियान्ताहरु आफ्नो स्वार्थ होइन सामान्य आवश्यकता पनि भुलेर एउटा दु:खद् यथार्थको अन्त्य खोजिरहेछन्।
'दु:खमा हामफाल्नु पनि मजा हुन्छ, त्यहाँबाट नयाँ जीवनको प्रारम्भ हुन्छ। जुन सुखलाई च्यापिरहँदा जीवन निरुद्देश्य हुन्छ, त्यस्तो सुख मलाई चाहिन्न। सच्चा सुख त्यहाँबाट थालिन्छ, जहाँबाट हामी दु:ख उठाउन थाल्छौं।'
लाग्छ माधव घिमिरेले आफ्नो पुस्तक 'चारू चर्चा'मा लेखेको यो दर्शनमा यिनै अभियान्ताहरुको मन मस्तिष्क उतारे।