PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

प्रदेश २ का अधिकांश स्थानमा पस्यो बाढी : सर्लाहीमा २७ घर डुबायो, भत्किए पाँच घर



सुमित मिश्र

प्रदेश २ का अधिकांश स्थानमा पस्यो बाढी : सर्लाहीमा २७ घर डुबायो, भत्किए पाँच घर

जनकपुरधाम : लगातारको वर्षाका कारण आएको बाढीले प्रदेश २ का अधिकांश ठाउँ डुबानमा परेका छन्। प्रदेश २ को महेत्तरी जिल्लाको सदरमुकाम जलेश्वर, सप्तरीको सदरमुकाम राजबिराज, धनुषा, रौतहटका बस्तीमा पानी छिरेको हो।

सर्लाहीको लखनदेही खोलाको बाढी भाडसर गाउँमा पस्दा २७ घर डुबानमा परेका छन् भने बाढीका कारण पाँच व्यक्तिको घर भत्केर क्षतिग्रस्त भएको छ। घर डुबानमा परेपछि ति परिवारका १ सय ४७ जना विस्थापित भएका छन्। उनीहरु छिमेकीको घरमा बसिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए।

लगातारको वर्षाले ईश्वरपुर नगरपालिका ९ बस्ने सिताराम महतोको खपडाले छाएको एक तले घरमा पानी पस्दा घर भत्केको छ। घर भत्केपछि उनको ७ जनाको परिवार छिमेकीको घरमा शरण लिन बाध्य भएको छ। ईश्वरपुर नगरपालिकाकै वडा नम्बर १५ बस्ने विजय दासको खपडाले छाएको बाँसको टाँटी भएको कच्ची घर पनि अविरल वर्षाका कारण भत्किँदा पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ।

यस्तै, चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुर बस्ने अब्दुल बाकेको खपडाले छाएको कच्ची घर र खरले छाएको फुसको घर अविरल वर्षाका कारण भत्केको प्रवक्ता कुँवरले जानकारी दिए। मलगंवा नगरपालिका ६ बस्ने नन्दकिशोर रायको कच्ची घर पनि अविरल वर्षाका कारण भत्केको छ।

बाके र रायको परिवार भने आफ्नै अर्काे घरमा बसिरहेको प्रहरीको भनाइ छ। प्रवक्ता कुँवरका अनुसार विष्णु गाउँपालिका १ बस्ने रामधियानी राउतको घरमा पनि वर्षाको कारण पूर्ण रुपमा क्षति पुगेको छ।

महोत्तरीको सदरमुकाम जलेश्वरमा पस्यो बाढी

महोत्तरीको सदरमुकाम जलेश्वरमा बाढीको पानी पसेपछि स्थानीय त्रसित भएका छन्।  जलेश्वर नगरपालिका ८ रमौलस्थित रातो रातो नदिको तटबन्ध तुट्दा बजराही हुँदै बाढीको पानी जलेश्वरमा पसेको हो।

जलेश्वरमा पसेको पानीले हाल घरहरुलाई खासै प्रभावित नगरेपनि बजारमा रहेका केहि पसलहरुमा पानी पसिसकेको महोत्तरीका प्रमुृख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए। सदरमुकाम जलेश्वर नगरपालिकाको गेट सामु तीन फिट भन्दा बढी पानी रहेको छ भने नगरपालिकाको गेट अगाडि हुँदै जाने बाटोहरु पानीले अवरुद्ध भएका छन्।

पानीका कारण जलेश्वर सम्सी, जलेश्वर बर्दिवास र जलेश्वर पडौल हुँदै रौजा, किसाननगरको सडकमा क्षति पुगेपछि हाललाइ उक्त मार्ग बन्द भएको छ। यता विग्ही नदीको पानी समेत बस्तीतिर बढ्न थालेको बुझिएको छ। मटिहानीको सिमरदही, धिरापुर, बहुअर्वा र मटिहानी बजार क्षेत्रकै पासमान टोल लगायतका स्थानमा विग्हीको पानी बढ्दै जाँदा उक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु त्रासमा छन्।

मटिहानी नगरपालिकाले बाढी बस्तीमै पस्न सक्ने अवस्था रहेको भन्दै स्थानीयहरुलाई सुरक्षित स्थान तर्फ जान आग्रह गरेको छ। यता जंघा नदीमा समेत पानीको बहाब बढेपछि औरही नगरपालिकाका विभिन्न वडाहरु डुवानमा पर्ने खतरा बढेको छ। उक्त नदीले औरही, सम्सी र सोनमालगायतका पालिकालाई बढी प्रभावित पार्ने गरेको छ।

जिल्लास्थित विपद् व्यवस्थापन समिति उद्धार र अन्य सेवाको लागि तयारी अवस्थामा रहेको र तत्कालै नेपाली सेनाको टुकडी रानी रतवारास्थित तटबन्ध टुटेको स्थान तर्फ गइसकेको छ। त्यहाँ पानी रोक्ने प्रयास गरिरहेकोे प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कटुवालले बताए।

उद्धारका लागि हेलिकप्टर तैनाथ

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले सुरक्षाकर्मीलाई २४ सै घण्टा तयारी अवस्थामा बस्न निर्देशन दिइसकेको र मानवीय क्षति कम गर्नका लागि पूर्वाभ्यास पनि गराएको बताए।

प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका मन्त्री यादवले भने, ‘गत वर्ष हाम्रो राम्रो तयारी थिएन। यस पटक हामीले सम्पूर्ण तयारी गरेका छौँ।’

अघिल्लो वर्ष भारी वर्षाका कारण प्रदेश २ का विभिन्न ठाउँमा बाढी आउँदा ४ दर्जन व्यक्तिले ज्यान गुमाएका थिए। झण्डै १५ हजार घर बाढीले बगाएको थियो। त्यसबेला बाढीको पूर्वतयारी नगरेको प्रदेश सरकारले मृत्यु हुनेको परिवारलाई भने ३ लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको थियो।

यस वर्ष डुबान हुने क्षेत्रको नक्सांकन गर्नुका साथै स्थानीय तह, विपद्मा काम गर्ने संघ–संस्था र सरकारी निकायको स्रोत नक्सांकन पनि गरिसकिएको मन्त्री यादवले जानकारी दिए। उनले प्रभावित घर परिवारलाई उद्धार गरेर राख्नुपर्ने ठाउँहरुको पनि पहिचान गरिसकिएको बताए।

प्रदेश २ सरकारले उद्धारमा खटिने सुरक्षाकर्मीहरुलाई रबर बोट, लाइफ ज्याकेट, ड्रोन क्यामेरासहितका उपकरण उपलब्ध गराएको छ। यस्तै, संघीय सरकार र नेपाली सेनाको समन्वयमा प्रदेश २ कै लागि एउटा हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको मन्त्री यादवले जानकारी दिए।

‘हामी डुबानसँग लड्न पूर्ण रुपमा तयारी अवस्थामा छौँ’, उनले भने, ‘सरकारका सबै तह यसका निम्ति तयारी अवस्थामा छन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell