जनकपुरधाम : अविरल वर्षाका कारण सप्तकोशी (कोशी नदी)मा पानीको बहाब उच्च भएसँगै बाढीको जोखिम बढेको छ।
तीन दिनदेखिको वर्षाले नदीमा पानीको बहाब बढेको हो। सप्तकोशीमा शुक्रवार बिहान १२ बजे पानीको बहाब प्रतिसेकेण्ड २ लाख ६० हजार क्युसेक पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। कोशी ब्यारेजको आधिकारिक पेजमार्फत पानीको बहाब पछिल्ला दिनको तुलनामा बढ्दै गएको छ।
सप्तकोशीमा पानीको बहाब बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। बिहीवार, शुक्रवार, शनिवार, आइतवार र सोमवारसम्म देशभर भारी वर्षाको कारण साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी गर्न सरकारले आह्वान गरको छ।
विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा समेत असार २९ गतेसम्म भारी वर्षा हुने अनुमान छ। जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने बताइएको छ।
तराईका कन्काई र कमला नदीमा पनि पानीको सतह बढ्न सक्ने जानकारी दिइएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रवार र शनिवार देशभर वर्षाको सम्भावना छ।